सुनसरी । अनैतिक गतिविधि गरेको आरोपमा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार राति करिब पौने १० बजे अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले एक होटलबाट १० जनालाई नियन्त्रणमा लिएको हो । होटलमा यौनधन्दा चलाएको आरोपमा वरिष्ठ सइ राजेश पौडेलको टोलीले चेकजाँचको क्रममा नेपाली र भारतीयसहित १० जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत दार्जिलिङका भीमबहादुर कागते, रोशन मगर, सन्तोष कागते, विक्रम थापा छन् । 

यस्तै पाँचथर जिल्लाका मन्जुला सिवा, इलाम सन्दकपुर गाउँपालिका–५ की उर्जली राई, झापा भद्रपुर नगरपालिका–३ की सन्ध्या लिम्बू, मोरङको मिक्लाजुङ गाउँपालिका–३ की बिना राईलाई पक्राउ गरेको हो । यस्तै ताप्लेजुङकी रेसा लिम्बू, इलाम नगरपालिका–११ का सन्तोष लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यौनधन्दा र लागूऔषध कारोबारमा संलग्न भएको भनी आएको गुनासोको आधारमा निगरानी बढाइएको प्रहरीले जनाएको छ । चार दिनअघि मात्रै बसपार्कका होटलबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । होटलमा बसेर लागूऔषध कारोबार गरेको आशङ्कामा उनीहरू फक्राउ परेका थिए ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ बाट शनिबार एक युवकसहित ६ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान–१२ चतरालाइनको होटलबाट शनिबार ५ जना युवती र एक जना युवालाई पक्राउ गरिएको हो । उनीहरूलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएको जनाइएको छ ।