धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्रदान हुने सेवा तथा कार्यक्रमहरूमा सुधार ल्याउन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले गुनासो तथा सुझाव समिति गठन गरेका छन् ।
आम नागरिक र सेवाग्राहीहरूबाट प्राप्त गुनासो तथा सुझावहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुझाव तथा गुनासो सुन्ने समिति बनाएका हुन् ।
एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख प्रा.डा बालकृष्ण भट्टराईको संयोजकत्वमा बनाइएको समितिमा विभिन्न विभाग तथा प्रशासनिक एकाइका प्रतिनिधिहरू रहेका छन् ।
समितिको सदस्यहरूमा साइकियाट्रिक विभागकी प्रा.डा. शशी लामा, वित्तीय विभागका विभागीय प्रमुख राकेश कोइराला, पब्लिक हेल्थ डेन्टिस्ट्रीका विभागीय प्रमुख ताराकान्त भगत र डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू रहेको प्रतिष्ठानले जनाएको छ ।
समितिको कार्यविधिसमेत तोकिएको छ । हप्तामा एक पटक बैठक बसेर प्राप्त गुनासो तथा सुझावहरूलाई विश्लेषण गरी समाधानका लागि उपयुक्त सिफारिस गर्न निर्देशन जारी गरिएको छ ।
सार्वजनिक उत्तरदायित्व र सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ गठन गरिएको यो समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही तथा आम नागरिकको आवाजलाई संस्थागतरूपमा सम्बोधन गर्ने प्रा.डा. श्रेष्ठले बताए ।