विजयपुर । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो २ बजेका लागि तय गरिएको बैठकबारे कार्यपालिका सदस्यहरूलाई पूर्वसूचना पठाइएको थियो । तर, निर्धारित समयमा सदस्यहरू उपस्थित नभएपछि बैठक सञ्चालन हुन नसकेको कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले बताए । उनले भने, ‘कार्यपालिका बैठकका लागि सूचना पठाइएको थियो । सदस्यहरू आउनुभएन ।’ कार्यपालिका सदस्यहरू अनुपस्थित हुनुको कारणबारे उनले खुलाएनन् । उनले भने, ‘मलाई जानकारी भएन ।’

धरान–१८ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका संसदीय दलका नेता नरेन्द्र कुमार राई (प्रविण) ले कार्यसूचीहरू अध्ययन गर्न पर्याप्त समय नपुगेकाले बैठकमा उपस्थित हुन नसकेको बताए । उनले भने, ‘कार्यविधिहरू अध्ययन गर्नुप¥यो नि ।’ यस्तै, नेकपा एमालेका संसदीय दलका नेता तथा धरान–१५ का वडाध्यक्ष नरेश इवारामलाई सम्पर्क गर्दा उनको फोन उठेन । धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले आफू बाहिर रहेको र एमाले संसदीय दलको बैठकका कारण कार्यपालिका बैठक स्थगित भएको जानकारी पाएको बताए । उनले थपे, ‘पछि कार्यवाहक मेयरलाई फोन गर्दा उहाँले आफू बैठकमा एक्लै बसेको बताउनुभयो ।’ उनले बैठकसम्बन्धी पत्र प्राप्त गरेको बताए । धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश खतिवडाले गणपूरक संख्या नपुगेकाले बैठक बस्न नसकेको बताए । उनले कार्यपालिका सदस्य उपस्थित नभएकाले बैठक बस्न नसकेको बताए ।

कार्यपालिका बैठकमा १४ वटा कार्यसूची प्रस्तावित थिए । तीमध्ये नगरसभा, ट्रायल सेन्टर स्थापना, ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरूको निःशुल्क उपचार, जेसी अडिट, सवारीसाधन तथा एम्बुलेन्स खरिद, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०७५ संशोधन लगायतका विषय समावेश थिए । यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूको मिलेजुले समूहको बीउपुँजी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, बाल अधिकार संरक्षण तथा संवर्धन कार्यविधि–२०८२, बसपार्क सञ्चालन कार्यविधि, सडक मानव उद्धार तथा व्यवस्थापन कार्यविधि–२०७२, प्रवद्र्धन केन्द्र स्थापना, बाँझगरा ९ (क) र घोपा ७ (घ) तथा (ङ) का जग्गासम्बन्धी प्रतिवेदन पनि कार्यसूचीमा रहेका थिए । साथै, धरान–२० बुढाहाङ क्षेत्रको खानेपानी मुहान उपयोग अनुमति सम्बन्धी विषय पनि छलफलका लागि प्रस्तावित थियो ।