विजयपुर । धरान उपमहानगरमा डेङ्गु सङ्क्रमण सुरु भएको ४ महिना पूरा भएको छ । तर, हालसम्म कति मात्रामा डेङ्गु सङ्क्रमित छन् भन्ने यथार्थपरक तथ्याङ्क नै छैन ।

उपमहानगरले अहिलेसम्म काम पूरा गरे जसरी मात्रै बीपी प्रतिष्ठानले परीक्षण गरेको तथ्याङ्कलाई सार्वजनिक गर्दै आएको छ । तथ्याङ्कअनुसार उपमहानगरको साउन १५ गतेसम्मको तथ्याङ्कअनुसार ४ हजार २ सय १८ जनाको परीक्षण गरिएको छ । जसमा २ हजार ४ सय ९५ अर्थात् ५९ प्रतिशत सङ्क्रमित देखिएका छन् । चार दिनदेखि परीक्षणबाट देखिएका सङ्क्रमितमा थपघट नभई दैनिक ५९ प्रतिशत सङ्क्रमित देखिएको छ ।

यो तथ्यपरक तथ्याङ्क हो त ? भन्ने प्रश्न उठेको छ । उपमहानगरले र प्रतिष्ठानले परीक्षण गरेभन्दा तीनगुणा बढी निजी स्वास्थ्य संस्था तथा मेडिकलतिर परीक्षण गरिएको छ । त्यसको तथ्याङ्क उपमहानगरसँग छैन । यतिमात्र होइन, जनगणना २०७८ अनुसार उपमहानगरमा ३० हजार घरधुरी बसोबास गर्छन् । पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्वो अहिले प्रत्येक घरमा २ जना बिरामी रहेको बताउँछन् । यसबाट धरानमा हजारौंको सङ्ख्यामा बिरामी रहेको देखिन्छ ।

स्वास्थ्य संस्थामा लुटतन्त्र, छैन नियमन
धरानका स्वास्थ्य क्लिनिक अहिले खाली छैनन् । सेवा लिनका लागि क्लिनिकमा पनि लामै समय लाइन बस्नुपर्ने अवस्था छ । तर, नियमनको अभावमा ती स्वास्थ्य क्लिनिकले लुटतन्त्र मच्चाएका छन् । नियामक निकाय थुप्रै भए पनि स्थानीय सरकार भएकाले नियमनको नेतृत्व नगरले लिनुपर्ने हो । बजार अनुगमन समितिका संयोजक उपप्रमुख अइन्द्रविक्रम बेघा छन् ।

तर, उनले प्रभावकारी रूपमा बजार अनुगमनमा भूमिका निर्वाह गरिरहेका छैनन् । उनले अहिले स्वास्थ्य संस्थामा अनुगमन प्राथमिकता दिनुपर्नेमा कर्मकाण्डीमा रूपमा खाद्यान्न पसल, होटल अनुगमन गरिरहेका छन् । क्लिनिकहरूले ८ सय पर्ने कुरालाई १ हजार ५ सयदेखि १ हजार ८ सय रुपैयाँ लिने गरेको अन्तरक्रियामा सहभागीले बताए । अन्तरक्रियामा सहभागी एक टोल विकास संस्थाका अध्यक्षले एउटा स्लाइन पानी चढाएको १५ सय बढी लिने गरेको बताए । प्रतिष्ठानका डा. रोबिन मास्केले फार्मेसीले औषधि सिफारिस गर्दा बिरामीलाई अर्को समस्या उत्पन्न भई प्रतिष्ठानमा भर्ना भएको बताउँदै भने, ‘औषधि बेच्नु र सिफारिस नगर्नु होला ।’ उनले थपे, ‘क्लिनिकमा इन्जेक्सन दिएकै कारणले बिरामीको मृत्युसमेत भएको छ ।’ उनले पनि सामान्यतया डेङ्गुको परीक्षणमा ३ हजारमाथि नलाग्नु पर्ने बताए । तर, ९ हजार रुपैयाँसमेत खर्च लागेको सुन्नमा आएको बताए । यता जिल्ला प्रशासन कार्यालयको टोली पनि कर्ममाण्डीरूपमा बीपी प्रतिष्ठान गेटका दुई–चार वटा मेडिकलमा अनुगमन गरेर गएको छ ।

