धरान । निशानबहादुर, अमेरिकी नागरिक । आफ्नो नामलाई उनले नेपालीकरण गरेका रहेछन् । यतिबेला धरानमा रहेका उनलाई सुँगुरको मासु मन पर्छ । दाल, भात मनपर्छ । नेपाली संस्कृति, नेपालीहरूको चालचलन, भाषा र खानाबारे सिक्न उनी नेपाल आएका हुन् । हाल धरान–१० स्थित नेपाल नाजरेथ सोसाइटीद्वारा सञ्चालित नवज्योति केन्द्रमा श्रम सहयोग गर्दैछन् ।

निशानबहादुरकै समूहमा क्यानाडेली नागरिक निली, अमेरिकी नागरिकहरू म्यारी र रायन छन् । धरान आइपुगेर उनीहरूले रमाइलो महसुस गरेको प्रतिक्रिया दिएका छन् । उनीहरूले आफूलाई भाग्यमानी ठानेका रहेछन् । धरानका मान्छेहरूले गरेको श्रमबाट उनीहरू प्रभावित छन् । उनीहरू धरान–१२ मा रहेको ह्युज फेमिलीको पर्खाल निर्माण गर्न केही दिनदेखि श्रम गरिरहेका छन् ।

नयाँ पर्खालको डिजाइन अष्ट्रेलियाको मेलबर्नबाट आएका जोस भेन ड्यामले गरेका छन् । अढाई महिनादेखि उनी नेपालमा छन् । महिना दिन अझै धरान बस्ने बताउँदै उनी भन्छन्, ‘धरानमा धराने मानिसहरू मायालु छन्, धरान सहर सफा छ ।’ उनीसँगै धरानमा १८ जना विदेशी नागरिक साता दिनअघिदेखि श्रम गरिरहेका छन् ।

नृत्यक्षेत्रमा अष्ट्रेलियन आइडल भइसकेका उनी नेपाली नृत्य र संस्कृतिका बारेमा जान्न इच्छुक छन् । उँभौलीको साकेला शिलीमा उनले नेपाली संस्कृतिसँग साक्षात्कार हुने अवसर पाए । पेशाले इन्जिनियर उनी सडक विस्तारका क्रममा धरान–१२ स्थित ह्युज फेमिली रहेको पर्खाल सार्नुपर्ने भएपछि आफैले पर्खालको डिजाइन गरेका हुन् ।

धरानमा भइरहेको श्रमसंस्कृतिका बारे सुनेका जोस भेन ड्याम प्रभावित भएका रहेछन् । नगरप्रमुख हर्क साम्पाङको ‘श्रम संस्कृति’ ले अहिले धरानमा पर्यटन प्रवद्र्धनको काम गरेको छ । श्रम संस्कृतिलाई प्रवद्र्धन गरिरहेका नगरप्रमुख साम्पाङ आफै पर्यटनको केन्द्र बनेको उनका समर्थक बताउँछन् । झण्डै एक वर्षमा उनको श्रम अभियान र उनीसँग साक्षात्कार गर्न हजारौं व्यक्तिले श्रमदान गरिरहेका देखिन्छन् । तीमध्ये धरानदेखि बाहिरबाट आउनेको सङ्ख्या उल्लेखनीय छ ।

श्रमदानका लागि कति व्यक्ति धरान प्रवेश गरे भन्ने यकिन तथ्याङ्क भने राखिएको छैन । नगरप्रमुख साम्पाङले श्रमदानमा औसत ३ हजार बढी आन्तरिक पर्यटकले सहभागिता जनाउने बताउँछन् । धरानलाई पर्याप्त खानेपानी उपलब्ध गराउन नगरप्रमुख साम्पाङ श्रम अभियानमा छन् । हाल कोका खानेपानी अभियानले श्रमसंस्कृति पार्कमा राखिएको तथ्याङ्कको रेकर्ड तोडेको छ ।

बहुसांस्कृतिक सहरका रूपमा परिचय बनाएको धरानको विकासको मोडल अध्ययन र अवलोकनका लागि समेत अन्य स्थानीय तहबाट आगन्तुक आउने गरेका छन् । यस्ता आगन्तुकको पनि एकीकृत तथ्याङ्क छैन । पर्यटन व्यवसायी वासु बराल भन्छन्, ‘तथ्याङ्कका कुरामा हामी कमजोर देखिएका छौँ ।’ 

