Dikpal rajk

–राजकुमार दिक्पाल


पेट पाल्दै नाम कमाउन मन लाग्यो । त्यसैले रोजेँ, पत्रकारिता क्षेत्र । २२ वर्षको सक्रिय पत्रकारितापछि त्यस क्षेत्रमा विश्राम गर्दै म उडेँ, डायास्पोरातिर । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेपछि आठ वर्ष कलेज पढाएँ । मलाई भने २२ वर्षको त्यो पत्रकारिताको करियरभन्दा आठ वर्षे प्राध्यापनको क्षण सम्झदा आनन्द लाग्छ । त्यो मेरो बौद्धिक उन्नयनको अवसर थियो । अहिले मसँग मूलधारको मिडिया छैन, न छ पढाउने कुनै कलेज । तर कलेज पढाउँदाका क्षणहरुको सम्झनाले मेरा कतिपय नोस्टाल्जियाहरुबाट तृप्ती प्राप्त हुन्छ । 

केही दिनअघि मेरा पुराना मित्र चेतन पौडेलसँग कुराकानी भयो । उहाँ कुनै एउटा कलेजको प्रमुख हुनुहुन्छ, अहिले । अनि सरकारी विद्यालयको स्थायी दरवन्दीको शिक्षक । चेतनाको दीयो बाल्ने यस्ता शिक्षकहरुसँगको कुराकानी त मेरा लागि अत्यधिक आनन्दमयी हुन्छ । चेतनजीजस्ता बौद्धिक ब्यक्तित्वहरुसँगको संवादले मेरो बौद्धिक तिर्खा  मेटिने गर्छ । त्यस्तो बेला म आनन्दभूतिमा रमाउने गर्छु, अनि विर्सन्छु, डायास्पोराका भोग्नु परेको भौतिक र मनोवैज्ञानिक दुःखकष्टहरु ।

चेतनजीसँग आधा घण्टा जतिको संवादपछि आराम गर्दा म ३० वर्ष पहिलेको एउटा नोस्टाल्जियामा फर्केँ, कञ्चन हिमाल जस्तै अविचलित नोस्टाल्जिया, निलो आकासजस्तै स्वच्छ नोस्टाल्जिया । साहूै प्रियकर नोस्टाल्जिया ।

...

२०४८ सालको फागु पूर्णिमाको दिन पोखराको आकासमा तुँवालो लागेको थियो । माछापुछूे हिमाल बडो मुस्किलले देखिन्थ्यो । आकास धमिलो थियो । साथीहरुबाट छुटेर म चाहिँ भाई शुक्र राईलाई फेवातालतिर घुमाउन लगिरहेको थिएँ । त्यसअघि दिदी कृष्णा सुब्बा र भेना क्याप्टेन वेनिन्द्र इङ्नामको निवासमा पाहुना लाग्न गएको थिएँ, शुक्र भाईलाई लिएर । दिदी र भेना त्यतिखेर पोखराको ब्रिटिश क्याम्पमा बस्नुहुन्थ्यो, भेनाको जागिरका कारण । त्यहाँ दिदी भेनाको आत्मीय आतिथ्यपछि शुक्र भाई र म फेवाताल घुम्न निस्किएका थियौँ । म त्यसअघि पनि एक पटक भौगोलिक भ्रमणका क्रममा पोखरा पुगिसकेको थिएँ । यसपटक शुक्र भाईलाई पनि फेवातालतिर घुमाउन लैजादै थिएँ ।

पोखराको आकास धमिलो थियो, तर त्योभन्दा मेरो मन धमिलो थियो, त्यतिखेर । के के छुटेजस्तो । अँग्रेजी भाषालाई प्रयोग गर्दै अहिले खुब प्रचलनमा छ नि, केही ‘मीस गरेको’ जस्तो । 

खास के भने एक जना महिला मित्रसँगको थोरै समयको भेट र चिनजानको प्रभाव त्यतिखेर ममा राम्रैसँग परेको थियो । 

