करिब एक सय २५ वर्षे नेपाली पत्रकारितामा राजधानीले जति योगदान दिएको छ, त्यति नै योगदान मोफसलका पत्रपत्रिकाहरूले पनि दिएको छ । तर, मोफसल जहिल्यै ओझेलमा पर्दै आएको छ । यसका बावजुद पनि मोफसलका पत्रपत्रिकाहरूले नेपाली मिडियालाई मात्रै हैन, मोफसलको आवाजहरूलाई बुलन्द बनाउनका लागि भूमिका खेलेका छन् । मोफसलका मिडियाहरूले स्थानीय विचार उत्पादन गर्नदेखि लिएर त्यो विचारलाई केन्द्रसम्म पुर्याउनसम्म भूमिका खेलेको छ । अझ आजको वैश्वीकरणका कारण त मोफसलका मिडियाका आवाज विश्वभरि फैलिँदै गएको छ । यो एकदमै सकारात्मक पाटो हो । नेपाली मिडियामा मोफसलको योगदानको खासै चर्चा भएको पाइँदैन ।
पूर्वी क्षेत्रमा आफ्नो पहिचान बनाएको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकको जति चर्चा हुनुपर्ने हो त्योअनुसार हुन सकेको देखिँदैन । नेपाली पत्रकारिताको १ सय २५ वर्षे इतिहासमा ब्लाष्ट टाइम्सले पनि अहम् भूमिका खेलेको छ । आज ३१ औँ वर्षमा प्रवेश गरिरहँदा स्थानीय मुद्दालाई राष्ट्रियकरण गर्नेदेखि लिएर वैश्वीकरण गर्नमा पनि भूमिका खेलेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्थापना गर्नका लागि ‘बुलेटिन’ को रूपमा उदाएको ब्लाष्टले छोटो समयमा धराने जनतासँगै तत्कालीन पूर्वाञ्चलवासीको मन जित्न सफल भयो । जसका कारणले ब्लाष्ट बुलेटिनबाट दैनिकमा परिणत भयो । ब्लाष्टलाई आजको अवस्थामा ल्याउनका लागि प्रधानसम्पादक राजकुमार कार्की, आनन्द श्रेष्ठ, गोपाल देवानलगायतको महŒवपूर्ण योगदान रह्यो ।
बीपी प्रतिष्ठानलाई स्थापना मात्रै गराएन, मृत रहेको धरानलाई जुरुक्कै उठाउनका लागि ब्लाष्टले भूमिका खेल्यो । २०५२ साल असोज २ गते आजकै दिन ब्लाष्ट पत्रिकाको प्रकाशन सुरु हुँदा ‘लेटर प्रेस’ बाट पत्रिका छापिन सुरु गरेको थियो । मास्ट हेड नै रङ्गीन रहेको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकले धरानको आवाजहरूलाई मात्रै नभई पूर्वाञ्चलको आवाजलाई स्थायित्व प्रदान गर्ने काम ग¥यो । फलतः आजको अवस्थामा ब्लाष्ट आइपुगेको छ । स्थानीय आवाजहरूलाई एकीकृत गर्नेदेखि लिएर निष्पक्ष, निर्भीक र पारदर्शी रूपमा प्रस्तुत गर्न सफल भयो । ‘लेटर प्रेस’ बाट स्तरोन्नति हुँदै २०५५ सालदेखि ‘अफसेट प्रेस’ मा प्रवेश ग¥यो । तत्कालीन समयमा लेटर प्रेसभन्दा अफसेट प्रेस केही उन्नत भए पनि आजको जस्तो अवस्थामा आइपुगेको थिएन । पत्रकारितामा एउटा उचाइ प्राप्त गरेकै कारणले व्यावसायिक पत्रकारिताको जग पनि ब्लाष्ट टाइम्सबाटै सुरु भयो । तत्कालीन समयमा अन्य पत्रपत्रिकाहरूले तलब दिन नसकेको अवस्थामा थोरै भए पनि ब्लाष्टले पत्रकारहरूलाई तलब दिएर व्यवसायिक पत्रकारिताको जग हाल्ने काम गरेको थियो ।
