धरान । गत भदौ २३ गते जेन जीको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा आफ्ना पार्टीका मन्त्री सांसद्लाई राजीनामा दिन निर्देशन दिँदै हिँडेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत विवादमा तानिएका छन् ।
पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन दबाव दिएका छन् । उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताहरूले बुधबार हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन् ।
पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीतका गतिविधिका कारण राजीनामा मागिएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्र्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैलीले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएको हो ।
उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले रहेका छन् ।