अनेरास्ववियूको एकता राष्ट्रिय सम्मेलन (११ औं) मा सहभागी हुन धनकुटाको प्रतिनिधिको रुपमा मित्र विनोद गुरुङको नेतृत्वमा म पनि सहभागी थिएँ । त्यसबेलाको राजनीतिक विभाजनको क्रममा गरिएको अञ्चलको प्रचलनका कारण हामी कोशी अञ्चलका प्रतिनिधिहरुका लागि आवास तथा भोजनको ब्यवस्था एकै ठाउँमा गरिएको थियो । दुई छाक जति खानाको प्रवन्ध त्यसरी नै भयो । खानामा मुसुरोको दाल र आलु(काउलीको तरकारीको प्रवन्ध गरिएको थियो । खाना असाध्यै स्वादिलो थियो । पृथ्वीनारायण शाह क्याम्पसको छात्रावासमा बासको प्रवन्ध गरिएको थियो । 

त्यहाँ एक जना स्वयम्सेविकाको भागमा काम परेको रहेछ, तरकारी बाँड्ने जिम्मा । फरासिली, विनयी, मिजासिली र हामी पूर्वेलीहरुप्रति विशेष सदभाव राख्ने, पृथ्वीनारायण क्याम्पसमा पढ्दै गरेकी ।

मोरङबाट प्रतिनिधित्व गर्ने मेनुका राई र धनकुटाका विद्यार्थी नेता विनोदजीसँग ती स्वयम्सेविकासँग कुरा हुँदै गर्दा म पनि त्यहाँ अलिकति सहभागी भएको थिएँ । खासगरी साहित्य लेखनसम्बन्धी अलिकति कुरा भएको थियो । फेरि भेट्ने वाचाका साथ हामी छुट्टिएका थियौँ ।

तर फेरि भोलीपल्टदेखि ती स्वयम्सेविकासँग भेट हुने अवसर मिलेन । हाम्रो खानाको प्रवन्ध क्याम्पस परिसरमा नभई होटलमा गरिएको थियो । विद्यार्थी सम्मेलनको त्यो भिडभाडमा हामी कता पुग्यौँ कता ? ती महिला मित्र कता पुग्नुभयो, हामी आफूहरु कता पुग्यौँ ?

यद्यपी मलाई सेतो ज्याकेट लगाउने ती स्वयम्सेविकाको ठेगानासम्म लिन पाए हुन्थ्यो भन्ने हुटहुटीले सताइरह्यो । सम्मेलन सकिएर फर्किने दिन पनि आयो । तर ती स्वयम्सेवी मित्रसँग भेटघाट त के जम्काभेट पनि हुन पाएन । मैले पृथ्वीनारायण शाह क्याम्पसको परिसरमा निक्कै पटक आँखा डुलाएँ, उहाँको खोजीमा ।

माथि उल्लेख गरिएको मित्र चेतनजीसँग पनि त्यहिँ सम्मेलनमा भेट हुँदा मैले उहाँलाई साथी बनाउने अवसर पाएको हुुुँ । उहाँ मोरङबाट प्रतिनिधित्व गरिरहनुभएको थियो । साहित्यमा विशेष अनुराग र दख्खल बोक्नुहुने चेतनजीसँग मैले भनेको अहिले पनि याद छ,ुएउटा कथा लेखेर ुगोरखापत्रुमा पठाएको छु चाडै छापिन्छ होला ।ु

उहाँलाई यसो भनेको दुई सातापछि मेरो कथा छापियो,ुफूल, भमरा र ऊु शीर्षकमा । यो कथा र ुअस्मिताु मासिकमा ुधनकुटाका इस्टेनीहरुु शीर्षकको लेख केही हप्ताको फरकमा छापियो । यस्तो खुसियालीमा मेरो खुट्टा भूँईमा हुने कुरै भएन । यी दुई सिर्जनावापत प्राप्त भएको पाँच सय ५० रुपैयाँ मेरो जीवनको अत्यधिक आनन्द दिने कमाई थियो । 

यो पनि अर्को महत्वपूर्ण नोस्टाल्जिया हो, मेरो लागि । बीचमा प्राध्यापन गर्दै २२ वर्ष त लेखेरै परिवार पालेँ । 

...

