संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ‘टुरिस्ट बस नेपाल’ एप्सको शुभारम्भ गरेका छन् ।

पर्यटक बस व्यवसायीहरूको साझा संस्था टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले निर्माण गरेको उक्त एप्सको आज शुभारम्भ गरेका हुन् ।

एप्स सार्वजनिक कार्यक्रममा बोल्दै उनले पर्यटन ऐन संशोधनमा मन्त्रालय लागेको बताए । मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताए ।

'पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न सकिँदैन, बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनका लागि तत्काल आउन सक्दैन', उनले भने। उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए ।

मन्त्री किराँतीले पर्यटन क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको काम प्रवर्द्धन गर्ने रहेको स्पष्ट पारे । पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए ।

उनले भूटान, बङ्गलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने बताए । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महङ्गा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनको भनाइ थियो ।

टुरिष्ट बस एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसमा ओहोरदोहोर गर्ने स्वदेशी तथा विदेशी यात्रुले सहजै अनलाइनमार्फत टिकट काट्न सकुन् भन्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको बताए ।

काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर जाने पर्यटक बसका यात्रुले मोबाइल एप्समार्फत टिकट काट्न पाउनेछन् । टिकट काट्नका लागि टिवानले खल्ती, आइएमई पे, प्रभु पेसँग सहकार्य गरेको छ । हाल काठमाडौँबाट दैनिक झण्डै एक सय पर्यटक बस देशका विभिन्न पर्यटकीय क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।