विजयपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गते हुँदै छ । विद्यार्थीको निर्वाचनमा विद्यार्थी सङ्गठनहरूले दलगत गरेर प्रतिस्पर्धा गर्दै छन् । 

धरानमा महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, इन्जिनियरिङ क्याम्पस र पिण्डेश्वर विद्यापीठमा स्ववियुको निर्वाचन हुँदै छ । चार क्याम्पसमध्ये पिण्डेश्वर विद्यापीठ धरानमा सर्वसम्मत चयन भएपछि निर्वाचन नहुने भएको छ । अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घबीच सहमति भएको हो । तीनवटै विद्यार्थीहरूको निर्वाचनमा पनि दलगत गठबन्धन गरेर विद्यार्थी प्रतिस्पर्धा गर्दैछन् । महेन्द्र, हात्तीसार र इन्जिनियरिङ क्याम्पसमा तीन प्रमुख विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

तीन क्याम्पसमध्ये कोशी प्रदेशमा राजनीतिका लागि महेन्द्र बहुमुखी क्याम्पस धरान उर्वर मानिन्छ । धेरै पटक एमाले निकट अनेरास्ववियुले सभापति जितेको महेन्द्रमा यस पटक चार पक्षीय प्रतिस्पर्धा हुँदैछ । महेन्द्रमा नेविसङ्घ र क्रान्तिकारीबीच तालमेल गरिएको छ भने अनेरास्ववियु र समाजवादी विद्यार्थी सङ्गठन एकल प्रतिस्पर्धामा छन् । 

नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलकातर्फबाट सभापतिमा नेविसङ्घका विनोद आले मगर उम्मेदवार छन् भने सचिवमा क्रान्तिकारीका सनिक श्रेष्ठ (मल्ल) र कोषाध्यक्षमा नेविसङ्घकी स्वातिकला राई उम्मेदवार बनेकी छन् । सभापतिका उम्मेदवार आले मगरले संयुक्त प्यानल भएकाले जित निश्चितजस्तै भएको बताए । उनले भने, ‘अहिलेको अवस्थामा हेर्दा जितिन्छ जस्तो लाग्छ ।’ महेन्द्रमा अनेरास्ववियुबाट सभापतिमा सुनिल लिम्बू, सचिवमा प्रताप तामाङ र कोषाध्यक्षमा मन्दिरा लिम्बू उम्मेदवार छन् ।

महेन्द्रका इकाई सभापति शेखर रेग्मीले तयारी राम्रो गरेकाले सम्भावना बलियो रहेको बताए । यस्तै समाजवादी विद्यार्थी सङ्गठनकातर्फबाट सभापतिमा अलौकिक राई, सचिवमा विनिता लिम्बू र कोषाध्यक्षमा सुप्रिया राई उम्मेदवार छन् । जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बूले निर्वाचन जित्ने अवस्था रहेको बताए । उनले भने, ‘सङ्गठन बलियो र उम्मेदवारको लोेकप्रियताका कारण जित्ने आधार हो ।’ यस्तै महेन्द्र क्याम्पसमा सङ्घीय लिम्बुवान मञ्च निकट विद्यार्थी सङ्गठन पनि स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले  सङ्घीय विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (विप्लव) बीच तालमेल गरेर प्रतिस्पर्धामा रहेको जानकारी दिए । 

सङ्घीय विद्यार्थी युनियनबाट सभापतिका उम्मेदवार कामना राई र कोषाध्यक्षको उम्मेदवार जेनिसा कार्की छन् । अखिल क्रान्तिकारी (विप्लव) बाट रोशन सुवेदी सचिवका उम्मेदवार छन् । अध्यक्ष इजमले सभापतिको उम्मेदवार महिला भएकाले माहोल राम्रो भएको बताए । इन्जिनियरिङ क्याम्पस धरानमा पनि चतुर्पक्षीय प्रतिपस्र्धा हुने भएको छ । अनेरास्ववियु र क्रान्तिकारीले एकल रूपमा प्रतिस्पर्धा गर्दैछन् भने नेविसङ्घले समाजवादी विद्यार्थी सङ्गठनसँग तालमेल गरेको छ । अनेरास्ववियुको तर्फबाट सभापतिको उम्मेदवार असेच रेग्मी छन् भने सचिवका उम्मेदवार सङ्कल्प खतिवडा छन् ।

यस्तै कोषाध्यक्षको उम्मेदवार दिपर्शन ढकाल छन् । अनेरास्ववियुका इकाई अध्यक्ष अभिषेक कट्वाल भने, ‘प्रतिपस्र्धा कडा छ । यस्तै भन्ने अवस्था छैन ।’ नेविसङ्घको तर्फबाट सभापतिका उम्मेदवार नवीन श्रेष्ठ छन् । सचिवका उम्मेदवार समाजवादी विद्यार्थी सङ्गठनका राजन यादव छन् भने कोषाध्यक्षका उम्मेदवार नेविसङ्घका महेश्वरप्रसाद भट्ट रहेका छन् । सभापतिका उम्मेदवार नवीन श्रेष्ठले तयारी सकेको बताए ।

उनले प्रतिस्पर्धा हुने बताए । अखिल क्रान्तिकारीतर्फबाट सभापतिका उम्मेदवार मन्दिप अधिकारी छन् भने सचिवका उम्मेदवार निकेश दास छन् । कोषाध्यक्षका उम्मेदवार रवि बस्नेत रहेका छन् । अखिल क्रान्तिकारीका इकाई अध्यक्ष समित तिवारीले सभापतिमा क्रान्तिकारीको सम्भावना बलियो रहेको बताए । उनले भने, ‘सभापति निर्वाचित हुने सम्भावना प्रबल छ । अरू भन्न सकिँदैन ।’ 

