छन्द कविताको पुनर्जागरण अभियानमा पचासको दशकबाट सुरु गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल अहिले काव्यको उन्नयनमा डटेर लागिरहेका छन् । उनको काव्यिक यात्रामा २०६२ सालमा आएको छन्द परागले छन्दको क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सफल भएको छ । छन्द कविताका स्रष्टालाई कुनै कालमा ‘सिलोके’, छन्दे’ भनी नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिको अन्त्य गर्न उनले अहम् भूमिका खेलेका छन् । छन्द कविताका स्रष्टा तथा प्राज्ञ डा. नेपालसँग ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली साहित्य क्षेत्र अहिले कसरी अगाडि बढिरहेको पाउनुभएको छ ?
–नेपाली साहित्यमा प्रयोगका सन्दर्भमा अत्यधिक प्रयोग अहिले आइरहेका छन् । केही प्रयोगहरुले भाषा, साहित्यको उन्नयन नै गरिरहेका छन् भने केही प्रयोगहरुले चाहिँ विवाद सिर्जना गरिरहेको अवस्था पनि छ । समग्रमा पछिल्लो दशक सबै विधामा सशक्त रुपमा अगाडि बढिहरहेको मैले पाएको छु । हाम्रो भाषाको अवस्था, जनसङ्ख्याको अवस्था, सिर्जनात्मक र गुणात्मकको अवस्था, अनुवाद नहुँदा विश्व साहित्यमा पुग्न अझै पनि सकिरहेका छैनौं । अहिले पनि सामान्य अवस्थामै छौं तर, गुणात्मक दृष्टिले पछिल्ला सिर्जनालाई हेर्ने हो भने विश्व साहित्यमा पुग्ने हाराहारीका छन् ।

विवाद सिर्जना गरिरहेका छन् भनेर भन्नुभयो ती भनेका कस्ता ?
–तोकेरै भन्नेभन्दा पनि जस्तैः अहिले विशेष गरेर कविताको क्षेत्रमा प्रवर्तकको सङ्ख्या साह्रै ठूलो छ । हिजो सबभन्दा सानो कविता हाइकु प्रचलित थियो । अहिले त्योभन्दा साना–साना हुँदै दुई अक्षर, तीन अक्षर, चार अक्षरका हुँदै गएका छन् । अलिकति फरक पारिदिने बित्तिकै त्यसलाई पनि नयाँ विधाको रुपमा हेर्ने गरिएको छ । छन्द परम्परा; शास्त्रीय परम्परा पिङ्गलले त लाख हैन, १३ करोड छन्दहरुको कुरा गरेको छ । प्रत्येक वाक्य छन्दमा हुन्छ भनेको छ । तर, अहिले हामी के गर्छौं, यसो हे¥यो भुजङ्गप्रयात छन्दमा चारवटा ‘य’ गण हुन्छ । एक ठाउँमा ‘त’ गण राखिदियो । मैले त नयाँ बनाए भन्ने भ्रम हुन्छ । नयाँ बनाए भनेर प्रवर्तक हुने लोभ धेरैमा बढेको देखिन्छ । प्रवर्तन नराम्रो कुरा होइन, त्यसले भाषा साहित्यलाई नै सेवा गर्छ । प्रवर्तकमै सीमित रह्यो भने इतिहासमा नाम लेखाउने काम मात्रै हुन्छ ।

कतिपय अवस्थामा भाषा साहित्यमा विचलन पनि आइरहेको छ । नयाँ छन्द निकाले“ भन्ने गर्व महसुस गर्ने तर, त्यस्तो भइरहेको नहुने यसलाई नियन्त्रण गर्न प्रज्ञा प्रतिष्ठानले कस्तो भूमिका खेल्ने गर्छ ?
–सिर्जनात्मक कुरा नियन्त्रणबाट हुँदैन । प्रयोग गर्ने कुरा नियन्त्रण गरेर हुँदैन । सिर्जनाको यात्रा चाहिँ सरकारले संविधान बनाएजस्तो हुँदैन, यति चाहिँ गर्न मिल्ने, यति चाहिँ नमिल्ने भन्ने हुँदैन । स्रष्टा त स्वतन्त्र हुन्छ । स्वतन्त्र रुपमा काम गर्न पाउँछन् । त्यसको केन्द्रीकरण, संयोजनकारी भूमिका र जानकारी चाहिँ प्रज्ञा प्रतिष्ठानले राख्नुपर्दछ । यस्तो–यस्तो हुँदैछ भनेर जानकारी राख्ने काम चाहिँ प्रतिष्ठानको हो । नियन्त्रण गर्ने काम प्रतिष्ठानको होइन ।

