विराटनगर । जेन जी आन्दोलनका नाममा कोशी प्रदेशमा हालै भएका विरोध प्रदर्शनहरूले हिंसात्मक रूप लिँदा प्रदेशको प्रशासनिक तथा सुरक्षा संरचनामा अभूतपूर्व क्षति पुगेको छ । 

प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रदेश सरकार मातहतका करिब डेढ अर्ब बढीको भौतिक सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेश सरकारका दर्जनौं भवन र सयौं सवारीसाधन खरानीमा परिणत भएका छन् भने सुरक्षा निकायका कार्यालयहरू समेत चल्न नसक्ने गरी ध्वस्त भएका छन् । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले क्षतिको भयावह तस्बिर प्रस्तुत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता तथा सचिव एकदेव अधिकारीका अनुसार, प्रदेश सरकार मातहतका संरचनामा भएको क्षतिको प्रारम्भिक मूल्याङ्कनले डेढ अर्ब रुपैयाँ बराबरको नोक्सानी देखाएको छ, यद्यपि अन्तिम विवरण आउन अझै बाँकी छ । “यो केवल प्रारम्भिक अनुमान हो” अधिकारीले भने, “कानूनबमोजिम क्षतिको यकिन मूल्याङ्कन गर्न समिति गठन भएको छ । त्यसको प्रतिवेदन आएपछि मात्र वास्तविक क्षतिको आँकडा सार्वजनिक हुनेछ ।’

आन्दोलनको आगोले प्रदेश सरकारका १८ वटा भवनलाई पूर्णरूपमा खरानी बनाएको छ भने थप २४ वटा भवनमा आंशिक क्षति पु¥याएको छ । यी भवनहरूमा रहेका महŒवपूर्ण कागजात, फर्निचर, कम्प्युटर र अन्य उपकरणहरू जलेर नष्ट भएका छन्, जसको क्षतिपूर्ति हुन लामो समय लाग्ने देखिन्छ ।

त्यसैगरी प्रदेश सरकारले नागरिकको सेवाका लागि प्रयोग गर्ने सवारीसाधनहरूमाथि पनि योजनाबद्ध रूपमा आक्रमण भएको छ । तथ्याङ्कअनुसार, ६४ वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रूपमा जलाइएको छ भने १२ वटामा तोडफोड गरी क्षतिग्रस्त बनाइएको छ । दुईपाङ्ग्रे सवारीसाधनतर्फको क्षति झनै ठूलो छ; १ सय ४४ वटा मोटरसाइकल र स्कुटर जलाइएको छ भने १७ वटामा क्षति पु¥याइएको छ ।

प्रहरीको ५७ भवनमा तोडफोड

आन्दोलनका क्रममा सबैभन्दा ठूलो र प्रत्यक्ष क्षति शान्ति सुरक्षा कायम गर्न अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले व्यहोरेको छ । प्रदर्शनकारीको मुख्य निशानामा प्रहरी कार्यालय र तिनका सवारीसाधन परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार, प्रदर्शनकारीले प्रहरीका ५७ वटा भवन र ८४ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरेका छन् ।

क्षति भएका ५७ प्रहरी भवनमध्ये २४ वटा पूर्णरूपमा ध्वस्त भई काम गर्नै नसक्ने अवस्थामा पुगेका छन्, जबकि ३३ वटा भवनमा आंशिक क्षति पुगेको छ । इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालय पूर्णरूपमा जलेर नष्ट भएको छ भने जिल्ला प्रहरी कार्यालय, उदयपुरजस्ता महŒवपूर्ण सुरक्षा युनिटमा समेत क्षति पुगेको छ ।

प्रहरीले प्रयोग गर्ने सवारीसाधनमा भएको क्षति अकल्पनीय छ । ८४ वटा सवारीसाधनमा क्षति पुगेकोमा ७९ वटा पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने ५ वटामा आंशिक क्षति छ । नष्ट भएका साधनहरूमा ७ वटा हेभी गाडी (बस÷ट्रक), १९ वटा साना गाडी (जिप÷कार), ४७ वटा मोटरसाइकल, ४ वटा साइकल र २ वटा तीनपाङ्ग्रे सवारीसाधन रहेका छन् । एसएसपी पोखरेलले भने, “यो क्षति प्रहरीको मात्र होइन, राज्यको हो । प्रहरी कार्यालयको कम्पाउन्डभित्र रहेका प्रहरी कर्मचारीका व्यक्तिगत सवारीसाधन र कारबाहीका लागि राखिएका अन्य सवारीसाधनमा पनि क्षति पुगेको छ, त्यसको विवरण पनि सङ्कलन भइरहेको छ ।”

भौतिक संरचनाको विनाशसँगै आन्दोलनले ठूलो मानवीय क्षति पनि निम्त्याएको छ । झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरी सयौं घाइते भएका छन् । प्रहरीका अनुसार, १ सय १४ जना प्रहरी कर्मचारी घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर, ५२ जनाको सामान्य र ५७ जनाको मध्यम् रहेको छ । एक जना गम्भीर घाइते प्रहरीको आईसीयूमा उपचार भइरहेको तर उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यस्तै प्रदर्शनकारी तथा सर्वसाधारणतर्फ ४६ जना घाइते भएका छन्, जसमा ६ जना गम्भीर, ५ जना मध्यम् र ३५ जना सामान्य घाइते छन् ।