तथ्याङ्कमा धरानको पर्यटन
धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र०८० मा पर्यटन शीर्षकमा आन्तरिकतर्फ २३ लाख ५० हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् नेपाल सरकारबाट २५ लाख रुपैयाँ गरी कुल ४८ लाख ५० हजार विनियोजन गरेको छ । नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले पर्यटनमार्फत् आर्थिक समृद्धि हासिल गर्न धरान नगरको पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

उपमहानगरपालिको विजयपुरस्थित पर्यटन सूचना केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख १ गते बुटवलबाट धार्मिक तीर्थका लागि ९० जना भक्तजन आएको देखिन्छ । पर्यटन सूचना केन्द्रका अनुसार वैशाख १ देखि १५ गतेसम्ममा १ हजार ८५ जना आन्तरिक पर्यटक आएको तथ्याङ्कमा देखिन्छ । ०८० वैशाख १६ गतेदेखि ३१ गतेसम्ममा ८ सय २६ जना आन्तरिक पर्यटक आएको देखिन्छ । १ महिनामा विजयपुरस्थित धार्मिक क्षेत्र आइपुगेका आन्तरिक पर्यटकको सङ्ख्या १ हजार ९ सय ११ रहेको तथ्याङ्क छ ।  

प्रवेश मार्गका रूपमा  
धरान पूर्वका पर्यटकका लागि ट्रान्जिटजस्तो मात्र रहँदै आएको छ । यहाँ आउने पर्यटक भेडेटार, धोजे डाँडा, डाँडा बजार, ओख्रे, जेफाले, मकालु, कञ्चनजङ्घा हिमाल तथा पहाडका रमणीय दृश्यको अवलोकन गर्न चाहने राख्ने पर्यटन व्यवसायी बताउँछन् । आन्तरिक पर्यटकले धरानलाई ट्रान्जिट बनाउने र यहाँ धेरै समय खर्च नगर्ने पर्यटन व्यवसायीहरूको गुनासो छ ।
उनीहरू धरान आसपासका पर्यटकीयस्थल भेडेटार, राजारानी, डाँडाबजार, वसन्तपुर, वराहक्षेत्र, कोसीटप्पुसम्म पुग्ने पर्यटकले धरानमा रात बिताउन नचाहने बताउँछन् । धरानबाट पूर्वी पहाडी जिल्लाका रमणीय ठाउँहरू धनकुटा, ताप्लेजुङ, कुम्भकर्ण हिमाल, कञ्चनजङ्घा हिमाल, मकालु–वरुण राष्ट्रिय निकुञ्ज, अरुण उपत्यका, तीनजुरे, मिल्के, जलजले (लालीगुराँस क्षेत्र), गुफा पोखरी, सभा पोखरी, ह्यात्रुङ झरना आदिको प्रवेश मार्ग भएकोले पनि यसको पर्यटकीय महŒव उच्च रहेको छ ।

धार्मिक पर्यटन मुख्य आकर्षण
धरान आइपुग्ने पर्यटकहरूका लागि यहाँका धार्मिकस्थलहरू मुख्य आकर्षण बनेको पाइन्छ, अन्य विकल्प भने पाउँदैनन् । धरानको भव्यता सुनेर यहाँ आइपुगेका पर्यटकको भनाइ उद्धृत गर्दै पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायी वासुदेव बराल भन्छन्, ‘धरान घुम्न आउने नेपालीहरूमध्ये पहिलोपल्ट आएकाले धरानलाई पोखरा, काठमाडौँ या नारायणगढजस्तै सोचेर आएका हुन्छन् । तर, यहाँ आइपुग्दा छाताचोकदेखि भानुचोक, देशीलाइन र पुतली बजारजस्ता छोटो दूरीका बजारले उनीहरूको धरानप्रतिको मोह भङ्ग भइसकेको हुन्छ । भव्य कल्पना गरेर धरान आएकाहरू बूढासुब्बा दर्शन गरेर फर्किन हतारिइरहेका हुन्छन् ।’

