विजयपुर । २०७९ जेठको दोस्रो सातामा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर धरान उमपहानगरको नगर प्रमुख बनेका हर्कराज राई (साम्पाङ) ले कार्यकालको सुरुवातमै ‘मेयर चढ्ने गाडी बेचेर सडकका खाल्डाखुल्डी पुर्न रोलर किन्ने’ प्रस्ताव गरे । २०७९ असार २४ गतेको कार्यपालिका बैठकमा प्रस्ताव राखे, जसलाई कार्यपालिकाले ताली बजाएर औैपचारिकरूपमा अनुमोदन ग¥यो ।
बैठकपछि तत्कालीन नगर प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमा ‘मेयरका लागि किनिएको स्कोर्पियो गाडी बेचेर धरानका सडकका खाल्डाखुल्डी पुर्न रोलर मेसिन किन्ने विचार छ । आज (२०७९ असार २४) कार्यपालिकाले ताली बजाएर अनुमोदनसमेत गरिदिएको छ । जय धरान’ लेखेका थिए । उनले आफू मोटरसाइकलमा हिँड्ने र सरकारी गाडी बिक्री गर्ने बताएका थिए । ‘म करोडौंको गाडीमा हिँडेँ भने सडकका खाल्डाखुल्डी देख्दिनँ । मैले त खाल्डाखुल्डी हेरेर पुर्नु छ’ भन्ने उनको भनाइ पनि सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो ।
तर, करिब तीन वर्ष धरानको नेतृत्व सम्हाल्दा उनले न त गाडी बेचे, न त सडकका खाल्डाखुल्डी नै पुरे । बरु धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत् महँगो मोटरसाइकल खरिद गरे । तर, धरानभरि सरकारी गाडी नचढ्ने उनको प्रतिबद्धतासमेत लामो समय टिकेन । उनी प्रायः स्कोर्पियोमा नै हिँडे । सडकका खाल्डाखुल्डी देखेनन् । धरान–१२ स्थित चतरालाइनको सडकका खाल्डाखुल्डी अझै उस्तै छन् । इटहरी–तराहरा– धरान सडक निर्माणको जस लिन खोजेका राईले नगर कार्यालयअगाडि पर्ने छाताचोक– चतरालाइन– पानीट्याङ्की सडकसमेत सुधार गर्न सकेनन् । हाल उक्त सडकमा खाल्डाखुल्डी उत्तिकै छन् । धरान–१५ स्थित सदन स्कुल क्षेत्रदेखि बूढासुब्बा चोक, पिण्डेश्वरी चोकलगायतका सडकको अवस्था पनि दयनीय छ । त्यही सडकमा भेटिएका सिटी सफारी चालक रुद्रबहादुर देवान भन्छन्, “सडकका खाल्डाखुल्डीले गरिखान गाह्रो भएको छ । कसैले बनाउँदैनन् । बनाए अलिक राहत हुन्थ्यो ।” उनी थप्छन्, “खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटना पनि भइरहेका छन् ।” धरान–१५ स्थित कोशी राजमार्ग आसपासका सडकमा पनि खाल्डाखुल्डी उस्तै छन् । भानुचोकदेखि बीपी प्रतिष्ठान जाने सडक पनि उस्तै छ । धरान–११ को दुर्गा चोकस्थित सडकको अवस्था पनि सुधारिएको छैन ।
उक्त सडकमा भेटिएका स्थानीय छिरिङ राई भन्छन्, “खाल्डाखुल्डीका कारण मोटरसाइकलमा हिँड्न गाह्रो हुन्छ । कसैले चासो राख्दैनन्, गफ मात्रै सुनिन्छ, काम भएको देखिँदैन ।” त्यसो त धरान–६, ७, ८ र ९ लगायतका अधिकांश वडामा सडकको अवस्था उस्तै रहेको स्थानीय तथा तीनचक्के सवारी चालकहरू बताउँछन् । उनीहरूका अनुसार खाल्डाखुल्डीले यात्रामा असहजता मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाएको छ । हाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राईमाथि अब धरानका २० वटै वडा तथा वराहक्षेत्र नगरपालिकाका वडा नं. १ देखि ५ र रामधुनी नगरपालिकाका वडा नं. ६ र ७ का सडक स्तरोन्नतिका लागि पहल गर्ने जिम्मेवारी पनि आएको छ । उनले यसमा कति पहल गर्छन् भन्ने भने हेर्न बाँकी छ ।
सडक पुनःनिर्माणका लागि अर्धसरकारी संस्था सडक बोर्ड नेपालबाट बजेट आउने गर्छ । कालोपत्रे भएको पाँच वर्ष पुगेपछि सडक मर्मत तथा पुनःनिर्माणका लागि बोर्डमार्फत् बजेट आउने व्यवस्था छ । तर, त्यसको परिचालन भने स्थानीय तहले गर्ने गर्दछ । धरान–१५ का वडाध्यक्ष नरेश इवारम भन्छन्, “हरेक वर्ष बजेट आउँछ । खर्च भने प्रमुखको निर्णयबाट हुन्छ ।” उनी थप्छन्, “कम बजेट आउँछ होला, काम धेरै पर्छ । वडालाई जिम्मा दिए वडाले पनि काम गर्न सक्थ्यो ।” उनी भन्छन्, “नगर प्रमुखले जहाँ सङ्गठन छ । जहाँ आफन्त छन् । त्यता लगेर बजेट थुपार्ने चलन देखिन्छ । त्यसैले बन्न सकेन ।”
धरान उपमहानगरका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार सडक जुन सरकारको मातहतमा पर्छ, मर्मत तथा पुनःनिर्माणको जिम्मेवारी पनि त्यही निकायको हुन्छ । उनी भन्छन्, “राजमार्गहरू सङ्घीय सरकार अन्तर्गत सडक विभागको जिम्मेवारी हो । अन्य सडक भने स्थानीय सरकारकै हो ।” श्रेष्ठका अनुसार यस वर्ष पनि आठ–नौ वटा सडक पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाइएको छ । सडक बोर्ड नेपालले टोल ट्याक्स (मार्ग कर) बाट सङ्कलित रकमको ७० प्रतिशत स्थानीय तहमा पठाउने गरेको बोर्डले जनाएको छ ।
धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले सडक मर्मत गर्ने तयारी भइरहेको बताएका छन् । उनी भन्छन्, “सडक बोर्डबाट आउने बजेट अपुग भए धरान उपमहानगरपालिकाबाट समेत व्यवस्थापन गरेर खाल्डाखुल्डी पुर्ने तयारी गरिरहेका छौँ । छिट्टै काम सुरु हुन्छ ।”
