ब्लाष्टले स्थानीय आवाजलाई मात्रै एकीकृत गरेन । व्यावसायिक पत्रकार जन्माउन पनि भूमिका खेल्यो । यस्तै बिट पत्रकारिताको प्रारम्भ पनि ब्लाष्टले गर्न सफल भयो । मोफसलमा बिट पत्रकारिता सायदै हुन्थ्यो । त्यसको जग पनि ब्लाष्टले कोर्न सफल भयो । भलै त्यसलाई संस्थागत गर्न भने सकेन । ब्लाष्टकै कारण धरानमा धेरै पत्रपत्रिकाहरू खुल्ने क्रम तीव्र भयो भने बन्द हुने क्रम पनि तीव्र नै थियो । पूर्वाञ्चलमा झापापश्चात् सुनसरीबाटै पहिलो पत्रिका प्रकासन भएको थियो । यस हिसाबले पत्रकारिताको उर्वर भूमिको रूपमा धरानलाई लिने गरिन्छ । यहाँको पत्रकारिताको छवि पनि अन्य क्षेत्रको तुलनामा धेरै उच्च छ । व्यावसायिक पत्रकारिताको जग हालेको ब्लाष्ट पूर्वाञ्चलवासीको मनमनमा बस्न सफल भएको थियो र छ । पत्रकारिताको सैद्धान्तिक रूप ‘ए, बी र सी’ मा कहिल्यै ‘सम्झौता’ नगरेको ब्लाष्ट आज यहाँहरूमाझ ३१ औँ वर्षमा प्रवेश गर्न सफल भएको छ । गर्भबाट शिशु, किशोर, युवा हुँदै आज बयस्क अवस्थामा आइपुगेको छ । यो अवस्थामा आइपुग्नुमा सबैभन्दा ठूलो योगदान पाठक, विज्ञापनदाताहरूको छ । जसले ब्लाष्टलाई विश्वास गरिरहेका छन् ।
पाठक अभावबाट गुज्रिनुपर्ने अवस्थाबाट उदाएको ब्लाष्टले पाठक जन्माउनका लागि पनि भूमिका खेल्यो । चियाको चुस्कीसँगै ब्लाष्ट पढ्ने बानी लाग्न थाल्यो । यही कारण अन्य पत्रपत्रिकाको लत मानिसमा बस्यो । मोफसलमा यो लत बसाउनको कामको श्रेय ब्लाष्टलाई नै जान्छ । यस्तै विज्ञापन दिनुपर्छ भन्ने मान्यता नभएको अवस्थालाई पनि ब्लाष्टले चिर्न सफल भयो । विज्ञापन पनि दिनुपर्छ र ? भन्ने परम्परागत धारणालाई भत्काएकै कारण ब्लाष्ट आज तपाईंहरूसामु उभिन सफल भएको छ । ब्लाष्टको ३१ वर्षको दौरानमा धेरै उपलब्धिहरू भएका छन् । अर्कोतर्फ मोफसलमा ब्रोडसिट पत्रिकाको रूपमा आफूलाई निरन्तर २०६५ सालयता उभ्याउन सफल भएको छ । सायदै अन्य पत्रपत्रिकाहरूले यति लामो फड्को मारेका छन् । लेटर प्रेसबाट सुरु भएको ब्लाष्ट अफसेट हुँदै वेब मेसिनमा पुगेको छ । वेब मेसिनको पनि उन्नत रूपमा आइपुगेको छ । आज संसारमा पत्रपत्रिकाहरू के हुने ? भन्ने प्रश्न तेर्सिरहेको बेला ब्लाष्ट निरन्तर रूपमा अगाडि बढ्नु आफैमा चुनौतीपूर्ण हो । तर पाठकप्रतिको जनविश्वास र जनमतकै कारण नै ब्लाष्ट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।
ब्लाष्टले अनेकन् आरोहअवरोहहरू पार गरिरहँदा केही उपलब्धिहरूलाई संस्थागत गर्न सकेको छ । आजको सूचना प्रविधिको युगसापेक्ष ब्लाष्ट परिवर्तन भइरहेको छ । यो परिवर्तनमा पनि पूर्वमा सबैभन्दा सुरुमा अनलाइन सुरु गर्ने पत्रिकाको रूपमा पनि ब्लाष्ट नै अग्रपङ्क्तिमा आउँछ । २०६३ सालदेखि ब्लाष्टले ब्लाष्ट डट धरान अनलाइन डट कम डट एनपी सुरु ग¥यो । यसले देशविदेशमा रहने पाठकहरूलाई खुराक दिन सफल भयो । यसकारण पनि ब्लाष्ट अन्य मिडियाको तुलनामा स्थापित बन्न पुग्यो । केही समय माथिको नामबाट सञ्चालनमा आएको ब्लाष्ट अन्ततः ब्लाष्ट डट कम डट एनपी नामबाट २०६५ सालदेखि सुरु भएको थियो भने २०७० पश्चात् चाहिँ ब्लाष्टखबर डटकमबाट सञ्चालन हुँदै आएको छ । जुन आजपर्यन्त चलिरहेको छ ।
