विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा डीपीटी खोप लगाएपछि एक नवजात शिशुको मृत्यु घटनालाई विश्व स्वास्थ्य सङ्गठनले चासोका रूपमा हेरेको छ ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलका सोयल खानका अढाई महिनाको सोयव खानलाई बुधबार दिउँसो खोप लगाएको एक घण्टापछि शिशुको मृत्यु भएपछि अन्तर्राष्ट्रियस्तरमा चासो बढेको हो । मृतकका बाबु सोयलका अनुसार छोरालाई नियमित लगाउने डीपीटी खोप बुधबार दिउँसो कोसी अस्पतालको आकस्मिक कक्षमा ११ः३० मा लगाइएको थियो ।

‘खोप लगाएपछि घर पुर्याउँदा छोराको नाक र मुखबाट फिँज आएको थियो’ उनले भने, ‘तत्काल हामीले कोसी अस्पतालमा ल्यायौँ तर, दिउँसो  १ः४५ बजे चिकित्सकले छोराको मृत्यु भएको दुःखद् खबर सुनाउनुभयो ।’ खोप लगाएकै कारणले छोराको मृत्यु भएको खान परिवारको भनाइ छ । ‘खोपको गुणस्तरको विषयमा छानबिन गरी के कारणले छोराको मृत्यु भएको हो, यसको यथार्थ घटना सार्वजनिक गरिनु पर्दछ’ बाबु सोयल खानले भने, ‘खोपको असरले छोराको मृत्यु भएको पुष्टि भए विश्व स्वास्थ्य सङ्गठनलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

कोसी अस्पतालका सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले खोप लगाएपछि नवजात शिशुको मृत्यु घटनापश्चात् छानबिन समिति गठन गरी अनुसन्धान सुरु गरिएको बताए । उनले घटनाको विषयमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरूलाई जानकारी गराएपछि अहिले स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरू अस्पताल आएर छानबिन सुरु गरेको बताए ।

स्वास्थ्य सङ्गठनका प्रतिनिधिले खोपको असरबारे छानबिन गर्ने भएको छ । एक भाइल खोपमा १० डोज हुन्छ । एक भाइल खोपबाट १० जना शिशुलाई लगाउन मिल्छ । कोसी अस्पतालबाट खोप लगाएका अन्य ९ जना शिशुलाई कुनै असर नगरेको अस्पतालले जनाएको छ ।

koshi-ma-bhid

पाँच सदस्यीय छानबिन समिति गठन
खोप लगाएपछि नवजात शिशुको मृत्यु भएपछि पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । विश्व स्वास्थ्य सङ्गठनका सर्विलेन्स मेडिकल अफिसर डा. करिश्मा गुरुङको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको मेसु खरेलले जानकारी दिए । ‘विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरू आएपछि अनुसन्धान सुरु भएको छ’ उनले भने, ‘के कारणले यस्तो भयो  भन्नेबारे अनुसन्धानपछि खुल्नेछ ।’

छानबिन समितिमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख, जिल्ला स्वास्थ्य प्रमुख, विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख र कोसी अस्पतालका मेसुसहितको पाँच सदस्यीय टोली अनुसन्धानको लागि गठन भएको छ । पाँच सदस्यीय समितिले छिटोमा तीन र बढीमा एक सातामा अनुसन्धान पूरा गरी छानबिन प्रतिवेदन खोप केन्द्र, स्वास्थ्य विभाग र स्वास्थ्य सङ्गठनमा पनि पठाइने कोसी अस्पतालका मेसु खरेलले बताए ।

‘के कारणले यस्तो भयो । यस विषयमा छानबिन हुनेछ’ डा. खरेलले भने, ‘खोपको कारण हो या अरू कुनै कारणबाट बच्चाको मृत्यु भयो । त्यस विषयमा छानबिन गरी घटनाबारेमा जानकारी गराउनेछौँ ।’ अनुसन्धानपछि यदि खोपको असरले नै बालकको ज्यान गएको पुष्टि भए सरकारले क्षतिपूर्ति दिलाउने उनले बताए । 

अस्पतालले आन्तरिक रूपमा पनि छानबिन समिति गठन गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाको नेतृत्वमा समिति गठन गरेको छ । उक्त समितिमा अस्पतालका बाल रोग विशेषज्ञ डा.नारायण चौधरी, अस्पतालका मेट्रोन मञ्जु यादव, शाखा अधिकृत रामप्रसाद नेपाल, मोरङ प्रहरीका इन्स्पेक्टर र एकजना पीडितको आफन्त रहने गरी आन्तरिक रूपमा छानबिन गर्न पनि समिति बनाएको उनले बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको लापरबाहीले घटना घटेको हो वा होइन भन्ने विषयमा आन्तरिक रूपमा छानबिन सुरु गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ ।