धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान करिब आधा जनशक्तिको भरमा सञ्चालन हुँदै आएकाले रिक्त पदपूर्ति गरी सेवाको गुणस्तर सुधार गर्नुपर्ने महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले आंैल्याएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रतिष्ठान सञ्चालनका लागि ३ हजार २ सय ३९ कर्मचारी दरबन्दी स्वीकृत भए पनि स्थापनाको २९ औं वर्ष पुग्न लाग्दा १ हजार ७ सय ६१ जनाको मात्र पदपूर्ति भएको छ ।

प्रतिवेदनअनुसार बिरामीको उपचार सेवा, चिकित्साशास्त्र अध्ययन अनुसन्धान र पठन–पाठनमा ७ सय ६६ चिकित्सकको दरबन्दी रहेपनि हाल ३ सय ७ जनामात्र रहेका छन् । प्रतिष्ठानमा हाल कार्यरत ३ सय ७ जना चिकित्सकले ७ सय ६६ जनाको भार लिएर बिरामी उपचार सेवामा रहँदा गुणस्तरीय सेवा प्रवाह प्रभावित हुनसक्ने तर्फ सचेत गराएको छ ।

प्रतिष्ठानमा मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक, चर्म तथा यौन, नाक–कान–घाँटी, आँखा, पल्मोनरी (फोक्सो तथा श्वासप्रश्वास), कार्डियोलोजी (मुटु), ग्यास्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजी (पेट तथा कलेजो), बालरोग, स्नायु (न्यूरो), युरोलोजी (मूत्र रोग विज्ञान), फिजियोथेरापी, सर्जरी (शल्यक्रिया) लगायतका  बहिरङ्ग (ओपिडी) सेवाहरू रहेका छन् ।

तर, सीमित चिकित्सकका कारण बिरामीले आफ्नो पालो पाउन कम्तिमा ३ घण्टा पर्खिनु पर्ने अवस्था छ । प्रतिष्ठानमा  दन्त चिकित्सा महाविद्यालय (डेण्टल कलेज) को दाँतसम्बन्धी रोगको उपचार गर्ने विभागमात्र ९ वटा रहेका छन् । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएअनुसार प्रतिष्ठानमा शतप्रतिशत चिकित्सकको दरबन्दी कायम भएमा बिरामीसँग प्रत्यक्ष उपचारमा संलग्न हुने एक चिकित्सकको भागमा बढीमा ३० जनादेखि ४० जनामात्र पर्न जान्छ ।

हाल ८ सय १३ बेड भएको प्रतिष्ठानमा तिनै सीमित चिकित्सकले एमबीबीएस, बीडीएसदेखि डीएम कार्डियोलोजी, डीएम ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी, डीएम पल्मोनरी, क्रिटिकल केयर स्लिप मेडिसिन, डीएम न्योनाटोलोजी, एमसिएच युरोलोजी र एमसिएच जिआई सर्जरी तहसम्म अध्ययनरत १४ सय चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु पर्ने हुन्छ । तिनै चिकित्सकले ओपिडीमा पर्खेर बसेका सयौं बिरामी जाँच गर्नुपर्ने र तिनै चिकित्सकले ८ सय १३ बेडमा भर्ना भएका वार्डका बिरामी पनि हेर्नुपर्ने भएकाले प्रतिष्ठानमा चिकित्सक र बिरामीबीचको संवाद कम हुने गरेको छ ।

प्रतिष्ठानमा चिकित्सक मात्र अभाव नभएर नर्स र प्यारामेडिक्स जनशक्तिसमेत अभाव रहेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्रतिष्ठानमा ९ सय ८ नर्सको दरबन्दी र प्यारामेडिक्सको २ सय ६० दरबन्दी रहेपनि नर्स ६ सय १ र प्यारामेडिक्स १ सय ४५ जनामात्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिष्ठान आफैले एमबीबीएस बिडिएसदेखि अति विशिष्ट सेवा दिने डीएम एमसिएच तहसम्मको चिकित्सक र बिएस्सी नर्सिङसँगै कम्युनिटी हेल्थ नर्सिङ, साइकियाट्री नर्सिङ, म्याटर्नल हेल्थ, चाइल्ड हेल्थ नर्सिङ र मेडिकल सर्जिकल नर्सिङमा एमएस्सी नर्सिङ कक्षामार्फत् नर्सहरू उत्पादन गर्ने गरे पनि उत्पादितमध्ये अधिकांश चिकित्सक, नर्स र प्यारामेडिक्सले प्रतिष्ठानलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएर अन्यत्र वा विदेश तिर पलायन हुने गरेकाले जनशक्तिको अभाव जहिल्यै खट्किने गरेको प्रतिष्ठानका एक वरिष्ठ चिकित्सकले बताए ।