निराश होटल व्यवसायी
धरानमा गजुर, कञ्चनजङ्घा, ड्रिमल्याण्ड, इजी राइडर्स, रत्न इन, धरान किचन, सन्ध्या इनलगायत होटल छन् । तर, यी होटलले पर्यटकहरू पाएका छैनन् । कुनै समय धरानमा बेलायत, सिङ्गापुर, जापान, अमेरिका, चीन, भारतलगायत मुलुकबाट पर्यटक आएको तथ्याङ्क रहे पनि हाल एकादेशको कथाजस्तो भएको होटल सन्ध्या इनका सञ्चालक रविन अधिकारी बताउँछन् । धरान आउने पर्यटकले अग्रिम होटल बुकिङ गर्ने कुरा कथामात्र भएको उनको भनाइ छ ।

‘पर्यटक भन्ने त कोही आउँदैनन्, कामले धरान आउने फाट्टफट्ट हुन्छन्, घुम्नै आउने पर्यटक छैनन्, ६ बजेदेखि धरान सुनसान हुन्छ’ व्यवसायी अधिकारी भन्छन्, ‘बिजोग छ, धरानको पर्यटन खस्कँदो अवस्थामा छ ।’

पर्यापर्यटनमा धरान आसपासको प्रवद्र्धन
धरान उपमहानगरपालिकाले धरान आसपासमा रहेका धार्मिक महŒवका स्थान र त्यहाँ लाग्ने मेला र पर्यटकीयस्थलको समेत प्रवद्र्धन गर्दै आएको छ । वराहक्षेत्रको विष्णुपादुका, रामधुनी, पञ्चायनधामले धरानको धार्मिक पर्यटकीय महŒवलाई थप टेवा पु¥याएको लिखित दस्तावेज धरानले सार्वजनिक गरेको छ । पूर्वको पर्यटकीयस्थल कोसीटप्पु वन्यजन्तु आरक्ष, भेडेटारको विकासमा समेत धरानको दूरदृष्टि रहेको धरानको नीति तथा कार्यक्रममा उल्लेख भएको पाइन्छ ।

पर्यटनका लागि उपमहानगरपालिकाको प्रयासहरू
धरानले नगरक्षेत्रको भौतिक पूर्वाधार विकासमा जोड दिएको छ । धार्मिक पर्यटनको विकासका लागि हरेक वर्ष लाग्ने पिण्डेश्वर बाबाधाम मेला, वराहक्षेत्र मेला तथा विष्णु पादुका मेलाको सञ्चालनमा सहयोग गर्दै आएको छ ।

नगरपालिकाको संयोजनमा हरेक वर्ष अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा फुटबल प्रतियोगिताको सञ्चालन हुने गरेको छ । धरानका जानकारी र प्रचार–प्रसारका लागि हरेक वर्ष ब्रोसर प्रकाशन गर्दै आएको छ । धरानसम्बन्धी जानकारीमूलक वेबपेजको निर्माण गर्ने, सप्तरङ्गी पार्क तथा पञ्चकन्या नेचुरल पार्कको विकास गर्ने, धरानस्थित यलम्बर पार्क आदिको विकासमा सहयोग गर्ने नीति उपमहानगरले अख्तियार गरेको छ ।

धरानमा घुम्नै पर्ने स्थल
धरान विजयपुरमा रहेका धार्मिक तथा ऐतिहासिक महŒवका मठमन्दिरलाई धरानले पर्यटनको आधार बनाएको छ । धरानमा निर्माणाधीन पार्कहरूको विकास गर्दै पर्यापर्यटनको श्रीवृद्धिमा धरान लागिपरेको छ । धरानमा आदिवासी जनजातिहरूका सांस्कृतिक र परम्परागत रहन–सहन तथा रीतिरिवाज पनि पर्यटनको आधारका रूपमा रहेका छन् ।

