विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला पीडित बिरामीहरूका लागि एक हजार रुपैयाँमा डायलाइसिस सेवा दिने भएको छ ।

अस्पतालमा मिर्गौला पीडित बिरामीहरूको सहजताका लागि एक हजार रुपैयाँमा डायलाइसिस सेवा सुरु गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अब मिर्गौला खराब भएका बिरामीहरूले डायलाइसिस गर्नु परे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधा सम्पन्न हेमोडायलाइसिस भएको ठाउँमा गएर बिरामीले सेवा लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

निःशुल्क डायलाइसिस गर्ने अस्पतालहरूमा बिरामीले पालो नपाएर भीड हुने गरेको र सहज रूपमा सेवा प्रवाह नभइरहेको अवस्थामा न्यूरो अस्पतालले एक हजार रुपयाँमै डायलाइसिस सेवा सुरु गरेर बिरामीलाई राहत मिलेको मिर्गौला पीडित बिरामीहरू बताउँछन् । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतले बिरामीहरूको सहजताका लागि एक हजार रुपैयाँ डायलाइसिस सेवा सुरु गरेको बताए ।

अहिले निजी अस्पतालहरूले एक पटक डायलाइसिस गरेको साढे ६ हजारदेखि आठ हजार रुपैयाँसम्म लिने गर्दछ । न्यूरोले गत वैशाख १ गतेदेखि डायलाइसिस सेवा सुरु गरेको हो । एक हप्तादेखि एक हजार रुपैयाँ मात्र लिएर मिर्गौला पीडित बिरामीको डायलाइसिस गर्दै आएको अस्पतालले जनाएको छ । 

हेमोडायलाइसिस युनिटमा दुईवटा भेन्टिलेटरसहितको आईसीयु सेवा रहेको छ । ६ शय्याको हेमोडायलाइसिस सेवा सञ्चालनमा रहेको छ । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले न्यूरोले हेमोडायलाइसिस सेवा सुरु गरेपछि बिरामीलाई सेवा प्रवाहमा सहज भएको बताए ।

‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुसुविधा उपलब्ध गराउने अस्पतालको रूपमा स्थापित हुँदै गइरहेको छ’ डा. विष्टले भने, ‘हामीप्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरेर अस्पतालले नयाँ वर्षको पहिलो दिनबाटै हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको ठाउँबाट अहिले कम शुल्कमा बिरामीलाई सेवा प्रवाह गरेका छौँ ।’

अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हेमोडायलाइसिस सेवा नहुँदा बिरामीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य र न्यून शुल्कमा बिरामीलाई उपचार गर्ने नीति अख्तियार गरिएको बताए ।

‘मिर्गौला फेल भएका बिरामीहरूले पैसा नभएर उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको पनि अन्त्य गर्ने प्रयास गरेका छौँ’–उनले भने । न्यूरो हेमोडायलाइसिस युनिटमा चारवटा उपकरण रहेका छन् । यहाँका दैनिक १२ जना मिर्गौलाका बिरामीले सेवा लिन सक्छन् । बिरामीको चाप बढे अस्पतालले दैनिक २४ जनासम्मको उपचार गर्नसक्ने बताइएको छ ।