विजयपुर । धरान उपमहानगरको मुख्यबजार क्षेत्रमा यातायातका साधन अस्तव्यस्तरूपमा सञ्चालन भइरहेका छन् ।  यातायातको व्यवस्थापनमा तीनचक्के सवारी साधन समस्याका रूपमा देखिएका छन् ।

तीनचक्केमा पनि सिटी सफारी (ई–रिक्सा) प्रमुख समस्याका रूपमा देखिएको छ । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐनअनुसार धरान नगरले सिटी सफारी दर्ता नगर्दा सवारी व्यवस्थापनमा समस्या देखिएको हो । 

धरानमा सिटी सफारी कति मात्रामा गुडिरहेका छन् भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग पनि छैन । सिटी सफारी दर्ता नगर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७६ को परिच्छेद ३ दफा १४ को उपदाफा १ मा कुनै पनि सवारी साधन उत्पादन वा खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ । तर, धरानमा वर्षौंदेखि दर्ता नगरी सिटी सफारी सञ्चालन भइरहेका छन् । ऐनको दफा १४ को उपदफा २ मा तीनपाङ्ग्रे दर्ता, नवीकरणलगायतका काम स्थानीय तहको कार्यालयमा गर्नु पर्ने प्रावधान रहेको छ ।

धरान नगरले ऐन बनेको ४ वर्ष बित्दा पनि सिटी सफारी दर्ता नगर्दा व्यवस्थापनमा चुनौती थपिएको छ भने अर्कातिर चालकहरू पनि समस्यामा पर्ने गरेका छन् । धरान–१५ का उद्धव राउत ९ वर्षदेखि सिटी सफारी चलाउँदै आएका छन् । विगतमा सिटी सफारी कम मात्रामा थिए । चालक राउत अहिले धरानमा नै पनि बढे भने बाहिरका सिटी सफारी पनि आउन थालेपछि थप समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘बाहिरकाले सफारी ल्याई धरानमा चलाउँदा हामी मारमा परेका छौँ । नगरले दर्ता गरेर बाहिरबाट सफारी आउन नदिए, केही राहत हुने थियो ।’

उपमहानगरपालिकाले सिटी सफारी दर्ता गर्नुको साटो चोक चोकमा मान्छे राखेर कर भने उठाउँदै आएको छ । अखिल नेपाल विद्युतीय ई–रिक्सा मजदुर सङ्घ धरानका अध्यक्ष लीलाबहादुर प्रधान सिटी सफारी दर्ता नगर्नाले चौतर्फी समस्या देखिएको बताउँछन् । उनी भन्छन्, ‘बजार व्यवस्थापनमा समस्या छ । मजदुरलाई नोक्सान छ ।’

उनी भाडादर कायम नहुँदा सफारी चालकले मनपरी भाडा लिने गरेकाले यात्रु पनि मारमा पर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘यी सबै समस्या नगरले दर्ता गरी सुचीकरण नगर्दा नै हो ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख श्यामकुमार बस्नेतले सिटी सफारी दर्ता गरे ट्राफिक व्यवस्थापनदेखि बजार व्यवस्थापन पनि सहज हुने बताउँछन् । उनी भन्छन्, ‘धरानमा कति सफारी छन् भन्ने यकिन तथ्याङ्क छैन । दर्ता गरे धरान बाहिरबाट आउन पाउँदैनन् । सङ्ख्या आफै घट्थ्यो ।’ उनी दर्ता नगरेको, नवीकरण नभएको, लाइसेन्स नभएकालाई कडाइ गरेपछि व्यवस्थापन हुने बताउँछन् ।

धरान उपमहानगरका वरिष्ठ प्रशासकीय प्रमुख गणेशप्रसाद खतिवडाले नगरले सिटी सफारी दर्ता गरी सूचीकरण गर्ने कार्यविधिको तयारी गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘विगतमा स्थानीय सरकारलाई अधिकार थिएन । अहिले अधिकार आएको छ । कार्यपालिका बैठकमा राख्छौँ । कार्यपालिकाबाट कार्यविधि पास गरेपछि दर्ता प्रक्रिया सुरु हुन्छ ।’ उनी रुटको विषयमा पनि तयारी गरिरहेको बताउँछन् ।

उकालो–ओरालोमा जोखिम
ई–रिक्सा प्राविधिकरूपमा उकालो–ओरालोमा कुदाउन मिल्दैन । उकालो–ओरालोमा चलाउँदा दुर्घटनाको जोखिम बढ्ने ट्राफिक प्रहरी सुनसरी प्रमुख बस्नेत बताउँछन् । पुस २ गते धरान–३ मा सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । केही समयअघि जिरोपोइन्टमा दुर्घटना हुँदा यात्रु घाइते भएका थिए । प्रमुख बस्नेत भन्छन्, ‘धेरै दुर्घटना उकालो–आरालो सडकमा नै भएका छन् । धरान–३ को दुर्घटना पनि ओरालो बाटो भएकाले अनियन्त्रित हुँदा भएको देखिन्छ ।’

