विषय प्रवेशः
संवाद नं १ः चिया पसलमा केही भद्र भलाद्मीजस्ता देखिने व्यक्तिहरू चिया पिउँदै गफ गर्दै थिए–‘होइन हौ, यो डेङ्गुले खत्तमै गर्न लागिसक्यो कि के हो ? कहिले निर्मूल हुने होला ? यो रोग सार्ने लामखुट्टेले खासमा कत्तिखेर टोक्ने हो ?’ अर्कोले जवाफ दिँदै थिए–‘यसले दिउँसो मात्र टोक्छ ।’ अर्कोले भने– ‘यसले बिहान मात्र टोक्छ । त्यत्तिकैमा धेरैबेरदेखि चुपचाप बसिरहेका अर्का व्यक्तिले भने–‘यसले राति मात्र टोक्छ । त्यसैले त झुल लगाएर सुत्नु पर्छ । म त बाह्रैमास झुल लगाएर मात्र सुत्ने गर्छु ।’

संवाद नं. २ः घुम्न हिँडेका केही समूहका व्यक्तिहरू एकापसमा गफिँदै थिएः ‘डेङ्गु होस् कि सेङ्गु हामीलाई के को मतलव ? हामीलाई लागेको छैन, हाम्रो परिवारको सदस्यलाई पनि लागेको छैन । किन लार्भा मार्दै हिँड्नु, हामी त तमासा हेर्ने हो, आफ्नै घरआँगन पनि सरसफाइ नगर्ने हो । चुपचाप हेर्दै बस्ने हो, अरूले गरेको काममा टिका टिप्पणी गर्ने हो, लार्भा सार्भा मार्ने काम अरूले गरिहाल्छन् नि, हामी त घुम्दै बस्ने हो ।’

संवाद नं. ३ः एक जना व्यक्तिले  साथीलाई आफ्नो दुःखेसो सुनाउँदै थियो–‘यो डेङ्गु मान्छेबाट मान्छेलाई सर्दैन भन्थ्यो तर,  डेङ्गुले थला परेकी मेरी श्रीमतीलाई मैले दुई हप्तासम्म स्याहार–सुसार गर्दै उनीसँगै सुतेको, पछिबाट म पनि पो डेङ्गुले थला परेँ । त्यसपछि फेरि उनले मलाई स्याहार्न थालिन् । बल्ल बल्ल म ठीक भएँ । साथीले जिज्ञासापूर्वक सोधे– ‘त्यसो हो भने भाउजू फेरि बिरामी हुनुभयो डेङ्गुले ? साथीले जवाफ दिए– ‘अहँ, उनी स्वस्थ छिन् । मलाई स्याहार्दा उनी फेरि बिरामी भइनन् । मलाई जस्तो उनलाई भएन । उनलाई स्याहार्न मलाई निकै गाह्रो भएको थियो, मानसिक तनाव थियो, ड्युटी पनि जानुपथ्र्याे, घरमा हामी दुईबाहेक अरू कोही थिएन, सबै काम म आफैले गर्नु पथ्र्यो, अति नै कष्टपूर्ण र तनावपूर्ण थियो ।’ साथीले निकै गम्भीर भएर भन्यो– ‘हो, त्यही तनावले तँ बिरामी भएको हो अथवा तँलाई डेङ्गुको लामखुट्टेले टोक्यो, अरू कारणले होइन ।’

तथ्यमा डेङ्गुः अहिले जताततै चर्चा डेङ्गुको छ । हाल डेङ्गु र आँखा पाक्ने रोग फैलिएको छ । आँखा पाक्ने रोगभन्दा अझ डेङ्गु रोग त महामारीको रूपमा देखापरेको छ । छिमेकी देश बङ्गलादेशसहित विश्वका एक सय देशमा डेङ्गु रोग फैलिएको छ । यो लेख तयार पार्दासम्म नेपालका ७१ वटा जिल्लामा डेङ्गु फैलिएको छ । बङ्गालादेशमा यसबाट ३ सय ९८ जनाको मृत्यु भइसकेको छ भने डेङ्गुको प्रकोप फैलिएको धरानमा ११ जनाको मृत्यु भइसकेको छ । धरानमा १२हजारभन्दा बढी व्यक्तिहरू यसबाट ग्रसित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुरानो अस्पताल, सभागृह, वडा नं. १३, १४ आदिमा उपचाररत डेङ्गु पीडितहरूको भीड अभिलेखीकरण हुन सकिने तथ्य हुन् । अघोषित रूपमा यसको सङ्ख्या अझ बढी छ । किनकि तथ्य त्यति प्रकट नहुने धरानका प्राइभेट हस्पिटल, क्लिनिकहरू सबै भरिभराउ हुनुले डेङ्गु पीडितहरूको सङ्ख्या अझ बढी हुन सक्छ । नेपालमा २०७६ सालदेखि डेङ्गु महामारीको रूपमा फैलिन थालेको छ ।