पृथ्वीनारायण शाह क्याम्पसका परिसरमा प्रशस्तै स्वयम् सेवक र स्वयम्सेविकाहरु अहोरात्र खटिरहेका थिए । तर ती स्वयम्सेविका मित्रसँग फेरि पनि भेट हुन नपाएको अर्को पछुतो थियो, पोखराबाट पूर्वतर्फ फर्कन लाग्दा । उहाँसँग भेट भएको भए ठेगाना साँटासाँट हुन्थ्यो, कम्तिमा आरामी पत्र त लेख्न पाइन्थ्यो भन्ने ठूलै थकथकी थियो । यस्तो थकथकी बोक्दै म हाम्रो लागि ब्यवस्था गरिएको बस कुरिरहेको थिएँ, पोखरा बसपार्कमा । कोशी अञ्चलका प्रतिनिधिहरु क्रमशः जम्मा हुन थाले । त्यहीँ बसपार्कमा लमजुङको प्रतिनिधित्व गर्ने सरस्वति श्रेष्ठसँग चिनजान साँटियो । उहाँको पछि लगनगाँठो गाँसिएछ, किशोर श्रेष्ठ (सम्पादक, जनआस्था साप्ताहिक)सँग । किशोर दाईसँग भौतिक रुपमा मेरो साक्षात्कार हुनभन्दाअघि नै सरस्वति भाउजुसँग भेटघाट र परिचय साँटिएको सम्झदा आज पनि रमाइलो लाग्छ । कुनै समय मैले पनि ुजनआस्थाु साप्ताहिकका श्रमजीवनको केही बूँद पसिना बगाएको छु । पछिल्लो समय केही लेखहरु प्रकाशनमा ल्याउने अवसर पाएको छु ।

...

तर आश्चार्य भयो, पोखराबाट पूर्वतर्फ फर्कने दिन । बसपार्कमा बस कुरिरहेको बेला अर्को खबर आयो । खबरअनुसार हाम्रो पोखराको बास एक दिनको लागि लम्बिने भयो । के कारणले यस्तो भयो भन्ने केही थाहा पत्तो पाइनँ । मात्र एउटा थकथकी थियो, जो मैले माथि उल्लेख गरिसकेँ ।

हाम्रो एक रातको लम्बिएको बास फेरि उही पृथ्वीनारायण शाह क्याम्पस परिसर रह्यो । पोखरा सम्मेलनमा टेकेको पहिलो साँझजस्तै गाँस र बासको प्रवन्ध गरिएको थियो । मेनुकाजी र विनोदजी मलाई भन्दै हुनुहुन्थ्यो,ु...जीले तपाईको सोधीखोजी गरिरहनुभएको छ । उहाँसँगै आज हामी फेवातालतिर घुम्न गएका थियौँ । उहाँ तपाईलाई भेट्न चाहनुहुन्छ ।ु

म चाहिँ दिदी भेनाको आवासमा पाहुना लाग्न गएकोले उहाँहरुसँगको घुमफिरबाट छुट्न पुगेको थिएँ । संयोग पनि बडो अचम्मको ! जसलाई खोज्न म चारैतिर आँखा डुलाइरहेको छु, उहाँले पनि मलाई खोजिरहेको अवस्था । सम्मेलनका सहभागीहरु आआफ्नो स्थानतिर फर्किरहेको बेला हामी कोशी अञ्चलका प्रतिनिधिहरुको बसाई चाहिँ प्राविधिक कारणले एक साँझलाई लम्बिएको थियो, पोखरामा ।

हाम्रो खानाको प्रवन्ध पृथ्वीनारायण शाह क्याम्पस परिसरमा गरिएको थियो, त्यस साँझ पहिलेजस्तै । उहाँ फेरि स्वयम्सेवाको लागि टुप्लुक्क आइपुग्नुभयो । नमस्कार साँटासाँट भयो । फेरि तरकारी थप्दै आउनुभयो । होटलमा प्रवन्ध गरिएको खानाभन्दा मीठो थियो, विद्यार्थी स्वयम्सेवीहरुले बनाएको खाना । किनकि त्यो खानामा कुनै ब्यापार थिएन, थियो त मीठो आत्मीयता र सेवा ।

