विजयपुर । धरान उपमहानगरपालिकामा पछिल्लो समय आपराधिक घटनाको सङ्ख्या बढ्दो अवस्थामा देखिएको छ । यस्ता घटना बढ्नुमा लागूऔषध नै प्रमुख कारणका रूपमा देखिएको प्रहरीको आँकलन छ ।

केही समयता धरानमा धारिलो हतियार प्रहारदेखि गोली हानिएका घटनासम्म छन् । प्रहरीको अध्ययनमा प्रायः लागूऔषध प्रयोग गरेपछि उत्तेजित भएर यस्ता घटना भएका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार भदौ १ गते धरान–५ शीतल बस्तीमा धरान–७ का १८ वर्षीय नरेश राईमाथि धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भए । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपश्चात् थप उपचारका लागि विराटनगर लगिएको छ ।

राईको दाहिने खुट्टामा गम्भीर चोट लागेपछि खुट्टा काट्नु परेको थियो । भदौ २ गते धरान–११ मङ्गलबारेका राजन कन्दङ्वा लिम्बूलाई सामूहिक रूपमा धारिलो हतियार प्रहार भयो । धारिलो हतियार प्रहार तथा सामूहिक कुटपिटबाट गम्भीर घाइते लिम्बूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भयो ।

भदौ २८ गते धरान–२० टोड्केस्थित हाइटेन्सन टावरनजिकै घर भएकी वृद्धा पूर्णिमाया राईको हत्या भयो । असार ३० गते धरान–२० विष्णुपादुका जाने बाटोमा गोलीसमेत चलेको थियो । गोली लागेर मोटरसाइकलको ट्याङ्की फुटेको थियो । गोली कसले चलायो भन्ने हालसम्म पत्ता लागेको छैन ।

यी घटनालाई हेर्दा धरानमा शृङ्खालाबद्ध रूपमा आपराधिक घटना भइरहेका छन् । यस्ता घटनाले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको छ । पछिल्लो समय धरानमा भएका यी आपराधिक घटनामा लागूऔषध जोडिएको छ । घटनामा संलग्नहरू अधिकांशले प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार प्रतिबन्धित औषधि सेवनका कारण आपराधिक घटना भएका छन् । ‘पछिल्लो समय जति पनि घटना भएका छन्, ती सबै प्रतिबन्धित औषधि प्रयोग गर्नेबाट भएका छन्’ उनले भने, ‘प्रतिबन्धित औषधिबाहेक अन्य कारण नै देखिँदैन ।’

डीएसपी श्रेष्ठले धरान–११ मा ज्यान जाने गरी भएको घटना, धरान–१३, धरान–२० टोड्के घटना सबैमा प्रतिबन्धित औषधि जोडिएको बताए । उनले भने, ‘औषधि प्रयोग गरेपछि उत्तेजित हुन्छन् । अनि घटना हुन्छ ।’ प्रतिबन्धित औषधि चिकित्सकको प्रेस्क्रिप्सनमा मात्रै बिक्री गर्न पाइन्छ । तर, त्यस्ता औषधि पसलमा चिकित्सकको प्रेस्क्रिप्सन विनै किनबेच हुने गरेको छ । त्यसको दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेका छन् ।

डीएसपी श्रेष्ठका अनुसार प्रतिबन्धित औषधि जोगवनीलगायतका भारतीय बजारबाट भित्रिने गरेको छ । ‘प्रतिबन्धित औशषधि गाडी र मोटरसाइकलमा ल्याउने गरेको अनुसन्धानले देखाएको छ’ उनले भने, ‘घटनामा संलग्नहरूले जोगवनीबाट नै ल्याउने गरेको बताउँछन् ।’ उनीहरूले १ सय रुपैयाँमा ल्याएको त्यस्तो औषधि यहाँ ५ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको उनले बताए । सीमाक्षेत्रका ठाउँ–ठाउँमा सुुरक्षाकर्मीले चेकजाँच गरिरहेका हुन्छन् । तर, पनि यस्ता औषधि भित्रिने क्रम रोकिएको छैन बरु झनै बढिरहेको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीनराज राईले झापा, मोरङ र सुनसरीका सीमाक्षेत्रमा करिब २ सय ६० किलोमिटर खुल्ला रहेको बताए । उनले सबै ठाउँमा सुरक्षाकर्मी राख्न सम्भव नरहेको बताए । उनले भने, ‘बोर्डर पारि वास्ता नगर्नाले उतै सेवन गरेर पनि आउने गरेको पाइन्छ ।’

चालु आर्थिक वर्ष (साउन १ देखि हालसम्म ६८ दिन) मा धरानमा १ सय ३७ आपराधिक घटनाका मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जसमा अभद्र व्यवहारमा ५१ वटा, झुण्डिएको अवस्थामा मृत फेला परेका १० वटा, ज्यान मार्ने उद्योगमा ८ वटा, कर्तव्य ज्यानका ३ वटा, चोरीका १२ वटा, लागूऔषधका १२ वटा, बहुविवाहका २ वटा, सार्वजनिक शान्ति विरुद्धको कसुर १ वटा, जबरजस्ती करणीको ६ वटा, डाँकाचोरीको १ वटा र व्यक्ति बेपत्ता पारेको १ वटा, सवारी ज्यानका २ वटा, ठगीका ३ वटा, बैङ्किङ कसुरका २३ वटा, जुवाको १ वटा र आफ्नै घाँटी रेटेको १ वटा मुद्दा दर्ता भएका छन् । यस तथ्याङ्कअनुसार धरानमा दैनिक २ वटा आपराधिक घटना हुने गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानमा आर्थिक वर्ष २०७६/०७७ मा कुल ४ सय ८२ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ७८ दर्ता भएकोमा गत आर्थिक वर्षमा ५ सय ११ वटा मुद्दा दर्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय धरानको त्रिवर्षीय तथ्याङ्कलाई केलाउँदा धरानमा बर्सेनि आपराधिक घटना वृद्धि हुँदै आएको देखिन्छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २ वटा कर्तव्य ज्यानका मुद्दा भएकोमा आर्थिक वर्ष २०७८/०७८ मा दोब्बर बढी ४ वटा भए । गत आर्थिक वर्षमा कर्तव्य ज्यानका अघिल्लो वर्षभन्दा दोब्बर ८ वटा मुद्दा रहेका छन् ।

त्यस्तै ज्यान मार्ने उद्योगमा आर्थिक वर्ष २०७६/०७७ मा १७ वटा घटना भएकोमा २०७७÷०७८ मा २३ वटा घटना भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षमा भने अझ वृद्धि भई ४२ वटा कर्तव्य ज्यानका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा २०–२० वटा जबरजस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्षमा ९ वटा मात्रै भएका छन् ।

जबरजस्ती करणी उद्योगका घटना भने बढेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा ४–४ वटा घटना भएकोमा गत आर्थिक वर्षमा ७ वटा घटना भएको तथ्याङ्कले देखाएको छ । डाँका गर्ने घटनामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ३,  ०७७/७८ मा २ र गत आ.व. मा ४ वटा डाँकाका घटना दर्ता भएका छन् । 

धरानमा चोरीको दर पनि वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा क्रमशः २६ र ३७ वटा चोरीका घटना भएकोमा गत आर्थिक वर्षमा ५० वटा घटना भएका छन् । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार बर्सेनि धरानमा आपराधिक घटना वृद्धि भएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा कुल ४ सय ८२ वटा आपराधिक घटना भएकामा आ.व. २०७७/०७८ मा ३ सय ७८ वटा भएका थिए । गत आर्थिक वर्षमा ५ सय ११ वटा आपराधिक घटना भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।