धरान । धरानलाई जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा गर्ने निर्णयसँगै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा धरान–१५ मा ‘खोज तथा नष्ट’ अभियान सञ्चालन गरिएको छ ।

डेङ्गुको बासस्थानलाई खोज्ने तथा नष्ट गर्ने अभियानलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा आइतबार निरन्तरता दिइएको हो । साउन २१ गते गरेको निर्णयअनुसार धरानलाई जनस्वास्थ्यको आपतकालीन अवस्था घोषणा गर्ने तयारी स्वरूप लार्भा खोज तथा नष्ट गरिएको छ । प्रजिअ पाण्डेसँगै सुरक्षा अधिकारीहरू पनि सहभागी थिए । सुरक्षा अधिकारीमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना, धरान उपमहानगरपालिकाका २० वटै वडाका जनप्रतिनिधिहरू सहभागी भई अभियानलाई निरन्तरता दिएका छन् ।

धरान उपमहानगरपालिकाले खोज तथा नष्ट अभियानलाई तीव्र रूपमा सञ्चालन नगरेको आरोप लाग्दै आएको छ । हालसम्म कार्यपालिका बैठकबाट खोज तथा नष्ट गर्ने अभियानबारे निर्णय भएको छैन । तथापि साउन १७ गते २० वटै वडामा खोज तथा नष्ट अभियान गरिएको थियो । नेपालको ७१ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशको धरान उपमहानगरपालिकामा सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या उच्च छ । धरानमा हालसम्म १० जनाको ज्यान गइसकेको छ भने शनिबार साँझसम्मको तथ्याङ्कअनुसार नौ हजार नौ सय ७३ जना सङ्क्रमित देखिएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । धरानमा गत जेठ महिनाको तेस्रो हप्तादेखि डेङ्गु देखिन थालेको उनको भनाइ छ । नेपालमा पहिलो पटक डेङ्गु २०६१ सालमा देखिएको थियो भने २०७६ सालयता चाहिँ प्रकोपको रूप लिँदै आएको छ ।

उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय, सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहितले धरान–१५ को शिवगङ्गा बस्तीमा खोज तथा नष्ट अभियान चलाएको छ । उनले भने, ‘हाम्रो अभियान सन्देशमूलक बढी छ । अब २० वटै वडामा गर्ने भन्ने छ ।’ यता खोजी तथा नष्ट अभियानमा सहभागीमध्ये धरान–१५ का वडाध्यक्ष नरेश इवारमले नगर कार्यपालिकाबाट हालसम्म निर्णय गरेरै अभियान नचलाइए पनि वडा–वडामा कामहरू भइरहेको बताए । उनले भने, ‘आज मेयर, उपमेयरज्यूलाई सिडिओ सा’पले धरानलाई सङ्कटग्रस्त घोषणा गर्नुस् भन्दा पनि ध्यान दिइएन । मेयरज्यूले अहिलेसम्म आपतकालीन अवस्था छैन भन्दै उत्तर दिनुभयो ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले धरान डेङ्गु सङ्क्रमणका हिसाबले सङ्कटग्रस्त क्षेत्रमा पर्ने बताइन् । उनले जिल्लामा साउन १९ गते बसेको सर्वपक्षीय बैठकको निर्णय र साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनस्वास्थ्यको आपतकालीन अवस्थाको घोषणा गर्ने निर्णयमा पुगिएको बताइन् । उक्त घोषणा गर्नका लागि गृह मन्त्रालय तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सिफारिस गरिएको उनले बताइन् । हालसम्म गृह मन्त्रालय तथा कोशी प्रदेशअन्तर्गतको कानून मन्त्रालयबाट कुनै प्रत्युत्तर आएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले धरानमा डेङ्गु सङ्क्रमण अत्यधिक बढेकाले जनस्तरबाटै लार्भा खोज तथा नष्ट अभियानलाई तीव्र पार्नुपर्ने बताए । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी उद्योग वाणिज्य सङ्घ, धरान–१४, धरान–१३ लगायतका वडामा डेङ्गुका शिविर सञ्चालित छन् ।