विजयपुर । खोटाङमा हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जना घाइते भएका छन् ।
बुधबार एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा घाइतेहरूको उद्धार गरी काठमाण्डौ लगिएको छ । काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘९एन–एएफक्यु’ हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालबेसीमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अवतरणका क्रममा हेलिकोप्टर असन्तुलित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा पाइलटसहित ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई काठमाडौँबाट गएको अर्को हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको छ ।
उक्त हेलिकोप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी ८० वर्षीया मनलक्षी राईको अन्त्येष्टिमा सहभागी हुन उनका आफन्तहरू आएका थिए । हेलिकोप्टरमा सवार व्यक्तिहरूमा मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई तथा ललितपुर निवासी काजीमान राई रहेका थिए । मृतकको शव भने स्थलमार्गबाट बिहीबार गाउँ ल्याइने जानकारी आफन्तहरूले दिएका छन् । दुर्घटनामा सवार अन्य आफन्तहरू सकुशल रहेको जनाइएको छ ।
































