तीस वर्ष लामो यात्रापछि आज हामी एकतिसौं वर्ष प्रवेशको अवसरमा छौं । यो अवसरमा हामी सबैलाई एउटा प्रश्नले झक्झकाइरहेको हुनुपर्छ, त्यो के हो भने डिजिटल क्रान्तिको युगमा पनि किन पत्रिकाहरु अझै जीवित छन् ? यसको जवाफ सरल छ, पत्रिका केवल समाचारको साधन मात्र होइन, समाजको विश्वासिलो साथी र राष्ट्रिय स्मृतिको धरोहर हो ।
पत्रिकाको महत्व केवल कागजमा छापिएको अक्षरमा मात्रै सीमित छैन । पत्रिकाले तथ्यलाई छानबिन गर्छ, सत्यलाई प्रमाणित गर्छ र पाठकमा विश्वास जगाउने काम गरिरहेको हुन्छ । सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्ममा सूचनाको बाढी भए पनि त्यहाँ सत्यता जाँच्ने अभ्यास कमजोर हुन्छ । ‘ब्रेकिङ’ का नाममा आउने असन्तुलित, एकतर्फी, अतिरञ्जित, प्रतिशोधात्मक डिजिटल सूचनाहरु (जसलाई समाचार भन्न सकिँदैन) ले समाचार कम भ्रम पनि उत्तिकै छरिरहेको देख्न पाइन्छ । तर पत्रिकाले प्रमाणित सूचनासहित जिम्मेवार ढङ्गले समाजलाई मार्गदर्शन गरिरहेको हुन्छ । त्यसैकारण आदरणीय पाठकवृन्दहरुको अपार मायाले ब्लाष्ट टाइम्स दैनिक आज पर्यन्त टिकिरहेको छ, आजपर्यन्त पूर्वको अग्रणी भएर बाँचिरहेको छ ।
तीस वर्षको निरन्तरताले प्रमाणित गरेको छ कि पत्रिका केवल विगतको प्रतीक होइन, भविष्यको सम्भावना पनि हो । यसले नागरिकलाई सजग बनाउँछ, सशक्त बनाउँछ र लोकतान्त्रिक मूल्यलाई मजबुत पार्छ । हाम्रो देशको राजनीतिक सङ्क्रमणदेखि सामाजिक, राजनीतिक परिवर्तन र जनजीवनका मुद्दा उजागर गर्ने काममा पत्रिकाको योगदान अमूल्य रहँदै आएको कुरा कसैबाट लुकेको छैन ।
पत्रिकाले ल्याउने विश्वसनीय सूचना, आलोचनात्मक दृष्टि र सामाजिक उत्तरदायित्व नै यसको जीवनशक्ति हो । यही जीवनशक्तिले हामीलाई तीस वर्षअघि सुरु गरिएको यात्रामा निरन्तर अगाडि बढ्न प्रेरित गरिरहेको छ ।
हामीलाई साथ दिनुहुने सबै पाठकवृन्द, विज्ञापनदाता, पत्रकार र शुभेच्छुक अनि ब्लाष्ट टाइम्सका सम्पूर्ण सहकर्मी साथीहरुलाई यस अवसरमा हार्दिक आभार व्यक्त गर्दछौं । तपाईंहरुको विश्वास र माया नै हाम्रो अस्तित्वको आधार हो । समाजलाई सत्य, विश्वास र जिम्मेवार पत्रकारिताको खाँचो अहिलेको सङ्क्रमणकालीन अवस्थामा र आउने दिनहरुमा उत्तिकै छ । ब्लाष्ट टाइम्सलाई खोजी खोजी पढिदिनु भयो भने हामी उत्साहित हुनेछौं, यसको गुणस्तरलाई सुधार गर्दै लैजाने अवसर मिल्नेछ । हामी जहिले मुलुक र जनताको साथमा हुनेछौं । जनताको आवश्यकताको सिद्धान्तलाई शिरोधार्य गर्दै अघि बढिरहने प्रण गर्दछौं ।
पूर्व क्षितिज प्रकाशन प्रा. लि. एवम्
ब्लाष्ट टाइम्स परिवार