सांस्कृतिक पर्यटनका रूपमा यहाँ रहेका राई जातिको साकेला नाच, लिम्बू जातिको च्याब्रुङ नाच, नेवार जातिको लाखेनाच, गाईजात्रा, तामाङ जातिको सेलो, गुरुङ जातिको रोदी तथा क्षेत्री, बाहुन जातिको बालुन तथा सङ्गिनीलाई समेत सांस्कृतिक पर्यटनको आधार मानेको छ ।

dharan-clock

घण्टाघर
धरान–२ भानुचोकस्थित घण्टाघरमा ‘सेल्फी’ नहान्ने आगन्तुक हुँदैनन् । घण्टाघर निर्माण गर्न धरान–हङ्कङ मञ्चको सक्रियतामा धरानलगायत हङ्कङ, मकाउमा बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भई निर्माण भएको हो । हङ्कङमा रहेको घण्टाघरकै नमुनामा बनेको धरान घण्टाघर सतहबाट ७६.५ फिट उचाइमा छ भने ५५ फिटको उचाइमा गएर एक पटकमा ५० जनासम्मले परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्छन् । घण्टाघरको उत्तरतर्फ भूकम्प स्मारक (पार्क) समेत निर्माण गरिएको छ ।

बूढासुब्बा
बूढासुब्बा मन्दिर धार्मिक, सांस्कृतिक सहिष्णुताको नमुना केन्द्र हो । यहाँ टुप्पा नभएका बाँसहरू पाइन्छन् । जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाँचिदिएको भन्ने मान्यता छ । धरान विजयपुरको बूढासुब्बा स्थान किराती तथा गैरकिरातीहरूका लागि महŒवपूर्ण धार्मिकस्थल हो । बूढासुब्बाको समाधीस्थलका रूपमा लिइन्छ । बूढासुब्बा मन्दिरमा प्रत्येक शनिबारका दिन भीडभाड हुने गर्दछ । बूढासुब्बामा कुखुराको भाले र सुँगुरको बलि दिने गरिन्छ । मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ ।

दन्तकाली
मध्यकालमा कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर विश्व परिक्रमा गरिरहँदा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । यो मन्दिरमा सतीदेवीका दाँतको प्रतीकस्वरूप प्रस्तरको पूजाअर्चना गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बलि दिइने र भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

पिण्डेश्वर  
पौराणिक कथामाा आधारित पिण्डेश्वर मन्दिरमा प्रत्येक वर्षको साउन महिनामा सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा चढाउन लाखौं भक्तजन आउने गरेका छन् । पौराणिक कथाअनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई शिवलिङ्गका रूपमा स्थापना गरेको पुराण र धर्मशास्त्रमा उल्लेख गरेको पाइन्छ । पिण्डेश्वर महादेवलाई रुद्राक्ष्यरण्यका रूपमा समेत पूजाअर्चना गर्ने गरिन्छ ।

tem

पञ्चकन्या मन्दिर
विजयपुरको घना जङ्गलभित्र रहेको  पञ्चकन्या मन्दिर यहाँको एउटा मुख्य धार्मिकस्थल हो । यहाँ पञ्चकन्याको पूजा अर्चना गर्ने गरिन्छ । हिन्दू धर्मका पाँच आदर्श नारीहरूलाई पञ्चकन्याका रूपमा बुझ्ने गरिएको छ । रामायणका अनुसार अहिल्या, द्रौपदी, सीता, तारा र मन्दोदरीलाई पञ्चकन्याका रूपमा हेरिन्छ ।

चिण्डे डाँडा
धरानेहरूले धरानलाई हेर्ने मुख्य केन्द्र हो चिण्डेडाँडा । हाइकिङ रुटका रूपमा विकास भइरहेको  चिण्डेडाँडामा प्याराग्लाइडिङ उडान गर्न थालिएपछि पर्यटकहरू त्यहाँ पुग्न चाहन्छन् । धरान–२० मा रहेको चिण्डेडाँडा पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ । स्थानीय सरकारले चासोका रूपमा नहेर्दा धरानको मनोरम दृश्यावलोकन गर्न सकिने यो क्षेत्रमा अपेक्षित विकास हुन नसकेको स्थानीयको गुनासो छ । 