उनले क्रान्तिकारीले विद्यार्थीको हकहितका लागि क्याम्पस प्रशासनविरुद्ध बोल्न सक्ने उम्मेदवार बनाएको बताए । उनले भने, ‘सभापति विद्यार्थीको पक्षमा र क्याम्पस प्रशासनकाविरुद्ध हुनुपर्छ ।’ राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तर्फबाट आभाष अधिकारी सभापतिको उम्मेदवार छन् । सचिवमा सञ्जीव बस्नेत, कोषाध्यक्षको उम्मेदवार दिव्यानी कर्ण रहेका छन् । सभापतिका उम्मेदवार अधिकारीले भने, ‘तीनै वटा पदमा जित निश्चित छ ।’ 

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अखिल स्वतन्त्र विद्यार्थी युनियन त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ । अनेरास्ववियुको तर्फबाट प्रतीक ओझा सभापतिको उम्मेदवार छन् भने सचिवमा नवीन खरेल र कोषाध्यक्षमा नविना मग्राती उम्मेदवार छिन् । अनेरास्ववियु हात्तीसार इकाई अध्यक्ष सौरभ सञ्जेलले निर्वाचनका लागि राम्रो तयारीमा रहेको बताए । उनले भने, ‘हाम्रो उम्मेदवार विद्यार्थीका समस्या समाधानमा लागेका छन् । प्रतिस्पर्धा छ तर, विजयी हुन्छौँ ।’ नेविसङ्घ पूर्व सभापति रूपेस कट्वालका अनुसार नेविसङ्घ र क्रान्तिकारीको प्यानल बनेको छ ।

हात्तीसारमा नेविसङ्घका अविनभ गुरागाईं उम्मेदवार छन् । क्रान्तिकारीका तर्फबाट सचिव र कोषाध्यक्षमा क्रमशः भगवान् थापा र सीमा आले मगर उम्मेदवार बनेका छन् । उम्मेदवार थापाले विजयको नजिक भएको बताए । उनले भने, ‘विद्यार्थीको विपत्तिमा सहारा र विभेदमा विद्रोहको मर्मअनुसार विद्यार्थीको काम गरेका छौँ ।’ यस्तै नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुतर्फबाट आशिस बोहोरा उम्मेदवार बनेका छन् । स्ववियु निर्वाचनमा महेन्द्र क्याम्पसमा कुल ४ हजार ५ सय ५० मतदाताले मतदान गर्दै छन् भने इन्जिरियरिङ क्याम्पसमा १ हजार ९ सय ४१ मतदाताले मतदान गर्दै छन् । केन्द्रीय प्रविधि क्याम्पसमा हात्तीसारमा १ सय ७८ मतदाताले मतदान गर्दै छन् । 

छात्रा उपेक्षित

राजनीतिक दलमा महिला उपेक्षित बनेजस्तै स्ववियु निर्वाचनमा छात्रा उपेक्षित बनेका छन् । संविधानको मूल मर्मविपरीत सङ्गठनहरूले सभापति पदमा छात्राहरूलाई उम्मेदवार बनाएका छन् । चैत ५ गते त्रिभुवन विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुँदैछ । सो अन्तर्गत धरानमा चार क्याम्पसमा निर्वाचन हुँदैछ । निर्वाचनमा दलगत रूपमा तालमेल गरेर विद्यार्थी सङ्गठनहरू प्रतिस्पर्धामा उत्रिएका छन् । स्ववियुका मुख्य तीन पद सभापति, सचिव र कोषाध्यक्षमा प्रत्यक्ष निर्वाचन हुँदैछ ।

तीन मुख्य पदमध्ये सभापति पदमा कुनै सङ्गठनले पनि उम्मेदवार बनाएका छैनन् । धरानका तीनवटै क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले सभापति पदमा छात्रालाई उम्मेदवार नै बनाएनन् । महेन्द्रमा सङ्घीय विद्यार्थी युनियनले मात्रै सभापति पदको उम्मेदवार छात्रालाई बनाएको छ । अन्य कुनै क्याम्पसमा कुनै सङ्गठनले छात्रालाई उम्मेदवार बनाएनन् । 

इन्जिनियरिङमा विद्युतीय मतदान

निर्वाचन आयोगले हालसम्म अभ्यासमा ल्याउन नसकेको विद्युतीय मतदाना (ई–भोटिङ) यस पटकको स्ववियु निर्वाचनमा प्रयोग हुँदैछ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग र इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका नेपालका चारवटा क्याम्पसमा विद्युतीय मतदान हुने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान क्याम्पस प्रमुख ओमप्रकाश ढकालले बताए । उनले भने, ‘ई–भोटिङमा मतपत्र छाप्नु पर्दैन । मतगणना पनि अटोमेटिक हुन्छ । मतदान सकिएको १ घण्टामा नतिजा आउँछ ।’ उनका अनुसार स्ववियु निर्वाचनमा पनि ई–भोटिङ पहिलोपटक लागू भएको हो । सङ्घ–सङ्गठनको निर्वाचनमा भने पहिले पनि प्रयोग गरी सफल भएको उनको भनाइ छ । इन्जिनियरिङ क्याम्पस पुल्चोक, इन्जिनियरिङ क्याम्पस थापाथली, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा विद्युतीय मतदान हुँदैछ ।