विजयपुर । धरान १४ गणेश चोकमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

मङ्गलबार झपट बहादुर थापाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर पूर्ण रूपमा जले पनि मानवीय क्षति भएन । आगलागीबाट करिब २५ मन धान, घरभित्रका सम्पूर्ण सामान तथा पराल जलेको छ । अस्थायी प्रहरी बिट धरान १४ का अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । अर्धपक्की (काठ, ढुङ्गा, टिन आदि) भएको घरको पछाडि गाईको गोठ थियो । स्थानीयवासीको सहयोगमा गाईहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । प्रहरीले धूप बालेर छोड्दा आगलागी भएको हुन सक्ने अनुमान छ । धरान उपमहानगरका दुई वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले जानकारी दिए । साथै, पीडित परिवारलाई वडा तथा नगरपालिकाबाट राहत र क्षतिको पूर्तिको लागि पहल गरिने उनले बताए ।