नगर प्रमुखको चर्को आलोचना
विजयपुर । धरान उपमहानगरमा डेङ्गु महामारीको रूपमा फैलिएको छ । डेङ्गुका बिरामी नभएको कुनै घर छैन । उपचार र औषधि सहजरूपमा पाउन छाडिएको छ ।

महामारीको रूपमा फैलिएको डेङ्गु नियन्त्रणमा स्थानीय सरकार धरान उपमहानगरले नेतृत्व गर्न नसकेको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको डेङ्गु सङ्क्रमण र निराकरण विषयक अन्तरक्रिया कार्यक्रममा आलोचना भएको छ । अन्तरक्रियामा पूर्व जनप्रतिनिधिदेखि, टोल विकास संस्थाका प्रतिनिधि, सार्वसाधारणले नगरप्रमुख राईको आलोचना गरेका हुन् । पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले प्रत्येक घरमा औषतमा दुई जना डेङ्गु सङ्क्रमित रहेको बताए । उनले भने, ‘डेङ्गुका कारणले धरानमा स्वास्थ्य सङ्कटकालको अवस्था छ । तर, स्थानीय सरकार नगरपालिका मुकदर्शक बनेको छ ।’ उनले नगरले गम्भीररूपमा नलिँदा धरानमा डेङ्गुको अवस्था भयावह हुन पुगेको बताउँदै भने, ‘मेयर त युट्युबको पछि हिँडेको देखिन्छ । डेङ्गु नियन्त्रणमा ध्यान छैन । डेङ्गु रोगको रोकथाम यसरी हुन सक्दैन । विगतका अभ्यासलाई नगरले  पछ्याउन सकेन ।’

लोकतान्त्रिक प्रद्दतिबाट आएका विगतका जनप्रतिनिधिका विषयमा चौतर्फी आलोचना हुने गरेको बताउँदै भने, ‘अहिले एउटा तानाशाही प्रवृत्ति भएको मेयरलाई पनि कसैले केही भन्न नसकेको अवस्था छ ।’ निवर्तमान नगरप्रमुख तिलक राईले सबै पक्षले आफ्नो क्षेत्रबाट काम गरिरहेको बताए । तर, नेतृत्व लिने कोही नभएको बताउँदै भने, ‘नेतृत्व कसले गर्ने हो त ?’ उनले डेङ्गु नियन्त्रण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘सामूहिकरूपमा प्रयत्न भएन ।’ अन्तरक्रियामा टोल विकास संस्थाका प्रतिनधि तथा सहभागीहरूले विभिन्न कुरा गर्न लगाए पनि नगरले सहयोग नगरेको बताए । सहभागीहरूले दिनभर काम गरेर छाक टार्ने गरिब जनताले झुल कहाँबाट लगाउनु ? औषधि कसले दिने ? जङ्गलनजिक छ, त्यहाँबाट आउने लामखुट्टे कसरी नियन्त्रण गर्ने भन्दै प्रश्न गरेका छन् । पूर्व नगरप्रमुख मेन्याङ्बोले नगरपालिकाले निःशुल्क परीक्षण र उपचार तत्काल व्यवस्था गर्नुपर्ने माग गरे ।

अन्तरक्रियामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. रोबिन मास्केले पानी अभावका कारणले जम्मा गर्ने, गर्मी मौसम र जङ्गलनजिक भएकाले पनि डेङ्गु फैलिएको बताए । उनले भने, ‘पहिले निराकरण गर्न लागेको भए फैलिँदैनथ्योे ।’ उनले प्रतिष्ठानमा सञ्चालित डेङ्गु क्लिनिकमा सघन प्रकृतिका बिरामी राख्दा पनि ३० बेड खाली नभएको बताए । उनले भने, ‘जोखिमयुक्त बिरामी मात्रै राख्दा पनि २९ भरिररहेको छ ।’ प्रतिष्ठानकी डा. सिमरन श्रेष्ठले डेङ्गु कसरी फैलिन्छ र नियन्त्रण कसरी गर्ने विषयमा जानकारी दिइन् ।

कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले तीनै तहका जनप्रतिनिधिले आफ्ना कमजोरीका कारणले धराने जनताले दुःख पाएको बताए । उनले भने, ‘सर्च एण्ड डिष्ट्रोय’ ले मात्रै निराकरण नहुने बताउँदै चक्र नै नष्ट गर्नु पर्ने बताए । उनले अभियानमा जनशक्ति केन्द्रीकृत गर्नुपर्ने बताए ।