चालक कृष्ण राईका अनुसार उकालो–ओरालोमा दुर्घटना हुने सम्भावना धेरै रहेको बताउँछन् । अर्का चालक उद्धव राउत उकालो–ओरालो बाटोमा दुर्घटनाको अत्यधिक जोखिम हुने बताउँदै भन्छन्, ‘प्रायः उकालोमा म जान्नँ । कहिलेकाहीँ जानुपरेमा ‘हाई–वे’ आउँदिन । ओरालो आउन गाह्रो लाग्छ ।’

सङ्घका अध्यक्ष लीलाबहादुर प्रधान पनि उकालो–ओरालोमा ब्रेकले नथाम्दा दुर्घटना हुने गरेको र नगरले कार्यविधि बनाउँदा रुटका विषयमा पनि ध्यान दिनुपर्ने बताउँछन् ।

राजमार्गमा प्रवेश निषेध
सिटी सफारी मुख्य राजमार्गमा चलाउन पाइँदैन । तर, कोसी राजमार्गअन्तर्गत धरान सडक–खण्डमा सफारी कुदिरहेका हुन्छन् । त्यसलाई नियमन गरेको देखिँदैन ।

गत पुस १४ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्गमा हुने अवरोध हटाउन बनाएको  समितिको बैठकले सिटी सफारीलाई राजमार्ग प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकले सिटी सफारीलाई राजमार्गमा प्रवेश रोक लगाउने निर्णय गरेको थियो । बैठकको  निर्णयमा ‘मूल राजमार्गमा सडक दुर्घटना बढ्दै गएको कुरा सर्वविदितै छ । यसको न्यूनीकरणका लागि ढिलो (धिमा) गतिमा कुद्ने सवारी साधनहरू सिटी सफारी, रिक्सालगायत अन्य सवारी साधनहरू राजमार्गमा रोक लगाउने । यसको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवसायीहरूले आपसी समन्वयमा कार्य गर्ने गराउने’ निर्णय गरेको थियो ।

बैठकले जिल्लाभरका राजमार्ग अन्तर्गतका सडकमा रिक्सा र सिटी सफारीलाई प्रवेश गर्न रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय धरान उपमहानगरमा हालसम्म कार्यान्वयमा आएको छैन । राजमार्गमा सिटी सफारी कुदिरहेका छन् । सुनसरी ट्राफिक प्रहरी प्रमुख बस्नेत भन्छन्, ‘कार्यान्वय गरी पूर्ण निषेध गर्न सक्छौँ तर, त्यसो गर्दा मजदुरहरू आन्दोलित हुन्छन् । त्यसका लागि पहल गरिरहेका छौँ ।’ तीन चक्के सिटी सफारीलाई सञ्चालनको अनुमति दिँदा राजमार्गमा नकुदाउने गरी अनुमति दिइएको बस्नेत बताउँछन् ।

लाइसेन्सका लागि समस्या
धेरै सिटी सफारी चालकलाई लाइसेन्स लिनका लागि लिखित परीक्षामा समस्या हुने गरेको छ ।

धेरै चालकहरू ट्रायल पास गर्न सक्ने भए पनि लिखित परीक्षा उत्तीर्ण नगर्दा लाइसेन्स लिन समस्या भएको बताउँछन् । चालक उद्धव राउत सफारी चालक अनुमति पत्र निकाल्नका लागि लिखित परीक्षा बाधक बन्दै आएको बताउँछन् । उनी भन्छन्, ‘लेखाइ पढाइ छैन । लिखित परीक्षा पास गरिँदैन । ट्रायलमा समस्या छैन । लेखपढ नै नभएपछि लाइसेन्सको लिखित परीक्षा कसरी दिनु ?’

उनीजस्तै धेरै सफारी चालकले लिखित परीक्षाका कारणले सफारीको लाइसेन्स लिन सकिरहेका छैनन् । राउत भन्छन्, ‘लाइसेन्सका कारण सफारी नै नचलाऔँ भन्ने सोचमा पुगेँ । तर, कसरी गरिखाने ?’ यातायात कार्यालय इटहरीका प्रमुख पाक्रम खाँ सफारी चालकहरूलाई लिखित परीक्षाले अनुमति–पत्र लिन समस्या हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘लेखपढ नभएकाले सामान्य व्यक्तिहरू पनि सफारी चलाउँछन् । लिखित परीक्षा समस्याको रूपमा उठ्ने गरेको छ ।’