ती  वरिष्ठ  चिकित्सकका अनुसार प्रतिष्ठानमा चिकित्सक र नर्स नरोकिनुका कारणबारे भने, ‘प्रतिष्ठानको पाठ्यक्रम एसियाली मेडिकल युनिभर्सिटीमा मात्र अब्बल छैन, विश्वका नामी युनिभर्सिटीहरूले पनि मानेका छन् । अनेक विवाद, आन्दोलन र समस्याका बीच प्राक्टिस पनि राम्रो हुने भएकाले दक्ष जनशक्ति नै उत्पादन त हुन्छ तर, यहाँ केही वर्ष अनुभव बटुलिसकेपछि यहीँको सर्टिफिकेट देखाएर अन्यत्र पलायन हुन्छन् । किनकि यहाँ चिकित्सा पेशा र नर्सिङ पेशा अपनाएर बस्दा उसले अध्ययन गर्दा गरेको लगानी उकास्न मुस्किल हुन्छ । सीमित तलब सुविधामात्र भएकाले पैसा कमाउन चाहने चिकित्सक र नर्सले विकल्प खोज्नु स्वभाविक हो ।’

कतिपय दक्ष चिकित्सकलाई समेत प्रतिष्ठानले रोकेर राख्न सकेको छैन । प्रतिष्ठानकै छात्रवृत्तिमा विदेशका राम्रा मेडिकल युनिभर्सिटीमा उच्च तहको चिकित्साशास्त्र अध्ययन गरेर आएका दक्ष चिकित्कले समेत काम गर्ने सहज वातावरण नपाएपछि पूर्व सम्झौताअनुसार तिर्नुपने ‘बन्ड’ रकम प्रतिष्ठानलाई तिरेर अन्यत्र पलायन हुने गरेका छन् ।

एक चिकित्सकले भने, ‘प्रतिष्ठानको छात्रवृत्तिमा पढेर सिकेर दक्ष चिकित्सक बन्छन् । प्रतिष्ठान फर्केपछि काम गर्ने राम्रो वातावरण पाउँदैनन् । त्यस्ता चिकित्सकलाई कुनै पनि प्रभाइभेट मेडिकल कलेज वा अस्पतालका मालिकले नै लाखौं रुपैयाँ तिरिदिएर भए पनि लान्छन् । यहाँ त्यस्तै भइरहेको छ । पदाधिकारी र व्यवस्थापनले त्यतातिर ध्यान दिन नसकेर ‘एउटा गए अर्को आउँछ’ भन्दै बसिरहन्छन् । तर, त्यसको असर प्रतिष्ठानलाई मात्र नपरेर लामो समयदेखि तिनै चिकित्सकले हेरिरहेका सर्वसाधारण बिरामीमा पर्छ ।’

प्रतिष्ठानका अस्पताल प्रशासन प्रमुख अशोक साहले चिकित्सक र नर्स अभाव नै भएको बताए । उनले भने, ‘विभिन्न कारणले पदपूर्तिका लागि छनौट समिति गठन गर्न सकिएको छैन । छनौट समिति गठन गर्न कार्यकारिणी समितिले पुर्णता पाउनु पर्छ । त्यसमा लोकसेवा आयोगको एक जना सदस्य पनि रहन्छ । तर, करिब चार वर्ष भयो रिक्त रहेको चिकित्सकको पदपूर्तिका लागि विज्ञापन निकाल्न नपाएपछि अभाव भएको हो ।’ उनले प्रतिष्ठानबाट नर्सहरू दैनिक १ जनाले राजीनामा दिएर अन्यत्र जाने गरे पनि तिनीहरूको ठाउँमा तत्कालका लागि करारमा नियुक्त गर्ने गरेको तर, दरबन्दी अनुसार नियुक्त गर्न नसकेको बताए ।

प्रतिष्ठान अविच्छिन्न स्वायत्त संस्था भएकाले आफै आम्दानी गरेर आन्तरिक आयस्रोतबाटै चिकित्सक नर्स र कर्मचारीलाई तलब–भत्ता सुविधा दिनुपर्ने प्रावधान रहेको छ । सरकारले चिकित्सक, नर्स र कर्मचारीलाई तलब–भत्ता सुविधा नदिने भएकाले र आन्तरिक आम्दानी पनि सोचे जति नहुँदा रिक्त रहेको चिकित्सकको पदपूर्ति गर्न नसकेको आर्थिक प्रशासनका एक अधिकृतले बताए ।

स्वीकृत दरबन्दी अनुसार चिकित्सक र नर्सको पदपूर्ति नहुँदा सीमित जनशक्तिले उपचार गर्न आएका बिरामीको चाप थेग्न नसकेपछि सबैभन्दा बढी मार र सास्ती भने तिनै बिरामीले भोग्नु परेको छ । बिरामीको चापअनुसार चिकित्सक र नर्सको पदपूर्ति गरेर प्रतिष्ठानको  जनशक्ति सम्बन्धमा सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर बिरामी उपचार सेवालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउँदै गुणस्तरमा सुधार गर्न महालेखा परीक्षकको प्रतिवेदनले सुझाव दिएको छ ।