सक्रियताः एडिस जातिको लामखुट्टेले डेङ्गु रोग सार्दछ । यो उज्यालो प्रकाशमा अति नै सक्रिय हुने गर्दछ । त्यसैले यसले बिहान, दिउँसो र बेलुकीपख टोक्ने गर्दछ भने रातमा पनि केही अपवाद स्वरूप यो सक्रिय भई टोक्न सक्दछ । त्यसैले यसको टोकाइबाट बच्नु नै डेङ्गुबाट प्रभावित नहुनु हो । यो विशेषगरी वैशाखदेखि असोज महिनासम्म सक्रिय देखिन्छ भने कात्तिक महिनादेखि क्रमशः हराउन थाल्दछ । वर्षाको मौसममा यो फैलिने गर्दछ । अण्डा पार्न र लार्भा बन्न टायर, कुलर, गमला, पानी भरिएको सानो खुला  ड्रम, स–साना खाल्डाखुल्डी यसका लागि ठूलै स्थान हुन्छ । झन् पानी जमेको पोखरी, नाला त यसको लागि निकै ठूलो स्थान हुन्छ । अझ पानी जम्मा भएको फालिएको कुच्चिएको सानो डिस्पोजल ग्लास, बोटलको बिर्कोमा समेत यसले फुल पार्दछ र लार्भा हुँदै वयस्क लामखुट्टे हुने मौका पाउँदछ । डेङ्गुबाट ग्रसित मानिसलाई यसले टोकेर फेरि अर्को स्वस्थ मानिसलाई यसले टोक्न पाएमा उक्त रोगीको भाइरस यसले सार्दछ र अर्को व्यक्ति पनि डेङ्गुबाट प्रभावित हुन्छ । विशेष गरी हातको कुहिना र कुहिनाको मुनिको भाग तथा खुट्टाको गोडा अनि गोडादेखि मुनिको भाग यसलाई अति नै मन पर्ने सजिलो टोकिने स्थान हो किनकि प्रायः मानिसहरू पनि अनेक बहानामा यी भागहरू खुल्ला राख्न निकै रुचाउने गर्दछन् ।

भ्रम र सत्यताः यो डेङ्गु भाइरस शारीरिक सम्बन्ध (Sexual Transmitted Deasease) बाट सर्ने रोग होइन । यसो भन्दैमा रोगले अलसतलस भएका वा भएकी आफ्नो श्रीमान् वा श्रीमतीसँग त्यस्तो सम्बन्ध राख्नैपर्छ भन्ने पनि होइन र राख्नु पनि न्यायोचित हुन्न । त्यस्तै पानी फोहोर भएर दूषित पानी पिएर सर्ने पानीजन्य रोग(water Borne Disease) पनि होइन । दूषित पानी पिउनाले पेट दुख्ने, पखाला लाग्ने, हैजा आदि जस्ता रोग भने अवश्य लाग्दछ । त्यस्तै यो डेङ्गु मानिसको श्वास–प्रश्वासबाट सर्ने अथवा हावाको माध्यमबाट सर्ने हावाजन्य रोग (Air Borne Disease) पनि होइन । सँगै सुत्दा वा बिरामीको एकोहोरो स्याहार सुसार गर्दा यो रोग सर्दैन । बिरामीको स्याहार सुसार गर्दा बिरामीलाई झुलभित्र राख्नु पर्छ । बिरामीलाई टोकेको लामखुट्टेले आफूलाई समेत टोक्यो भने मात्र यो रोग लाग्ने हो ।

