धरान । जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजङ्घामा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनाविरुद्ध किटानी जाहेरी परेको छ । 

होटल सञ्चालकसमेत रहेका पूर्व नगर प्रमुख मेन्याङ्बोले आफूले होटलको तर्फबाट क्षति भएको विवरण सङ्कलन गरी तोडफोड र लुटपाटमा संलग्न ११ जनाविरुद्ध उजुरी दिएको बताए । उनका अनुसार प्राप्त श्रव्य–दृश्य सामग्री, सामाजिक सञ्जालमा प्राप्त तस्बिरहरू सङ्कलन गरी उजुरी दिएको हो । “होटलको तर्फबाट क्षतिको विवरणसहित आरोपीहरूको तस्बिर र भिडियो सामग्रीसहित किटानी जाहेरी दिएको छु” उनले फोनसम्पर्कमा भने, “११ जनाविरुद्ध किटानी जाहेरी दिएको छु ।”

उनले लुटपाट र तोडफोडमा संलग्नमध्ये दुई जना १९–२० वर्षका युवाहरू आएर माफी मागेको र उनीहरूले दिएको नामको आधारमा उनीहरूसहित प्रहरीलाई उजुरी दिएको बताए । उनको होटलमा ५३ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूका अनुसार किटानी जाहेरी आएको छ । “१० जनाविरुद्ध किटानी जाहेरी आएको छ । पछि थपिँदै जान सक्छन्” उनले भने, “उनीहरूविरुद्ध आगजनी, तोडफोड र डकैतीमा मुद्दा अगाडि बढ्न सक्छ । माथिबाट छानबिन समितिको कुरा के आउँछ । त्योअनुसार अगाडि बढ्छ ।”

जेन जी आन्दोलनको नाममा भदौ २४ गते धरानका विभिन्न व्यक्तिहरूको घरघरमा पुगेर तोडफोड तथा आगजनी गरेका थिए । कतिपय स्थानमा लुटपाट पनि गरेका थिए । पूर्व नगर प्रमुख मेन्याङ्बोसहित निवर्तमान सङ्घीय सांसद् जयकुमार राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, धरान–१५ की वडासदस्य सिर्जना नेपाल, नेपाली काङ्ग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुजेन्द्र गोलेको घरमा तोडफोड र आगजनी गरेका थिए । 

यस्तै निवर्तमान नगर प्रमुख तिलक राई र धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) को घरमा पनि तोडफोड तथा आगजनीका लागि गएको भए पनि जेन जी पुस्ता तथा त्यहाँका स्थानीयले प्रतिकार गरेका थिए । आगजनी तथा तोडफोडमा संलग्न मुख्य नाइकेहरूको पहिचान भइसकेको छ ।