उहाँको भागमा परेछ, पहिलेजस्तै तरकारी बाँड्ने काम । आफ्नो काम पुरा गरेपछि उहाँ हराउनुभयो । ुएकछिनपछि भेटौँ हैु भनेर निस्कनुभएको थियो । एकछिन पछि उहाँ फर्कनुभयो । उहाँको हातमा केही सामाग्रीहरु थिए । उहाँको सेतो ज्याकेटको बाहुलामा कालो मोसो लागेको थियो । त्यो देखाउँदै भन्नुभयो,ुभाँडा माझ्दा यस्तो भएको नि, हेर्नुस् न ।ु 

कठै अहिलेका अखिलका कार्यकर्ताहरुमा यो स्वयम्सेवी भावना होला ?

त्यतिखेर पृथ्वीनारायण शाह क्याम्पसका साथीहरुले हामीलाई चुलोमा दाउरा बालेर खानाको प्रवन्ध गर्नुभएको थियो ।

त्यतिखेरको भेटमा उहाँको हातमा ुकामनाु मासिक थियो, जहाँ छापिएको थियो उहाँको कविता । रचना प्रकाशनको हिसावले उहाँ मभन्दा पुरानो हुनुहुँदो रहेछ । अनि उहाँको हातमा एउटा डायरी पनि थियो । त्यहाँ उहाँका काब्य सिर्जनाहरु थिए । यता हामी धनकुटामा प्रेम ओझा, जनार्दन गोठाले, लक्ष्मी निरौला, मुकुन्द प्रयास, तोया रेग्मी तथा विनोद गुरुङहरु मिलेर ुप्रक्षेपणु नामको साहित्यिक पत्रिका निकाल्ने तयारीमा थियौँ । मैले उहाँको एउटा कविता आफ्नो डायरीमा सारेँ, हाम्रो प्रकाशोन्मुख साहित्यिक पत्रिकाका लागि प्रकाशनार्थ । त्यसपछि हामी छुट्टियौँ, जम्ला हात गर्दै, ुनमस्कार । आरामी पत्र लेख्दै गरौँला है साथी !ु

...

दुई तीन पटक हाम्रो पत्राचार भयो । पत्रमा आराम विरामको खबर खास हुन्थ्यो । केही दुःखसुख साटिन्थे । धेरै जसो चाहिँ एक अर्कामा साहित्यिक सिर्जनाका लागि उत्साह भर्ने सन्देश हुन्थ्यो हाम्रो पत्राचारमा । त्यसबेला लेखक बनेर उदाउने ठूलो हुटहुटी थियो, ममा । आज पनि केही लेख्दै लेखक बन्ने धूनमा छु । केही लेख्न सिकिरहेको छु ।

मेरो तेस्रो पटकको पत्रको भने जवाफ आएन । लाग्यो, जवाफ लेख्न भ्याउनु भएन होला । पत्रको जवाफ नआएपछि फेरि पत्र लेख्ने उत्साह भएन । किनकि शैक्षिक सत्र अनुसारको हिसाव गरिहेर्दा उहाँले कलेज छाडिसक्नुभएको थियो । त्यसैले पत्र लेख्न सकिएन ।

लाग्यो, कतै घरजाम गरेर आफ्नो नयाँ जीवन सुरु गर्नुभयो कि ! मसँगको पत्रचारमा उहाँको मन रमाएन कि ! उहाँको मनमा मेरो महङ्खवको स्थान रहेन कि ! उहाँले मलाई विर्सनुभयो कि !

किनभने मजस्ता उहाँका कति साथी छन् कति !

कहिलेकाहिँ मेनुकाजीसँग भेट हुँदा सोध्थेँ,ु...जीसँग तपाईको सम्पर्क छ ? पत्राचार वा फोनमा कुरा गर्नुहुन्छ ? कति रमाइलो साथी हुनुहुन्थ्यो हगि ?ु

मेनुकाजी भन्नुहुन्थ्यो,ुपोखरामा भेटेपछि त हाम्रो कुनै सम्पर्क छैन ।ु

ुकहाँ हुनुहुन्छ होला, के गर्दै हुनुहुन्छ होला, पढाई कता पु¥याउनु भयो होला, स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ होलाु, भेटघाटको बेला म मेनुकाजीसँग यस्तै विलौना गर्थेँ । 

...

