‘इन्डिपिडेन्ट युथ अर्गनाइजेसन’ को पहलमा ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई स्थापित गर्न बुलेटिनको रुपमा सुरूवात भएको ब्लाष्ट आज नेपालको पत्रकारितामा एउटा इतिहास बनेर उभिएको छ । जुन बेला पत्रपत्रिका पढ्ने बानीको विकास भएको थिएन । पत्रपत्रिकाप्रति आमनागरिकहरुको झुकाव थिएन, त्यो बेला ब्लाष्ट दैनिकले पाठकलाई पढ्ने मात्रै बानीको विकास गरेन, उनीहरुमा दमित चेतनालाई भर्ने काम पनि ग¥यो । २०५२ साल असोज २ अर्थात् आजकै दिनदेखि सुरू हुँदा अनेकन् समस्या र चुनौतीका चाङहरुबीचबाट गुज्रिएका थियौँ । तर एउटा आशाको दियो भने जीवित थियो । त्यही दियो नै ब्लाष्ट दैनिकको लागि मार्गदर्शन बन्यो र यहाँसम्म आइपुग्यो । बुलेटिन हुँदा गर्भावस्थामा रहेको ब्लाष्टले बीपी प्रतिष्ठानलाई धरानमै स्थापित गरेपछि सबैको पत्रिकाप्रतिको विश्वास ह्वात्तै बढ्यो । त्यही मागलाई बुझेर नै राजकुमार कार्कीको प्रधानसम्पादकत्वमा ब्लाष्ट दैनिक सुरूवात भयो ।  

३१ औँ वर्षमा प्रवेश गरिरहँदा अनेकन् हण्डर र ठक्करहरु खाँदै आजको अवस्थामा आइपुगेको छ । लेटर प्रेसबाट सुरू भएको ब्लाष्ट २०५५ सालदेखि अफसेट प्रेसमा प्रवेश गर्दा कम सकस थिएन । लेटर प्रेसको आफ्नै खालका समस्याहरु थिए । अफसेट प्रेसमा जाँदा पनि अनेकन् समस्याहरु थिए । तर ती समस्याहरुलाई पन्छाउँदै अफसेट प्रेसबाट २०६५ सालदेखि ब्रोडसिटमा प्रवेश ग¥यो । एउटाबाट अर्कोमा फड्को मारिरहँदा मिडियामा पनि परिवर्तनहरु देखा परिसकेका थिए । छापा मिडियाबाट प्रसारण मिडियाको बोलवाला बढ्दै गइरहेको थियो । कतिपयले प्रसारण माध्यमले छापा माध्यमलाई विस्थापित गर्छ भन्ने अड्कलबाजीहरु चले । तर कालान्तरमा ती अड्कालबाजीहरु प्रमाणित हुन सकेनन् बरु प्रसारण माध्यमअन्तर्गतको रेडियोको अवस्था थप जटिल बन्न पुगेको छ । यसबीचमा वीरेन्द्रको वंशनाश, ज्ञानेन्द्रको प्रत्यक्ष शासन र पत्रकारितामाथिको दमनलाई ब्लाष्टलाई चिर्दै अगाडि बढ्यो । 

राजशाहीको दमनबाट पनि पार पाउँदै २०६२÷०६३ को मधेश आन्दोलन जस्ता कठोर आन्दोलनहरुको सामना गर्दै ब्लाष्ट आज यहाँ आइपुगेको छ । बामे सर्दै वयस्क अवस्थामा आइपुगेको छ । तर, यी बीचमा कोरोना जस्ता महामारीले छापामाध्यमहरुलाई सिङ्गै निल्ने प्रयास नभएको होइन । त्यसमा पनि डटेरै ब्लाष्ट अगाडि बढ्यो र आजको अवस्था पाइला टेकेको छ । फेरि पनि हामीसामु अनेकन् खालका चुनौतीहरुका बीचमा गुज्रिँदै अगाडि बढ्नुपर्ने बाध्यता छ । सामाजिक सञ्जालहरुको बिगबिगी र पहुँचका कारण पनि परम्परागत मिडियाहरु समस्यामा छन् । न्यू मिडियाको पहुँचकै कारणले पनि छापा मिडियाहरु पूर्णतः ध्वस्त भएर जाने त होइनन् भन्ने प्रश्न पनि अगाडि उभिएको छ । तर  पनि हामी अझै हच्किएका छैनौँ । यस्ता चुनौतीहरुसँग सामना गरेरै अगाडि बढ्ने आँट र हिम्मत हामीसँग छ । त्यो हिम्मतमा नागरिकहरु हाम्रा अमूल्य निधि हुन् । पाठकहरु हाम्रा सम्पूर्ण धरोहर हुन् । उनीहरुको माया, ममता र प्रेमकै कारण आज ब्लाष्ट यो अवस्थामा आइपुगेको हो । त्यसकारण ब्लाष्टले जनतालाई नै सार्वभौम मान्दछ ।

सार्वभौम जनताभन्दा माथि केही पनि हुँदैन । त्यसकारण ब्लाष्ट लोकतन्त्रमा विश्वास गर्दछ । लोकतन्त्रमा प्रेसको भूमिका अहम् हुन्छ । स्वतन्त्र प्रेस भए मात्रै लोकतन्त्र थप समृद्ध हुन्छ भन्नेमा हामी विश्वस्त छौँ । यही बीचमा जेन जीहरुले जुन माग राखेर आन्दोलन गरे र नयाँ कोर्षमा प्रवेश गराए । जडवत् रुपमा रहेको भ्रष्टाचारको समूल अन्त्य ब्लाष्टको पनि चाहना हो । प्रेसले सधैँ लुकेको र लुकाइएको विषयलाई बाहिर ल्याउँछ । त्यो काम ब्लाष्टले स्थापना कालदेखि आजसम्म गर्दै आएको छ । जेन जीको आन्दोलनले भ्रष्टाचारको अन्त्य गर्ने बाटो त खोलेको छ तर यसलाई संस्थागत गर्नका लागि जेन जीहरु सदैव सचेत हुनुपर्छ । आवाजलाई संस्थागत गर्न सरकारलाई झक्झक्याइरहनु पर्छ । जेन जीको आवाजमा हामी सदैव सतीसाल झैँ उभिनेछौँ भन्ने प्रतिबद्धता दिलाउन चाहन्छौँ । लोकतन्त्रको पहरेदार पत्रकारिता हो । सत्य, तथ्य र निर्भीक पत्रकारितामा ब्लाष्ट सदैव उभिँदै आएको छ । हाम्रो नारा नै ‘सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी’ रहेको छ । यो नारामा हामी कहीँकतै पनि झुक्ने छैनौँ । सदैव नागरिकको आवाज र आवाजविहीनको आवाजमा साथ दिँदै अगाडि बढ्ने प्रण गर्दछौँ ।