धरान । जेन जी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिकाको भवनमा आगजनी तथा तोडफोडका कारण क्षति पुगेपछि कार्यपालिकाको बैठक भूईंमा बसेको छ ।
नगर परिसरको भूईंमा कार्यपालिका बैठक बसेर यही असोज ५ गतेदेखि सर्वसाधारणलाई सेवा दिने निर्णय गरिएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले सरसफाइ गरेर असोज ५ गतेदेखि सर्वसाधारणलाई सेवा प्रवाह गरिने निर्णय भएको उपप्रमुख सङ्गीता चौधरीले बताइन् । नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले चाँडोभन्दा चाँडो सरसफाइ गरिसक्ने र सेवा सुरु गरिने जनाएको छ ।
उपप्रमुख चौधरीले भनिन्, “नगरको सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भूईंमै बसेर छलफल गरियो । असोज ५ गतेभित्र सेवा सञ्चालन गर्ने निर्णय भएको छ ।” उनका अनुसार असोज ४ गते कार्यपालिका बैठक बसेर सेवा सुरु गर्ने विषयलाई मूर्तता दिइनेछ । “सम्बन्धित शाखा, महाशाखाहरूसँग छलफल गरिएको छ । सरसफाइ चाँडै सिध्याउने भन्ने भएको छ । जतिसक्दो चाँडो सकेर सर्वसाधारणलाई सेवा दिनेछौँ ।” इटहरीका सञ्चारकर्मी विकल पौडेलका अनुसार जनतालाई कसरी छिटोछरितो सेवा प्रवाह गर्ने भन्ने विषयमा छलफल भएको थियो । “अबको चार दिनभित्रमा के कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा भूईंमै बसेर छलफल भएको थियो”–उनले भने ।
यसक्रममा जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । यस्तै घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरिएको उपप्रमुख चौधरीले बताइन् । नगरमा भएका भौतिक क्षतिको विवरण सङ्कलन गर्ने, असोज ४ गतेसम्म बिदा दिनेलगायतको निर्णय भएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा उपमहानगरको कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । भदौ २३ गतेको आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो । इटहरीको ७ नं. वडाबाहेक सबै वडाहरूमा क्षति पुगेको छ । नगरका अनुसार १, २, ४, ५, ७, १९ र २० नम्बर वडाबाहेक सबै वडामा क्षति पुगेको छ । केही वडामा आंशिक क्षति पुगे पनि कतिपय वडामा बढी क्षति पुगेको छ । २० वडा रहेको इटहरीमा १३ वडामा क्षति पुगेको छ । क्षति नपुगेका वडाहरूबाट सेवा प्रवाह भइरहेको नगरपालिकाले जनाएको छ । प्रदर्शनको क्रममा नगर प्रमुख हेमकर्ण पौडेलको घरमा पनि आगो लगाइएको छ ।