ललिजन रावलको एउटा गजल खुबै चर्चित छ । यसको हरफ यस्तो छः

एउटा परदेश आई सोध्यो मेरो नाउ

तर चाडै छाडिगयो रमाइलो यो गाउँ


एउटा चिठी उसैलाई पठाउनु थियो

भनिदेऊ जूनतारा कुन हो उसको गाउँ


उसकै छेऊ उडी पुग्न मन लाग्छ तर

प्वाँख विना उडी त्यसै कसरी म जाऊँ ?

यो गजलमा वर्णित पात्रहरुमा म चाहिँ खास परदेशी हुनुपर्ने हो । किनकि म त पोखरामा छोटो समयको लागि न पुगेको थिएँ । तर यसको ठीक विपरित भयो । मेरो अवस्था चाहिँ परदेशी पर्खेर बसेको पात्रजस्तो थियो ।

मेनुकाजीलाई एक दिन सोधेँ,...जीको घर धादिङमा भन्नुहुन्थ्यो । कुन ठाउँमा रहेछ ?ु

उहाँले भन्नुभयो,ुमलेखु भन्नुहुन्थ्यो ।ु

सार्वजनिक यातायातको साधनबाट काठमाडौं र पूर्व (कहिले धनकुटा र कहिले धरान)बाट ओहरदोहर गर्दा मलेखुतिर खुब नजर लगाउँथेँ, कतै ती पोखरामा भेटिएकी साथीको अनुहार हेर्न पाइन्छ कि भनेर ।

कुरा २०३७ सालको हो । त्यतिखेर म कक्षा २ मा पढ्दै थिएँ । अक्षर चिनिसकेको र वाक्यहरु जान्ने अभ्यास गरिरहेको अवस्थामा थिएँ । त्यसैबेलादेखि ममा कतै अक्षरहरु भेटियो भने पढिहाल्ने बानी बस्यो । बुझे कि बुझिनँ अनि जाने कि जानिनँ थाहा छैन । तर मेरो दाजुको एसएलसीको लागि तयार भएको कक्षा १० को नेपाली  (महेन्द्रमाला)मा राखिएको दुई वटा कथाको कथावस्तु चाहिँ मलाई पुरै याद छ । तीमध्ये एउटा हो, रमेश विकलको कथा ुमेरी भतिजी प्रतिमाु र भवानी भिक्षुको ुत्यो फेरि फर्कला ?ु

ुत्यो फेरि फर्कला ?ु कथामा एक जना सानी नामकी पात्र हुन्छिन् । उनको घरमा एक जना परदेशी एक साँझका लागि बास माग्न , आइपुग्छन् । बासको प्रवन्ध सानीले गर्छिन् । उनीहरुलाई खाना पकाउन दाउरा दिने, भाँडाकुँडा दिएर पकाउने ठाउँको प्रवन्ध गरिदिने, अनि उनीहरुको लागि सुत्ने ठाउँ देखाइदिने । परदेशीले आफ्नो सहयोगीको सहयोगमा खाना पकाउँछन्, खान्छन् । एक रातको बास बसेपछि भोलीपल्ट विहानै परदेशी हिड्छन् । 

सानीले त्यो परदेशीको बाटो हेर्न छाड्दिनन् । तर ती परदेशी त्यो बाटो भएर फेरि हिडेको देखिदैन । सानी अब बुढि भइसकेकी हुन्छिन् । तर एक दिन ती परदेशी टुप्लुक्क उनको घरको बाटो हुँदै आइपुग्छन् र भन्छन्,ुतिमी त बुढी भइसकिछौ ।ु परदेशी पनि बुढो भइसकेका हुन्छन् । 

त्यहीँ दिन मात्र सानीले आफूमा बुढ्यौलीपन आएको महसुस गर्छिन् ।

पोखरामा भेटिएकी साथीसँगको सम्बन्धको कुरा गर्ने हो भने मेरो अवस्था पनि भवानी भिक्षुको कथामा उल्लेखित पात्र सानीको जस्तै थियो । 

...

