भद्रपुर । झापाको मेचीनगरस्थित धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रबद्र्धधन समितिले एकवर्षमा एक करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको छ । 

समितिको आर्थिक वर्ष २०७८÷७९ को स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन अनुसार   एक करोड ३३ लाख ४५ हजार ३ सय ९३ रूपैयाँको कारोबार गरेको छ । आजीवन सदस्य, पुजीँगत सहयोग अनुदान, सहयोग प्राप्त, दानपेटीकाबाट, जिन्सी सामाग्री बिक्री , टीका भेटी, गरगहना लगायतका स्रोतबाट समितिले आर्थिक कारोवार गरेको समितिका कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिए । समितिमा हुने खर्च घटाएर  बैंङ्क मौज्दात ४८ लाख ८० हजार ८ सय ८ तथा नगद मौज्दात ७६ हजार ८ सय १८ गरि कुल ४९ लाख २७ हजार ६ सय २६ रूपैयाँ रहेको समितिका सहसचिव अर्जुनकुमार थेवेले जानकारी दिए ।

हरेक साताको शनिबार र मङ्गलबार श्री पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन क्षेत्रमा पूजापाठ र पाथीभराको दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने समितिका अध्यक्ष तीलकप्रसाद गिरीको भनाई छ । झापा जिल्लाभित्र धार्मिक आस्था र संस्कृतिको धरोहरको रूपमा चिनिएका पुरातात्विक महत्वका स्थलहरू धेरै रहेका र तीमध्ये काँकडभिट्टादेखि १२ किलोमिटर पश्चिम र बिर्तामोडदेखि ६ किलोमिटर पूर्वमा रहेको मेचीनगर चारआलीको आफ्नै महत्व रहेको अध्यक्ष गिरीको भनाई छ । नेपाल बहुभाषिक ,बहुधार्मिक एवम् बहुसाँस्कृतिक विविधताले भरिपुर्ण देश नेपालमा विभिन्न धार्मिक आस्था र संस्कृतिको धरोहरका रूपमा विभिन्न धार्मिक तिर्थस्थल एवम् पर्यटकीय क्षेत्रहरू रहेको उनको भनाई छ । यहाँ हजारौँको सङ्ख्यामा आन्तरिक एवम् वाह्य पर्यटकहरूलाई आकर्षण गर्दैँ आईरहेको र पाथीभरा नामसँग जोडिएका धार्मिक स्थल पर्यटनकोलागि एउटा गतिलो गन्तव्य बन्न सकेको समितिको दावी छ । दुर्लभ वटवृक्ष आकर्षक एवम् विभिन्न देवीदेवताका आकृति नवद्वारले भरिपुर्ण हेर्दै देवीदेवताको बास रहेको अनुभूति हुन्छ । त्यस अनौठो वृक्षलाई समाजका अगुवा धार्मिक व्यक्तित्व, गुरु, पुरोहित, साधु, सन्त एवम् समाजका लब्ध प्रतिष्ठित व्यक्ति, १००८ श्री जगत गुरु बालसन्त मोहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज,  व्यासाचार्य धर्मगुरू श्री किशोर गौतम , पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वमन्त्री महेश आचार्य, श्री शङ्कर भण्डारी , साहित्यकार , समालोचक मोदनाथ प्रश्रित, सांसदहरू,  नेतागण, जगन्नाथ पुरी पिठाधिस अनन्त विभुषित जगतगुरू शङ्कराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती जि महाराजको २०७९ वैशाख ८ गतेका दिन धाममा आगमनलगायत विभिन्न समयमा गरि हजारौँ दर्शनार्थीहरूको उपस्थित भईसकेको यो स्थान शक्तिपीठको केन्द्र भएको छ र सबै भक्तहरूको अवलोकनबाट वृक्षमा अलौकिक दैवीशक्ति रहेको बताईएको छ ।

विभिन्न धर्मग्रन्थमध्ये पुराणहरूमा वर्णन भए अनुसार देवीको दोस्रो पाउ मैदानी भागमा पर्न गएको उल्लेख छ । बृक्षमा देवीको नौद्वार एवम् पाउको आकृति पनि स्पष्ट देखिने भएको हुँदा यसक्षेत्रलाई पाउ पाथीभराकारूपमा लिनुपर्ने धार्मिक भए अनुसार यस पाउ पाथीभरा मन्दिरमा परिणत भएको छ । यसक्षेत्रमा रहेको फुलबासा नदी करीब १ सय मिटर उत्तरमा बगेको छ । धर्मग्रन्थ अनुसार उत्तरवाहिनी नदीको महत्व रहेको व्यख्या गरिएको छ । यस्तो संरक्षणको लागि कदम उठाउनु आवश्यक ठानेर सामाजिक, साँस्कृतिक , धार्मिक र वातावरणीय सम्पदाको पहिचान र संरक्षण गर्न सम्बन्धित नगरपालिकासँग माग गरिएको छ ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेती श्री पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटकीय क्षेत्रका कारण मेचीनगर नगरपालिकाको पहिचान झन ठुलो रहेको र यसैका कारण मेचीनगरको नाम सबैतिर चर्चित रहेको बताउँछन् । यसको संरक्षण र विकाशकालागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्ने उनीहरुले बताए ।