विजयपुर । धरान उपमहानगरपालिकाको सबै वडामा डेङ्गु प्रकोपको रूपमा फैलिएको छ । तर, डेङ्गु नियन्त्रणमा नगरले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छैन ।

नगरले डेङ्गु् नियन्त्रणका लागि प्रभावकारी कदम नचालेपछि चौतर्फी आलोचनासमेत भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गु सङ्क्रमणका कारण हालसम्म एक बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ । डेङ्गु सङ्क्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० का ५६ वर्षीय पुरुष, धरान–२ का ७७ वर्षीय एक वृद्ध, साउन १० गते धरान–११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको हो । साउन १३ गतेसम्म ३ हजार ९ सय ८१ जनाको डेङ्गु परीक्षण गर्दा ५९ प्रतिशत अर्थात् २ हजार ३ सय ५३ जना सङ्क्रमित देखिएका छन् ।

पछिल्लो समय सङ्क्रमण दर झन् बढिरहेको छ । तर, स्थानीय सरकार धरान नगरले भने यसको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको भनी चौतर्फी आलोचना भएको छ । धरान डेङ्गु नियन्त्रणका लागि प्रभावकारी मानिएको लामखुट्टेको लार्भा नष्ट गर्ने ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सुस्त देखिएको हो । विगतका वर्षहरूमा डेङ्गु नियन्त्रणका लागि माथिल्लो तहका निकायहरूसँग समन्वय गरेर लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको थियो ।

तर, यसवर्ष त्यो पनि गरेको देखिएको छैन । डेङ्गु नियन्त्रणमा नगरले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? पर्याप्त छ–छैन, प्रभावकारी नियन्त्रण गर्न के गर्नुपर्छ भन्नेबारे पूर्व जनप्रतिनिधि, नागरिक समाजलगायत सरोकारवाला पक्षसँग जिज्ञासा राख्दा धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले महामारी बढिरहेको अवस्थामा स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको बताए ।

उनले भने, ‘नगरको भूमिका ताल न बेतालको छ । अन्य जनप्रतिनिधि पनि आफ्नै शैलीमा चलिरहेका देखिन्छन् ।’ उनले सरोकारवाला निकाय मौन भएको बताउँदै भने, ‘विगतमा त जनता पनि उफ्रिन्थे । अहिले त राजनीतिक दल, सामाजिक सङ्घ–संस्था, नागरिक समाज मौन पनि छन् ।’ उनले दुई–चार वटा युट्युबरहरू लगेर प्रचार गर्दैमा डेङ्गु नियन्त्रण असम्भव भएको बताउँदै भने, ‘सम्पूर्ण पक्ष परिचालन गरी ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान चलाउनुपर्छ ।’

यस्तै निवर्तमान नगरप्रमुख तिलक राईले नगरप्रमुखले के गर्छ भनेर सरोकारवाला पक्षले हरिरहेको बताए । उनले विगतदेखि नै समन्वय नभएको बताउँदै निवर्तमान नगरप्रमुख राईले भने, ‘नगरप्रमुखको म नै सम्पूर्णरूपमा सक्षम छु । मलाई साथ सहयोग चाहिँदैन भन्ने अभिव्यक्तिले सरोकारवाला निकाय जान सकिरहेको छैन ।’ उनले थपे, ‘नियन्त्रणमा लाग्दा पनि स्वार्थको लागि ग¥यो भन्ने हो कि ? भनेर सरोकारवालालाई हिच्किचाहट भइरहेको छ ।’ उनले सामाजिक सञ्जालमा छाउने काम मात्र भइरहेको बताउँदै भने, ‘फिल्डमा त्यस्तो छैन । नगरकी निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा स्थानीय तहले बोर्डमा सरकार लेखेर र भाषण गरेर मात्रै सरकार हुँदैन ।

जनताको जीवनमा सरकार भएको अनुभूति दिलाउनु पर्छ । सङ्कट, महामारीमा जनतालाई साथ दिइएन भने लोकप्रिय प्रचारले मात्रै केही हुँदैन भन्दै महामारी नियन्त्रणमा लाग्न सुझाव दिएकी छन् । यस्तै बुद्धिजीवी डा. राजेन्द्र शर्माले खोलाको पानी पिउनेलाई बढी सङ्क्रमण देखिएको बताउँदै सतह मुनिको पानी वितरण गर्न सुझाए । उनले नगरको ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान फितलो भएको बताए । उनले भने, ‘फगिङ गर्दा पनि मेयरले विरोध गरेको देखियो । लामखुट्टे भाग्ने होइन, मार्ने फगिङ गर्नुप¥यो । मेयरले गलत प्रचार गर्न मिल्दैन ।’ उनले महामारीलाई संवेदनशील रूपमा नलिएको बताउँदै भने, ‘युट्युबर प्रवृत्ति मात्र देखियो ।’

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले डेङ्गु नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेकाले नियन्त्रणका लागि नगरपालिका, बीपी प्रतिष्ठानसँग छलफल गरिरहेको बताए । उनले भने, ‘नगरपालिकाले सहयोग नगरे प्रभावकारी नियन्त्रण गर्नतिर लाग्छौँ ।’ उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले पनि सर्च एण्ड डिष्ट्रोय अभियान पर्याप्त नभएको स्वीकार गरे । उनले भने, ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान पर्याप्त छैन ।’ उनले सरोकारवाला निकायसँग समन्वय गरेर धेरै काम गरिरहेको दाबी गरे । उनले भने, ‘धेरै काम गरिरहेका छौँ, नदेखिएको हो । निःशुल्क औषधि वितरण गरिरहेका छौँ । आज (सोमबार) देखि सभागृहमा धरानवासीका लागि निःशुल्क परीक्षण गर्दैछौँ ।’