बुढापाका भन्छन्,ु१२ वर्षपछि खोला पनि फर्कन्छ ।ु 

मलाई समाजशास्त्रमा मास्टर्स डिग्री गर्ने मन भयो त्यसैले प्रवेश परीक्षा दिनका लागि काठमाडौ पुगेर फर्केको बेला धनकुटा हुलाकटोलको किताब तथा स्टेशनरी पसल चलाउने दाई (धनपाल राई, हालः दिवंगत)ले मेरो हातमा सानो चिर्कटो दिनुभयो । भन्नुभयो,ुतपाईँलाई दिनु भनेर कसैले छाडेको हो यो ।ु

चिर्कटो यसो हेरेँ, अक्षर पहिल्यै कतै देखेजस्तो । नाम पनि मिलेजस्तो । तर थर नमिलेको । दुई वटा ल्याण्डलाईन फोन नम्बर थिए ।

घर पुगेर फोन डायल गरेँ । उताबाट जवाफ आयो,ुम्याम त यहाँ हुनुहुनुहुन्न घरमा फोन गर्नुुस् न ।ु

त्यसपछि दोस्रो नम्बरमा फोन गरेँ, नारी स्वर सुनियो । उहाँबाट प्रश्न सोधनी भयो,ुको बोल्नुभएको ?ु 

मैले आफ्नो नाम बताएपछि उताबाट खित्का छुट्यो । निक्कै बेरपछि मैले अनुमान गरेँ, पक्कै पनि ...नै हुनुहुन्छ । मैले उहाँको नाम उच्चारण गर्दै ुनमस्कारु भनेपछि उहाँको खित्का रोकियो । र केही मिनेट भलाकुसारी भयो । उहाँ त पोखराको उही स्वयम्सेविका हुनुहुँदोरहेछ, जसको सम्झना बोकेर म धनकुटा फर्किएको थिएँ ।

२०५७ सालको हिउँदमा उहाँसँग मेरो पुनर्मिलन भयो, टेलिफोनिक संवादमार्फत् । उहाँहरु सपरिवार विराटनगर घुम्न आउनुहुँदा मलाई भेट्न भनेर धनकुटा उक्लनुभएको रहेछ । मलाई सोध्दै खोज्दै गर्दा घर पत्ता नलागेपछि उहाँले त्यहीँ दुई वटा फोन नम्बर भएको चिर्कटो छाडेर जानुभएको रहेछ । त्यतिखेर म चाहिँ काठमाडौंमा रहेछु, प्रवेश परीक्षाको क्रममा ।

तर मेरो खोला त १२ वर्ष होइन नौ वर्षपछि नै पो फक्र्यो त ! 

अहिले हामीबीच बेलाबेलामा भलाकुसारी हुन्छ । पहिले साहित्यबारे कुरा हुन्थ्यो भने आजभोली चाहिँ घरब्यवहार र सुखदुःखको । परिवारका सदस्यहरुको सञ्चोविसञ्चो र उन्नति प्रगतिबारे विशेष चासोका साथ कुराकानी हुन्छ । पहिलेजस्तो चिठीपत्र लेख्न पर्दैन, सामाजिक सञ्जाल संवादका लागि बरदान सावित हुन पुगेको छ ।

...