यसरी स्थानीय समाचारहरूलाई वैश्वीकरण गर्न पनि ब्लाष्टले अहम्् भूमिका खेलेको देखिन्छ । आज एआईको युगमा प्रवेश गरिसक्दा पनि एआईलाई पूर्वमा छापा माध्यममा प्रयोग गर्ने पहिलो पत्रिकाको रूपमा पनि रहन गयो । ब्लाष्टले मिडियाका अनेकन् आयामलाई आत्मसात गर्दै अगाडि बढिरहेको छ । ब्लाष्टले युट्युबमार्फत् समाचारहरू पनि प्रसारण गर्दै आएको थियो । जसमा एआईबाट समाचार वाचकको रूपमा प्रयोग पनि गरेको थियो । यस आधारमा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (बौद्धिक सुझबुझ) लाई पनि प्रयोग गर्ने मोफसलको पहिलो पत्रिकाको रूपमा चित्रण गर्न सकिन्छ । यस्ता अनेक सत्कार्यहरूमा ब्लाष्टले कुनै न कुनै योगदान र भूमिका खेलेको अवस्था छ ।
पाठकलाई समाचार पढाउने बानीको विकासदेखि विज्ञापन दिने चलन, समाचारलाई वैश्वीकरण गर्नेदेखि एआईसम्मको प्रयोग हेर्दा ब्लाष्ट मोफसलको मात्रै हैन यो देशकै एउटा सशक्त मिडियाको रूपमा चित्रण गर्न सकिन्छ । तर, काठमाडौँ केन्द्रित सोचका कारणले पनि मोफसलका मिडियाहरूप्रति हेर्ने नजर एकदमै गलत छ । रहस्यात्मक छ । कुनै पनि राष्ट्रिय मिडियाहरू मोफसलमा स्थापित भएका छन् भने ती मोफसलका मिडियाका कारणले स्थापित छन् । किनकि मोफसलका स–साना मिडियाहरूले पठन संस्कृतिलाई बढाए । विज्ञापन दिनुपर्छ भन्ने धारणाको विकास गरे । विज्ञापनदाताहरूलाई अभ्यस्त गराए । यसकारण केन्द्रमा स्थापित मिडियाहरूले ससाना मिडियाहरूले गरेको योगदानको प्रतिफल खाँदै बसेको जगजाहेर छ । यदि मोफसलमा स–साना लगानीका मिडिया हुँदैनथे भने राष्ट्रिय मिडियाहरू मोफसलमा स्थापित हुने थिएनन् ।
यसकारण ब्लाष्टसहित अन्य स–साना मिडियाहरूको योगदानलाई नजरअन्दाज गर्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । केन्द्रीय सोच र मान्यतालाई परिवर्तन नगर्ने हो भने हाम्रो पत्रकारिता अपूरो र अधुरो हुनेछ । १ सय २५ वर्षे पत्रकारिताको इतिहासमा ३१ वर्षलाई छाड्ने हो भने पत्रकारिता अपाङ्ग हुनेछ । निष्कर्षमा नेपाली पत्रकारितामा ब्लाष्टले पुर्याएको योगदानलाई यस प्रकार बुँदामा व्याख्या गर्न सकिन्छः
–पठन संस्कृतिको स्थापना
–व्यावसायिक पत्रकारिताको सुरुवात
–विज्ञापन दिनुपर्छ भन्ने मान्यताको विकास
–स्थानीय मुद्दालाई एकीकृत गरी वैश्वीकरण
–वेब मेसिन राखेर मिडिया चलाउन सकिन्छ भन्ने धारणाको विकास
–मोफसलबाटै ब्रोडसिट पत्रिकाको सुरुवात
–बिट पत्रकारिताको सुरुवात
–सूचना प्रविधिको विकाससँगै एआईको प्रयोग
–युट्युबमा एआईद्वारा निर्मित समाचार वाचकको प्रयोग