धरान नगरभित्र डेङ्गुले ठूलो महामारीको रूप लिएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भइसक्यो । धरान उपमहानगरपालिकाले आफ्नो क्षमता र सामथ्र्य अनुसार प्रत्येक वडामा धुवाँ फ्याँक्ने काम र घरैपिच्छे सर्च एण्ड डिस्ट्रोय अभियान पनि गरिरहेको छ र तर, त्यतिले मात्र डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।

मुख्यतः धरान उपमहानगरपालिकाले प्रत्येक वडामा वडासभा बोलाएर वडावासीहरूलाई डेङ्गु रोगको रोकथामका लागि सचेतना कार्यक्रमको आयोजना साथै सरसफाइ औषधि छर्कने काम निरन्तर गरिरहनु पर्दछ । धरानमा धेरै सामाजिक सङ्घ–संस्थाहरू छन् । ती संस्थाहरूको सक्रिय सहभागितामा डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सकिन्छ । सामाजिक सङ्घ–संस्था र राजनीतिक दलहरूको यो महामारी नियन्त्रणमा समन्वय र एकता अति जरुरी छ ।

सामाजिक सङ्घ–संस्था र राजनैतिक दल यो महामारीमा स्वयम् सम्वेदनशील हुनुपर्ने थियो । प्रत्येक सार्वजनिक र निजी विद्यालय, कलेजका विद्यार्थीहरूलाई प्रत्येक वडामा हप्ताको दुई दिन डेङ्गु रोकथामका लागि सचेतना कार्यक्रममा सहभागी गराउनसके यो महामारी नियन्त्रण गर्न सकिन्छ । यो महामारीलाई नियन्त्रणमा लिनको लागि प्रदेश तथा सङ्घीय सरकारले विशेष ध्यान तथा दायित्व लिनुपर्ने हो । तर, आम जनताले प्रदेश तथा सङ्घीय सरकारले के कस्तो दायित्व र साधन स्रोत जुटाउने प्रयास ग¥यो, थाहा पाउन जरुरी छ ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि आफ्नो क्षमताअनुसार डेङ्गु शिविर स्थापना गरेर जनताको सेवा गरिरहेको छ ।

तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कम्पाउण्डभित्र पिउने पानीका खाली बोतल प्रशस्तै देखिन्छन् । पानी पिएर बोतल जथाभावी नफ्याँक्न सेवाग्राहीलाई सचेत गराउने कार्य भइरहेको छैन । वार्डभित्र दायाँ–बायाँ खाली ठाउँमा पुराना भएका सामान र खाली बोतल राखिएका छन् । त्यसैले सरसफाइमा सम्बन्धित विभागको ध्यान पुग्न जरुरी छ । ती सामानहरू तथा खाली बोतल डेङ्गु रोग फैलाउने प्रमुख कारण बन्न सक्दछन् । कम्पाउण्ड बाहिर चिया पसल तथा औषधि दोकान छेउछाउ पनि सरसफाइ अभियान चलाउनु जरुरी छ । उक्त कार्यमा होटल तथा औषधि दोकानका प्रोप्राइटरहरूको सहभागिता आवश्यक देखिन्छ । धरान नगरपालिकाका सबै वडामा वडा समितिले आगामी वर्षको बजेटमा कटौती हुने गरी हाललाई विकास निर्माण कार्यलाई थाती राखेर डेङ्गु महामारी नियन्त्रणका लागि वडामा नै रगत जाँच्ने प्रक्रिया थालनी गर्ने र न.पा. ले घुम्ती चिकित्सक टोली  गठन गरी बिरामीको सेवा गर्ने अभियान सञ्चालन गर्न जरुरी छ ।

उक्त कार्यक्रम सम्पन्न गर्न न.पा. र वडा समितिको सङ्कटकालीन बैठक बोलाएर बजेट विनियोजन गर्न जरुरी छ । बाटो, पुल, पुलेसा सधैँ हामीले बनाएका छौँ, यस पटक जनताको जीवन रक्षा गर्ने कार्यमा हामीले संवेदनशील हुन जरुरी छ । आज भन्दा ४० वर्षअघि धरानमा हैजा, बिफरजस्ता महामारीले धेरै मानिसहरूको मृत्यु हुन्थ्यो तर, हाम्रा अग्रजहरूले देखाएको सरसफाइ अभियान र महामारी रोकथामका लागि गरेको अथक प्रयास, संवेदनशीलता र एकताबारे हामीले सुनेका छौँ । त्यस बखत साधन स्रोत थिएन तर, पनि वहाँहरूले महमामारी नियन्त्रणका लागि गरेको संवेदनशीलता हाम्रा लागि एउटा राम्रो तथा उदाहरणीय पाठ हुन सक्दछ । विभिन्न समयमा जागरुक हुने धरानका राजनीतिक दल तथा सङ्घ–संस्थाहरूले महामारी नियन्त्रण गर्न यो सङ्कटको समयमा आम जनसमुदायलाई सहयोगका लागि आह्वान गर्न जरुरी छ । हामी सबैको प्रयासले महामारी नियन्त्रण हुन सक्दछ ।