लक्षणः यसले टोकेपछि ज्वरो आउँछ । ज्वरो उच्च हुँदै जान्छ । वाक्वाक लाग्ने, स्वाद फेरिने, खाना हेर्नै मन नपर्ने, खान पनि मन नलाग्ने, पखाला लाग्ने, पेट दुख्ने, शरीरका मांसपेशी र जोर्नीहरू दुख्ने, आँखाका पछाडिको भाग दुख्ने, टाउको बेस्सरी दुख्ने, कमजोरी महसुस हुने आदि जस्ता लक्षणहरू देखा पर्दछन् । यत्तिसम्म हुँदा दक्ष चिकित्सकबाट उचित उपचार पाएर, झोलिलो पदार्थ तथा फलफूलको सेवनबाट रोगी चाँडै निको हुन सक्दछ । समयमै उपचारमा कमी भएमा वा रोग प्रतिरोधात्मक शक्ति कम भएमा रगतमा भएको प्लेटलेट्सको सङ्ख्यामा गिरावट आउन सक्दछ । यसो भएमा खोक्दा, हाच्छ्युँ गर्दा मुख र गिँजाबाट र दिसा बस्दा मलद्वारबाट रक्तस्राव हुन सक्दछ । यसैक्रममा प्लेट्लेट्समा अत्यधिक कमी हुँदै आन्तरिक रूपमा रक्तस्राव पनि बढ्न थाले यस बेलामा प्लेट्लेट्स रोगीलाई चढाउनै पर्ने हुन्छ । अन्यथा मान्छेको ज्यान पनि जान सक्दछ । यसको लागि डेङ्गु लागेदेखि नै CBC(Complete Blood Count) गराउनु पर्दछ । यसमा रातो रक्तकोष (RBC)  र श्वेत रक्तकोष (WBC) पनि हेर्ने गरिन्छ । सामान्यतया प्लेट्लेट्स डेढलाखदेखि साढेचार लाखसम्म हुनुपर्दछ भनिए तापनि नब्बेहजारदेखि एकलाखसम्म हुँदा अत्तालिहाल्नुपर्ने अवस्था हुन्न । नब्बे हजारभन्दा कम छ भने चिकित्सकको राय सुझावअनुसार चल्नु पर्ने हुन्छ ।

असरः डेङ्गुले विशेषतः दीर्घरोगीहरूलाई नराम्रो असर पार्न सक्दछ । मधुमेय, क्यान्सर, लिभर सिरोसिस, दम आदि रोग भएका बिरामीहरू सतर्क हुनुपर्दछ । सकेसम्म डेङ्गु लाग्न नदिने र लागि हाले पनि समूचित ढङ्गले उपचार गराइहाल्नु पर्दछ । कुनै कुनै व्यक्तिहरू डेङ्गु लागेपछि अत्तालिने, डराउने, अत्यधिक चिन्ता लिने पनि हुन्छन् । यस्ता व्यक्तिहरूले आफ्नो रोगप्रतिरोध क्षमता आफै गुमाउन पुग्छन्, जसले नतिजा राम्रो दिन सक्ने हुन्न । यस्ता अत्तालिने, डराउने व्यक्तिहरूले डेङ्गु लाग्ने बित्तिकै एकलाख प्लेट्लेट्स भए पनि अर्को प्लेट्लेट््स चढाउनै पर्छ, नचढाए परिणाम नराम्रो हुने सोच्नाले अर्को तनाव थपिन सक्छ । रगत चढाउनु पर्ने नपर्ने भन्ने कुरा योग्य चिकित्सकले भनिहाल्छन् ।

रोकथामका उपायः
झूल, पूरा बाहुला भएको लुगाको प्रयोगः अनिवार्य रूपमा झुलको प्रयोग गर्ने र पूरा बाहुला भएको लुगा लगाउने अर्थात् शरीरलाई पूरै ढाक्ने लुगा लगाउनु पर्दछ । अनावश्यक रूपमा घुम्न जाने गर्नुहुन्न र झ्याल ढोका, भेन्टिलेशनमा समेत जाली लगाउनु पर्दछ । मन नपरे पनि र थोरै हानि गरे पनि लामखुट्टे भगाउने धुप, अगरबत्ती आदिको प्रयोग गर्नु पर्दछ ।
पानी जमेकोलाई हटाउनेः गमला, कुलर, स–सानो ग्लास जता पनि थोरै पानी जमेको छ भने पनि त्यसलाई हरेक दुईदिनमा बदल्नु पर्दछ वा फाल्नु पर्दछ । जम्मा गरिएको पानीमा लामखुट्टे पस्न नमिल्ने गरी बिर्को वा ढक्कन लगाउनु पर्दछ । स–सानो डिस्पोजल गिलास, बोटल, बिर्को, खाल्डाखुल्डीमा पानी जम्न दिनु हुँदैन । । हामी धरानेहरूको सुन्दर घरहरू छन् तर, कत्तिले पानीको निकास बाटोमा गर्छन् । त्यो प्रक्रिया बन्द गर्नु पर्दछ । पानी बाहिर नफाली सोकपिट बनाएर लामखुट्टे नपस्ने गरी घरभित्रको पानीको व्यवस्थापन गर्नुपर्दछ । यदि त्यो सम्भव नभएमा कीटनाशक औषधि हरेक दुई–दुई दिनमा हालिरहनु पर्दछ । म तीन तलामा बस्छु, मलाई डेङ्गुले असर गर्दैन भन्ने कुरो सोच्नु मूर्खतामात्र हुनेछ ।