उहाँको परिवारबाट मैले सिकेको एउटा महङ्खवपूर्ण पक्ष हो, असल र सँस्कारयुक्त परिवारको निर्माण अनि सकारात्मक सोच । पर्यटन ब्यवसायी दोर्जे लामासँग दाम्पत्य जीवनमा बाँधिनु हुने यी मेरी साथीको आफ्नै होटल छ, पर्यटन नगरी पोखरामा । जब दोस्रो पटक दुई जम्ल्याहा छोरीको जन्म भयो, उहाँहरुले अरु कसैलाई आफ्नो होटल भाडामा लगाउनुभयो, छोराछोरीलाई स्याहार्न र हुर्काउनका लागि । हामीसँग समय छोटो छ । गौतम बुद्ध भन्छन्,ुआँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुन्छ । त्यसैले तिमी प्राणी जगतको उपकारमा लगाऊ ।ु

मैले देखेको र सुनेको अधिकाँश ब्यापारीहरु पैसाबाहेक केही देख्दैनन् । तर यो परिवारले हातको मैलो पैसालाई होइन, आफ्नो सुदूर भविष्यको सुन्दर संसारलाई महङ्खव दियो ।

यहाँनेर एउटा दार्शनिक प्रसँग जोड्न चाहन्छु ।

आधुनिक र समृद्ध चीनको परिकल्पनाकार देङ स्यायोपिङ दिनदिनै प्रगतिपथमा लम्किरहेको बन्दरगाहको रुपमा रहेको सानो नगर राज्य सिंगापुरका निर्माता ली कुआन यूलाई भेटेर त्यहाँको रहस्य बुझ्न सन् १९७६ मा सिंगापुरको भ्रमणमा निस्के ।

उनीहरुबीच कुराकानी हुँदा ली कुआनले देङलाई भने,ुतपाईंहरु आफ्नै माटोमा जन्मिएका कन्फुसियसको दर्शनलाई पछ्याउनुस न ।ु

ुकन्फुसियसको दर्शनमा त्यस्तो के छ ?ु देङले सोधे ।

ली कुआनले भने,ुयो दर्शनमा सबैभन्दा पहिले आफू राम्रो बन्नुपर्छ भनिन्छ । आफू राम्रो बनेपछि परिवार राम्रो हुन्छ । परिवार राम्रो बने समाज राम्रो हुन्छ । समाज राम्रो बने देश राम्रो बन्छ । देश राम्रो बने संसार राम्रो बन्छ । हामीले सिंगापुरमा यहीँ दर्शनलाई पछ्यायौँ ।ु

देङ स्वदेश फर्केपछि यहीँ दर्शनलाई पछ्याए । आज चीन संसारको पहिलो अर्थतन्त्र बन्न सफल भएको छ । चीनले माओलाई आदर्श माने पनि उसले पछ्याएको दर्शन चाहिँ कन्फुसियसकै हो ।

आज मैले उल्लेख गरेको साथी र उहाँको जीवनसाथीको छवि पोखरामा समाजसेवीको रुपमा पनि स्थापित छ । उहाँहरु पहिले आफू राम्रो बन्नुभयो । परिवार राम्रो बनाउँदै हुनुहुन्छ, अनि समाज पनि । उहाँहरुजस्तै मानिसहरुको जन्म भए, हाम्रो समाज कति राम्रो हुन्थ्यो होला, हाम्रो देश कति राम्रो हुन्थ्यो होला ! कन्फूसियसले परिकल्पना गरेको जस्तै यो संसार कति राम्रो हुन्थ्यो होला !

पाठकवर्ग, तपाईहरुले शंका गर्नुहोला म र पोखरामा भेटिएकी साथीबीच महिला र पुरुषबीचको आकर्षणको वा सजिलो भाषामा प्रेम सम्बन्ध थियो । त्यो विल्कुल होइन । 

यदी उहाँसँग प्रेम सम्बन्ध भएको भए दुई वटा घटना हुने थियो, कि मेरो उहाँसँग विवाह हुन्थ्यो, कि त सम्बन्ध टुट्थ्यो । सम्बन्ध टुटिसकेपछि न भेट हुन्थ्यो न संवाद । एक अर्कालाई सोधीखोजी गरिरहन जरुरी हुदैनथ्यो । त्यसैले हामीबीच एक असल साथीको सम्बन्ध विगत ३० वर्षदेखि निरन्तर जारी छ । उहाँ र उहाँको परिवारसँग २०७० सालमा २२ वर्षपछि पोखरामा भेट हुँदा हामीले हर्षोल्लास मनाएका थियौँ । हाम्रो पुनर्मिलन देखेर माछापुछेू हिमाल पनि मुसुस्क मुस्कुराएजस्तो लाग्थ्यो । 

