विजयपुर । इन्टरनेटको माध्यमबाट हुने अपराध ह्वात्तै बढेको छ । सुनसरी प्रहरीको ३ वर्षको तथ्याङ्कका आधारमा इन्टरनेटको प्रयोग गरी साइबर अपराध गर्नेको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकको माध्यमबाट साइबर अपराध बढिरहेको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमार्फत् साइबर अपराधका घटना बढी भएको देखिन्छ । सुनसरी प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा साइबर अपराधका उजरी दर्ता देखिएको छैन । तर, आ.व. २०७९/०८० मा १ सय ४५, आ.व. २०८०/०८१ मा २ सय ९९ र आ.व. २०८१/०८२ मा २ सय ७८ घटना भएको देखिएको छ ।
आ.व. २०७९/०८० देखि भने सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अपराध पनि उल्लेखनीय वृद्धि भएको हो । आ.व. २०७९/०८० मा सबैभन्दा बढी साइबर अपराध सामाजिक सञ्जाल फेसबुकमार्फत् र दोस्रोमा टिकटकमार्फत् भएको देखिन्छ । तथ्याङ्कअनुसार उक्त वर्ष फेसबुकमार्फत् एक सय १७ घटना, टिकटकमार्फत् २२ र इन्स्टाग्राममार्फत् ४ घटना गरी कुल १ सय ४५ उजुरी प्रहरीमा दर्ता भएका थिए ।
आ.व. २०८०/०८१ मा फेसबुकमार्फत् २ सय ६६, टिकटकमार्फत् ३३ र इन्स्टाग्राममार्फत् ३ गरी कुल २ सय ९९ उजुरी प्रहरीमा परेका थिए । जसमध्ये ३ वटा मुद्दा दर्ता भएको थियो । आ.व. २०८१/०८२ मा फेसबुकमार्फत् १ सय ३०, टिकटकमार्फत् ८८, ह्वाट्सएपमार्फत् १, ई–सेवामार्फत् १ र अन्य ५८ गरी कुल २ सय ७८ उजुरी प्रहरीमा आएका थिए । जसमध्ये १४ वटा मुद्दा दर्ता भए ।
चालु आर्थिक वर्षमा टिकटकमार्फत् साइबर अपराध बढ्दै गएको छ । चालु आ.व.को आठ महिनामा २ सय ३१ उजुरी दर्ता भएका छन् । जसमध्ये टिकटकमार्फत् १ सय ६१ र फेसबुकमार्फत् ७० घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रहरीले ४ वटा मुद्दा दर्ता गरेको छ । चालु आ.व.को साउनमा फेसबुकमार्फत् २०, टिकटकमार्फत् ३६ गरी जम्मा ५६ वटामध्ये एउटा मुद्दा दर्ता भएको छ । भदौमा फेसबुकका ८, टिकटकका ११ गरी २७ वटा घटनामा १ मुद्दा दर्ता भएको छ ।
असोजमा फेसबुकका ११, टिकटकका १८ गरी ३० उजुरी परेको थियो । कात्तिकमा फेसबुकका ११, टिकटकका १३ गरी २४ उजुरी परेको तथ्याङ्क छ । मङ्सिरमा फेसबुकका २, टिकटकका १८ गरी २० घटनामध्ये एउटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
पुषमा फेसबुकका ३, टिकटकका १६ गरी १९ घटनामध्ये एउटा मुद्दा दर्ता भएको छ । माघमा फेसबुकका ८, टिकटकका १८ गरी २६ वटा उजुरी परेका थिए भने फागुनमा फेसबुकका ६ र टिकटकका २३ गरी २९ घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
रवि चुडाल पक्राउ
सामाजिक सञ्जालमार्फत् गालीगलौज तथा धम्की दिने झापा निवासी रवि चुडाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार साविक झापा कोहबरा गा.वि.स. वडा नम्बर १ को हाल गौरीगञ्ज–५ घर भएका ४५ वर्षीय रविरत्न चुडाललाई पक्राउ गरिएको हो ।
उनलाई काठमाडौँ प्रहरीले फागुन २८ गते पक्राउ गरी २९ गते धरान ल्याइएको प्रहरीले जनाएको छ । धरानकी सञ्चारकर्मी सञ्जिता धमलाको उजुरीका आधारमा चुडाललाई पक्राउ गरिएको डिएसपी राईले जानकारी दिए । पीडित सञ्चारकर्मीलाई ब्लाष्टले बुझ्ने क्रममा आफूलाई आरोपी चुडालले सामाजिक सञ्जालमार्फत् मिति किटान गरी कुटपिट गर्ने धम्की दिनुका साथै विभिन्न व्यक्तिसँग जोडेर अशोभनीय शब्द प्रयोग गरी गालीगलौज गरेका थिए ।
धमलाले फोनसम्पर्कमा भनिन्, “यति गतेभित्र कुटाइ खाइसक्ने, जुत्ताको माला लगाउनेजस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको थियो । आरोपितको अभिव्यक्ति विगतमा ममाथि भएका घटनासँग मिल्दोजुल्दो छ । मेरो व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरिएकोले उजुरी दिएको थिएँ ।” उनले २०८२ माघ ११ गते प्रहरीमा उजुरी दिएको भए पनि आरोपीलाई ढिलागरी प्रहरीले पक्राउ गरेको हो ।
उजुरीमा ‘खबर बुलेटिन टिभी’ नामक च्यानलमार्फत् धरानका पूर्वमेयर हर्कराज राई (साम्पाङ) को तस्बिर जोडेर सामाजिक सञ्जालमा भिडियो प्रकाशन गरिएको उल्लेख छ । उक्त भिडियोमा समाजमा अस्वीकार्य तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज गरिएको उल्लेख छ । धरानको भानुचोकमा लगेर जुत्ताको माला लगाई कुटपिट गर्ने धम्कीसमेत दिइएको उजुरीमा उल्लेख गरिएको छ । डिएसपी राईका अनुसार चुडालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
हुनसक्छ पाँच वर्ष कैद
सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत् भएका साइबर अपराधका घटनामा प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाउने तथा किनारा लगाउने कार्य गर्दै आएको छ ।
विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ मा कम्प्युटर सम्बन्धी कसूरको व्यवस्था छ । घटना प्रकृतिअनुसार ऐनका विभिन्न दफा आकर्षित हुन्छन् । ऐनको दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्नेसम्बन्धी व्यवस्था छ ।
दफा ४७ (१) कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था उल्लेख छ ।
यस्तै, दफा ४७ (२) मा कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय व्यवस्था छ ।
