गोर्खा स्मृति पार्क
धरान–२० विष्णुपादुकामा रहेको गोर्खा स्मृति पार्क धरानको आकर्षक पर्यटकीयस्थल हो । गोर्खा स्मृति पार्क पूर्वी नेपालमै एकमात्र गोर्खा आर्मीको पूर्णकदको सालिक भएको स्थान हो  । धरान आउनेले यहाँ एकपटक पुग्नै पर्ने स्थल हो । गोर्खालीहरूको सम्मान र सम्पदाको संरक्षणको लागि यसको निर्माण गरिएको छ । विश्वका विभिन्न युद्धहरूमा आफ्नो वीरताको सर्वोच्च प्रदर्शन गरेका गोर्खाली सैनिकहरूबारे आउने पुस्तालाई जानकारी दिने उद्देश्यले धरानका पूर्व गोर्खा सैनिकहरूले यो पार्कको निर्माण गरेका हुन् ।

बहुजातीय सङ्ग्रहालय
धरान–१४ मा रहेको बहुजातीय सङ्ग्रहालय अझै पर्यटकका लागि खुल्न सकेको छैन । यद्यपि यस आसपासमा धरानको सुन्दर दृश्य हेर्न आन्तरिक पर्यटक उभिन्छन् । आदिवासी जनजातिमा सूचीकृत राई, लिम्बू, नेवार, मगर, शेर्पा, थारु, सतार, धिमाल, मगर, राजवंशीलगायतका १९ जातजातिको संस्कार, संस्कृति, रहनसहन र भेषभूषालगायत एकै स्थानमा सङ्ग्रहित गरेर भावी पुस्तालाई अध्ययनका लागि महŒवपूर्ण थलोका रूपमा विकास गर्न बहुजातीय सङ्ग्रहालय निर्माणाधीन छ । 

सेछ पार्क
सेछ पार्क धरानमा निजी लगानीमा खोलिएको एड्भेन्चर पार्क हो । सेछ पार्कलाई कोशी प्रदेशकै पहिलो साहसिक खेल पर्यटन क्षेत्रका रूपमा विकास गरिएको छ । सेछ एड्भेञ्चर पार्क धरानबाट ३ किलोमिटर उत्तरपश्चिम डाँडामा सञ्चालित छ ।
४ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा हाल २ सय मिटरको जिप फ्लायर, स्काई साइक्लिङ, रसियन सर्कल, ३६० डी साइक्लिङ ह्याङगिङ ब्रिज सञ्चालनमा छ । बालबालिकाका लागि पार्कमा पिङ, माउन्टेन मङ्की जम्पिङलगायत खेलहरू छन् । पार्क परिसरमा वनभोजस्थलको सुविधा पनि उपलब्ध छ । पार्कमा एक सयजना क्षमता रहेको रेष्टुरेन्ट र सेमिनार हलको सुविधा छ ।

बीपी प्रतिष्ठान र गल्फ कोर्स
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा बुझ्न सकिन्छ । स्वास्थ्य लाभका लागि दैनिक सयौंको सङ्ख्यामा नेपाल र भारतका विभिन्न सहरबाट आगन्तुक आउने गरेका छन् । सार्कस्तरीय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग रहेको अन्तर्राष्ट्रियस्तरको गल्फ मैदान यहाँको आकर्षणको केन्द्र हो ।

प्रतिष्ठानमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति आउने, अध्ययन र इन्टर्न गर्ने गरेका छन् । यहाँ स्वास्थ्य क्षेत्रमा विश्वमै नौला र ठूला वैज्ञानिक अनुसन्धान हुने गरेका छन् । बीपी प्रतिष्ठानको भव्यता अवलोकन एकदिनभरिमा पनि गर्न सकिँदैन । त्यसतर्फसमेत स्थानीय सरकारले सोच्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले यी धार्मिक ऐतिहासिक, पुराताŒिवक, शोधनीय, दर्शनीय र पर्यटकको मन आह्लादित बनाउने स्थललाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने हो भने धरान पर्यटनको क्षेत्रमा फड्को मार्न सक्ने देखिन्छ । अधिक सम्भावना र चुनौतीका बीच धरानको पर्यटनमा सर्वपक्षीय सक्रियता आवश्यक रहेको देखिन्छ । त्यसो त धरानले श्रमसंस्कृतिलाई संस्थागत गर्न र श्रमपर्यटनमा आन्तरिक उत्साह थपिरहेको छ ।