भद्रपुर । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
झापाको काँकडभिट्टामा सोमबार बिहान शान्तिपूर्ण खबरदारी कोणसभा सम्पन्न गरेको हो । मेचीनगरका विभिन्न सामाजिक सङ्घ–संस्था, क्याम्पस, स्कुलका विद्यार्थी लगायतले इनिशा विकका हत्याराहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै काँकडभिट्टा बजारमा मौन ¥याली प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सहभागीहरूले इनिशा विकलाई बलात्कार गर्नेलाई कारबाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मूर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । ¥यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा कोणसभा गरिएको थियो ।
कोणसभामा सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकोटा, शिक्षक शुभद्रा भट्टराई अर्याल, पत्रकार अम्विका भण्डारी, युवा नेता विनय कार्कीले गम्भीर ढङ्गले विक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई दोषीलाई कडा कारबाही र यस्ता घटनाहरू दोहोरिन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । क्लबका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न खबरदारी सभाको सञ्चालन सचिव करुणा पोखरेलले गरेकी थिइन् ।
घटना यही फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो । वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो । वीरेन्द्रनगर–६ स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् ।
जङ्गलमा अचेत अवस्थामा भेटिएकी इनिशाको पोष्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्राव रहेको उल्लेख छ । प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो । अनुसन्धानका क्रममा पक्राउ परेका ती बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राव भएको र उनी बेहोस भएको बयान दिएका छन् । प्रहरीले थप तीनजना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाइएको छ ।
































