विराटनगर । विराटनगर महानगरपालिका–३ राजवंशी चोकमा अवस्थित सिटिजन्स बैङ्कको कञ्चनबारी शाखाका कर्मचारीले १३ जना नक्कली ऋणी खडा गरेर बैङ्कको ५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
शाखाको अपरेसन इन्चार्ज विराटनगर घर भएकी रोजी कँडेलसहित ५ जना कर्मचारीहरूले चार करोड ९१ लाख रुपैयाँ १३ जना नक्कली ऋणी देखाएर हिनामिना गरेको पाइएको हो । बैङ्कले कञ्चनबारी शाखाकी अपरेसन इन्चार्ज कँडेलविरुद्ध प्रहरीमा उजुरी २९ चैतमा दिएको छ । त्यसपछि मोरङ प्रहरीले अहिले यो हिनामिना गरेको घटनाको अनुसन्धान सुरु गरेको छ । बैङ्कको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा कर्मचारीहरूले निक्षेपकर्ताले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई धितोका रूपमा प्रयोग गरी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको देखिएको छ ।
यस प्रकरणमा बैङ्कले शाखाकी अपरेसन इन्चार्ज विराटनगरकी रोजी कँडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । अडिट रिपोर्टअनुसार कर्मचारीहरूले सर्वसाधारणको मुद्दती निक्षेपलाई धितोमा परिणत गरी कीर्ते कर्जा फाइल तयार पार्ने गरेका थिए । प्रतिवेदनमा जनाइएअनुसार २० लाखदेखि एक करोड रुपैयाँसम्मका दरले १३ वटा नक्कली ऋण खडा गरिएको थियो । यसरी रकम निकाल्न बैङ्कका कर्मचारीहरू अभिषेक अग्रवाल (आइडी ४७२), जोसेफ आचार्य (१९३२), रोजी कँडेल (२२७४) र सोनिका राउत (२८७) को युजर आइडी प्रयोग भएको देखिएको छ ।
बैङ्कले कँडेललाई बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्यसहित सोनिका राउत, विकास श्रेष्ठलाई निलम्बन गरेको छ । बैङ्कले चैत २९ गते मुख्य आरोपित कँडेलविरुद्ध मात्र उजुरी दिएको छ । मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले बैङ्कको अडिट रिपोर्ट प्राप्त भएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । “हामीले बैङ्कको आन्तरिक प्रतिवेदनका आधारमा छानबिन सुरु गरेका छौँ” एसपी कटुवालले भने, “अहिले अनुसन्धान जारी छ ।”
बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलका अनुसार दुई महिनाअघि नै केन्द्रबाट चार्टर्ड एकाउन्टेन्टसहितको टोली पठाएर छानबिन गरिएको थियो । “हिनामिनामा संलग्न कँडेलले १५ दिनभित्र रकम तिर्ने कागज गरेकी थिइन्, तर समयसीमाभित्र रकम नबुझाएपछि कानूनी कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको हो”–सीईओ पोखरेलले भने । अन्य कर्मचारीको हकमा भने हिनामिनाको जानकारी भएर पनि किन रिपोर्ट नगरेको भन्नेबारे सोधपुछ भइरहेको उनले बताए ।
यता, आरोपित रोजी कँडेलका परिवारले भने बैङ्कले एकलौटी रूपमा आरोप लगाएको दाबी गरेका छन् । रोजीका बुबा राजन कँडेलका अनुसार बैङ्कले आन्तरिक रूपमै मिलाउने आश्वासन दिएपछि रोजीका ससुराको नाममा रहेको रङ्गेली नगरपालिकाका विभिन्न कित्ताका जग्गाहरू बैङ्कका नाममा दृष्टिबन्धक राखिएको थियो । माघ १८ र फागुन २६ गते ती जग्गा रोक्का राखिए पनि बैङ्कले सम्झौताविपरीत फागुन २८ गते रोजीलाई सेवाबाट हटाएर प्रहरीमा उजुरी दिएको परिवारको आरोप छ । प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि कँडेल परिवारले उच्च अदालतमा निषेधाज्ञाको मुद्दासमेत दायर गरेको छ । उनीहरूले जिल्ला प्रहरी कार्यालय मोरङ, सिटिजन्स बैङ्कका सिइओ गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख र शाखा प्रबन्धकलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।
