सक्रिय हुनेः अरूले के गर्छ भनेर हेर्नु र फोकटको गफमा रमाउनुभन्दा आफ्नो घर, आँगन, बाटो, सबैतिर सरसफाइ गर्नुपर्दछ । पानी जम्न दिनु हुँदैन । आफूसँग लामखुट्टे मार्ने रासायनिक पदार्थ नभए लार्भा खोजेर नष्ट गर्न सकिन्छ । यसको लागि जमेको पानीलाई सुख्खा ठाउँमा फालेपछि ती लार्भा आफै मरी नै जान्छन् । अलिअलि जमेको पानीमा पनि यसको अण्डा वा लार्भा पाइने हुनाले आफूसँग ‘एण्टी लार्भा किलर केमिकल’ नभए पनि मट्टिेलको प्रयोगबाट यसलाई मार्न सकिन्छ ।

जिम्मेवारी र इमान्दारिताः स्थानीय निकाय, प्रदेश सरकार तथा सङ्घीय सरकार मिलेर यसको समाधान गर्नु पर्दछ । दलहरूले पनि यसमा ठूलो भूमिका खेल्नु पर्दछ । सबै वडाका वडाअध्यक्ष तथा टोल विकास संस्थाका अध्यक्षहरूसमेतको यसमा चिन्ता र चासो हुनु पर्दछ । डेङ्गु भर्खरमात्र धरानमा लाग्न थालेको होइन । हरेक वर्ष यो प्रकोप यहाँ फैलिने गर्छ भन्ने तथ्य थाहा हुँदाहुँदै समयमै यसको निराकारणका लागि सम्बन्धित सबै किन पूर्वतयारी अवस्थामा बस्दैनन् ? विकराल समस्यालाई समाधान गर्नु सबैको दायित्व हो । अहिले पनि डेङ्गुलाई यो केही होइन, केही भएको छैन भनेर हल्का रूपले लिएको देखिन्छ । धरानमा मात्र यसले ११ जनाको ज्यान लिइसकेको छ । के १ सय जनाको ज्यान गएपछिमात्र सबैजना जागरुक हुने ? ती ११ जना सदस्य गुमाएका परिवारमा कत्ति ठूलो बज्रपात प¥यो, कत्ति क्षति व्यहोर्नुप¥यो, कसैलाई हेक्का छैन होला । समस्या समाधानको लागि सबैले सबैसँग सहकार्य, समन्वयको भूमिका निभाउनु पर्दछ । कामभन्दा नाम अनि सस्तो लोकप्रियतामा गमक्क फुल्ने बानीले अझ धनजनको क्षति हुन बेर लगाउँदैन । हरेक वडा वडामा स्वास्थ्य शिविर राख्नु पर्दछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कम्तीमा दुईजनाका दरले हरेक वडामा दक्ष चिकित्सकको नेतृत्वमा शिविर सञ्चालन गरिनु पर्दछ । अनि मात्र रोगीले बेलैमा उपचार पाउने सम्भावना हुन्छ । हरेक तीनदिनमा सबै वडाको भित्री भागमा समेत फगिङ, औषधि छर्कने काम गर्नु पर्दछ, जनचेतना जागृत गराउनु पर्दछ, दलका कार्यकर्ता, कर्मचारी सबै हातेमालो गर्दै एकैचोटी लागे यो समस्याबाट मुक्ति पाइन सक्दछ ।

उपसंहारः अहिलेको यो सङ्क्रामक अवस्थामा डेङ्गुबाट बच्न बचाउन, सचेतना जगाउन र सम्बन्धित सबैलाई झकझक्याउन यो स्तम्भकारले लामो समय लगाएर तयार गरेको यो छोटो अनुसन्धानात्मक लेखप्रति फरक वा थप मत कुनै महानुभावको भए हाम्रा आदरणीय पाठकहरू नै अझ लाभान्वित हुने आशा राख्दै थप धनजनको क्षति नहोस्, सबैजना स्वस्थ रहून् भन्ने कामना यो स्तम्भकार व्यक्त गर्दछ ।