विराटनगर । देशव्यापीरूपमा फैलिएको जेन जी आन्दोलनको प्रत्यक्ष असर विराटनगर भन्सार कार्यालयमा परेको छ । जहाँ गत २४ गतेदेखि मालसामानको आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
आन्दोलन र त्यसपछि सिर्जित असुरक्षाका कारण नेपाल र भारत दुवैतर्फ गरी ९ सयभन्दा बढी मालवाहक ट्रकहरू सीमामा अलपत्र परेका छन् । जसले गर्दा पूर्वी नेपालको प्रमुख व्यापारिक नाकाको आपूर्ति शृङ्खला नै प्रभावित बनेको छ । लामो समयदेखि यातायात अवरुद्ध हुँदा बजारमा अत्यावश्यक वस्तुको अभाव हुन थालेको र ट्रकमा लोड गरिएका फलफूल तथा तरकारीजस्ता नासिने वस्तु कुहिन थालेपछि व्यवसायीहरूको चौतर्फी दबाव परेको थियो । स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै, भन्सार कार्यालयले शुक्रबारेदेखि पेट्रोलियम पदार्थ (एलपी ग्यास), तरकारी, फलफूलजस्ता अत्यावश्यक र छिटो बिग्रने वस्तुहरूको जाँचपास प्रक्रिया सुरु गरेको छ ।
भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार, व्यवसायीहरूले लामो पार्किङका कारण आफ्ना सामानहरू बिग्रन थालेको गुनासो गरेपछि यो निर्णय लिइएको हो । ‘हामीले विशेषगरी पेट्रोलियम पदार्थ र नासिने वस्तुहरूलाई प्राथमिकतामा राखेर जाँचपास सुरु गरेका छौँ” –श्रेष्ठले भने । उनका अनुसार निकासीका लागि ल्याइएको एक ट्रक बन्दा लामो समयसम्म रोकिएका कारण काम नलाग्ने गरी बिग्रिसकेको छ । भन्सार प्रशासनले आफ्नो काम सुचारु गर्न पूर्णरूपमा तयार रहेको बताए पनि व्यवसायीहरू भने ढुक्क हुन सकेका छैनन् । आन्दोलनका क्रममा भन्सार क्षेत्रमा भएको लुटपाट र आगजनीका घटनाले उनीहरूमा आफ्नो मालवस्तुको सुरक्षाप्रति गहिरो चिन्ता छाएको छ ।
गन्तव्यसम्म सामान सुरक्षितरूपमा पुग्ने सुनिश्चितता नभएसम्म उनीहरूले भन्सारमा मालवस्तुको घोषणा (डिक्लियर) गर्न अस्वीकार गरिरहेका छन् । “व्यवसायीले आफ्नो मालवस्तुको घोषणा नगरेसम्म हामीले भन्सार प्रक्रिया अगाडि बढाउन सक्दैनौँ”–भन्सार प्रमुख श्रेष्ठले भने ।
यही कानूनी प्रक्रियाका कारण भन्सार प्रशासन तयार भएर पनि पूर्ण क्षमतामा काम हुन सकेको छैन । यसले गर्दा एक किसिमको गतिरोध सिर्जना भएको छ ।
आन्दोलनको बहानामा लुटपाटको प्रयास
जेन जी आन्दोलनको क्रममा विराटनगर भन्सार क्षेत्रमा तोडफोड र लुटपाटका घटनाहरू भएका थिए । आन्दोलनकारीको भीडले भन्सारको मुख्य गेटमा आगजनी गरेको थियो भने परिसरभित्र रहेको बैङ्कमा लुटपाटको प्रयाससमेत भयो ।
यद्यपि बैङ्कका कर्मचारीहरूको चलाखीका कारण करिब चार करोड रुपैयाँ राजस्व लुटिनबाट जोगिएको थियो । तर, लुटपाटको समूहले लिलामीका लागि राखिएका ३ सय मोटरसाइकल र एक दर्जन सिटी सफारी भने लुटेर लगेका थिए । भन्सार प्रमुख श्रेष्ठले समग्रमा क्षति सामान्य रहेको र यसले भन्सारको काममा कुनै प्राविधिक अवरोध नहुने बताएका छन् । विराटनगर भन्सार कार्यालयले दैनिक १० करोडको राजस्व सङ्कलन गर्छ ।