धरान । धरानका अधिकांश व्यावसायिक बङ्गुर फार्ममा फैलिएको रोग क्लासिकल स्वाइन फिवर (बङ्गुरमा फैलने हैजा) भएको पुष्टि भएको छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगर र धरान उपमहानगरपालिका पशु सेवा शाखाको प्राविधिक तथा विज्ञहरूको टोलीले रोग पहिचान गर्न ¥यापिड टेष्ट र मृत बङ्गुरको नमुनाको ल्याव परीक्षण गर्दा क्लासिकल स्वाइन फ्लु पुष्टि भएको हो । दुई महिनायता धरानका बङ्गुर फार्महरूमा मात्र ३ सय बढी ठूला–साना बङ्गुर मरिसकेका छन् ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र पशु सेवा शाखाका विज्ञ एवम् चिकित्सकको टोलीले धरानका १० वटा व्यावसायिक बङ्गुर फार्ममा र्यापिड टेष्ट गरेको र मरेका बङ्गुरको नमुना परीक्षण गर्दा क्लासिकल स्वाइन फिवर अर्थात् बङ्गुरमा देखिने हैजा पुष्टि भएको धरान उपमहानगर पशुसेवा शाखाका चिकित्सक डा. विर्खराज राईले बताए । यसअघि काठमाडौंमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लु फैलिएको पुष्टि भएपछि धरानमा पनि सोही फ्लु फैलिएको आशङ्का गरिएको थियो ।

डा.राईका अनुसार करिब दुई महिनायता मासुको प्रयोजनका लागि सञ्चालन गरिएका धरानका विभिन्न बङ्गुर फार्म र घरैमा पालिएका बङ्गुरको लक्षण हेर्दा ज्वरो आउने, चारो नखाने, छेर्ने, वान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातदेखि दश दिनमा मर्ने गरेको पाइएको छ । उनले भने, ‘यो लक्षण क्लासिकल स्वाइन फिवरको हो ।’

मरेका मध्ये ८० प्रतिशत बङ्गुर भ्याक्सिन नलगाएको पाइएको पनि डा. राईले बताए । उनका अनुसार एउटै फार्ममा ४० वटा ठूला–साना बङ्गुर मरेको पाइएको छ । धरानमा फैलिएको क्लासिकल स्वाइन फिवर रोकथाम र नियन्त्रणका लागि धरान उपमहानगरपालिका, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगर, पशुपन्छी तथा मत्स्य निर्देशनालयले संयुक्त प्रयास जारी राखेको डा. राईले बताए ।

बङ्गुरमा फैलिएको हैजा नियन्त्रण गर्न व्यावसायिक रूपमा पालिएका सबै बङ्गुरहरूलाई खोप लगाउने कार्य सुरुवात भएको र जैविक सुरक्षा र दोस्रो लहरको सङ्क्रमणबाट जोगाउने औषधिहरू सबै फार्महरूमा गएर प्रदान गरिरहेको डा. राईले बताए ।

धरानमा ठूला–साना गरेर करिब सयवटा बङ्गुर फार्म रहेका छन् । तीमध्ये विराटनगरबाट आएका पशुपंक्षी अन्वेषण प्रयोगशाला र धरानका पशु सेवा शाखाका प्राविधिक र चिकित्सक पुगेका १० बङ्गुर फार्महरूमा क्लासिकल स्वाइन फिवर पाएको थियो ।

कतिपय बङ्गुर फार्म सञ्चालकहरूले आफ्नो फार्ममा बङ्गुर मरेको तथ्य लुकाउने र सार्वजनिक पनि नगरेकाले धरानमा दुई महिनाको अवधिमा कति बङ्गुर मरे भन्ने तथ्य शाखासँग छैन । घर–घरमा पालिएका बङ्गुरसहित फार्ममा मरेका बङ्गुरको सङ्ख्या करिब ७ सय पुग्न सक्ने बताइएको छ ।

डा.राईका अनुसार थप अनुसन्धानका लागि बिरामी बङ्गुर र मरेका बङ्गुरको नमुना सङ्कलन गरी थप परीक्षण गर्न काठमाडौंस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ । धरानमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. सञ्जयकुमार यादवको टोली आएको थियो ।

मुलुकका विभिन्न बजारमा धरानबाटै सबैभन्दा बढी बङ्गुर निकासी हुने गरेको छ । मासुको प्रयोजनका लागि करोडौं रुपैयाँ लगानी गरेर व्यावसायिक बङ्गुर पालन धरानमा भइरहेको बेला साना पाठापाठी, माउदेखि ३ सय किलोसम्मका बङ्गुर मर्न थालेपछि व्यवसायीहरू आत्तिएका छन् । कतिपयले बिमा नगर्ने भएकाले घाटा व्यहोर्न बाध्य भएका छन् ।