हामीबीचमा कुनै त्यस्तो स्वार्थपूर्ण सम्बन्ध रहेनछ । स्वार्थपूर्ण सम्बन्ध त काँचो धागोजस्तै हुन्छ, थोरै पनि बलमा च्वाट्ट चुडि जाने । त्यस्तो सम्बन्ध त सिसाको प्यालाजस्तै हुन्छ, थोरै प्रहारमा पनि प्याट्ट फुटि जाने । खहरे खोलाजस्तै हुन्छ, उपद्रो गर्दै क्षणभरमै उर्लेर क्षणभरमै सुकिजाने, त्यस्तो सम्बन्ध । हाम्रो मित्रता त निलो आकासजस्तै स्वच्छ छ, अनि कञ्चन हिमालजस्तै अविचल ।

त्यसैले हाम्रो मित्र सम्बन्धमा शंकाको तुँवालो लाग्न दिएनौं । कुरा स्पष्ट छ, शंकाले लंका जलाउँछ, विश्वासले संसार चलाउँछ ।

यति लामो रुपमा जसको विषयमा उल्लेख गरेँ, उहाँ हुनुहुन्छ, विना लोहनी । एक जना समाजसेवी, एक जना सफल सहकारी अभियन्ता । त्योभन्दा पनि बढि एक असल पत्नि, एक असल आमा । अनि मेरो एक जना असल साथी ।

...

म उहाँजस्ता साथीहरुसँगको संगतबाट असल मान्छे बन्ने प्रयासमा निरन्तर दौडिरहेको छु । सफल भएको छु कि छैन म भन्न सक्दिनँ ।  किनकि अरुलाई चिन्न जति सजिलो छ, आफूलाई चिन्न भने अति कठीन ।

तर म उहाँजस्ता साथीहरुको संगतबाट एउटा पक्षको महसुस गर्छु, चन्दनको जंगलमा घुमेर फर्किएपछि आफ्नो सरीर सुगन्धित हुन्छ ।

यहाँनेर संगतको सन्दर्भमा गौतम बुद्धले आफ्ना भिक्षुहरुलाई दिएको एउटा उपदेशलाई उद्धरण गर्न चाहन्छुः

एक दिन भिक्षुहरुले बुद्धसँग सोधे,ुतथागत, कस्को संगत गर्दा राम्रो हुन्छ ?ु 

ुबुद्धको संगत गरु, बुद्धले भने ।

भिक्षुहरुले भने,ुतथागत, बुद्धङ्खव प्राप्त गर्ने तपाईं मात्र एक्लो हुनुहुन्छ । फेरि तपाईं धर्मोपदेश सुनाउन विभिन्न ठाउँमा गइराख्नु पर्ने हुन्छ, त्यस्तो बेला कस्को संगत गर्ने ?ु

बुद्धले भने, ुभिक्षुहरुको संगत गर ।ु

ुहामी भिक्षुहरु पनि कम छौं, हामी पनि भिक्षाटनका लागि यत्रतत्र छरिएर जानुपर्ने हुन्छ । त्यस्तो बेला कस्को संगत गर्ने ?ु भिक्षुहरुले फेरि सोधे ।

ुअसंगतु, बुद्धले भने ।

बुद्धको भनाईअनुसार असल मानिससँग मात्र संगत गर्नु । असल मानिस भेटिएन भने कसैको संगत नगर्नु, बरु एक्लै बस्नू ।

हो, मैले पनि विगत ३० वर्षदेखि एउटा असल साथी पाएको छु, जोसँग मात्र दुई पटक भेट भएको छ, एउटा भेट साथीहरुसँगको जमघटमा र अर्को भेट उहाँकै परिवारका साथ ।

पाठकवर्ग, झिँगाको संगत गरे फोहरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ । मौरीको संगत गरे फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ । तपाई आफै भन्नुस्, झिँगाको संगत गर्ने कि मौरीको ? 

म चाहिँ मौरीको संगतमा रमाउन चाहन्छु ।