यसमा चाहिँ अराजकतामा आइरहेको छ है भनेर प्रतिष्ठानले नभने पनि विद्वान् तथा विज्ञले त गर्नुपर्छ होला नि त ?
–पूर्व स्थापित मान्यताहरु नै त्यसका ऐना हुन् । त्यहाँबाट जब हामी नयाँपन खोज्छौं भने त्यहाँ केही बुझेर खोजेका हुन्छौं । सर्जकहरु अग्रगामी हुन्छन् । सर्जकहरु नयाँ नयाँ कुरा सिर्जना गर्न चाहन्छन् । कुनै नयाँ कुरा निर्माण गर्छु भन्यो भने त्यसले भाषा साहित्यलाई चिनाउँछ । सिर्जना तहको अराजकता भनेको चाहिँ अरु अराजकता जस्तो हुँदैन । सिर्जनात्मक अराजकता चाहिँ सिर्जनात्मक अराजकता नै हुन्छ । त्यो बेला अराजकता देखिएला; केही युगपछि त त्यो बेलाको प्रवृत्ति बन्छ, त्यो बेलाको क्रान्ति बन्छ । सबै कुरालाई नकारात्मक हेर्नेभन्दा पनि भइरहेको कुरालाई नयाँपन दिने प्रयास हो भनेर सकारात्मक रुपमा हेर्नुपर्छ । त्यही कुरा अबको सय वर्षपछि त प्रवृत्ति बनेर बस्छ । नेपाली भाषाको इतिहास हाम्रोमा १ हजार वर्षको मात्रै छ । साहित्यको इतिहास २ सय ५० वर्षको मात्रै हो । हामी त पहिलो चरणमै छौं । कुनै बेला परिष्कारवादी धाराका विरूद्ध स्वच्छन्दतावादी धारा आएको थियो । त्यसलाई स्वीकार गरिएको थिएन । त्यसकारण हामी त पहिलो चरणमै छौँ । अहिले तत्काललाई हेर्दा बिगार्लान् कि भन्ने लाग्छ । कुनै युगमा गएर यिनीहरु कुनै प्रवृत्ति बनेर बस्छन् ।

साहित्यको कुरा गरौं, पछिल्लो समय आख्यानको दबदबा देखिन्छ ? किन यस्तो भइरहेको छ, जस्तो लाग्छ तपाईंलाई ?
–यो चाहिँ स्वभाविक कुरा हो । अहिले नाम चलेका कविहरु; एकदमै राम्रो कविता लेख्ने, एकदमै राम्रो काव्य लेख्ने पनि कविता लेख्दा त मदन पुस्कार पाइँदैन । बरू आख्यान लेख्ने । आख्यानमा जाने भन्ने त्यो लोभ चाहिँ बढेको छ । त्यो यथार्थै हो । अहिले म आफै पनि मदन पुरस्कारप्राप्त कृतिहरु सबै अध्ययन गरिरहेको छु । मैले के देखिरहेका छु भने हाम्रा धेरै स्रष्टाको दृष्टि मदन पुरस्कारतिर पुग्ने । तर, मदन पुरस्कार पाउने कृति चाहिँ कि प्राचीन विषयको कुरा उठाइएको होस् । राजा महाराजाको विषयलाई ल्याइएको होस् । कि त पुराताŒिवक विषय लेखिएको होस् या त पौराणिक विषयलाई पुनर्जीवन दिइएको होस् । त्यसकारण नयाँ युगको चेतनालाई सम्प्रेषण गरेर हामीले स्थापित हुने दिन पनि आउनुपर्छ कि ? तर, त्यो आख्यानबाट मात्रै होइन, त्यो सन्तुलन चाहिँ मिल्नुपर्छ । पढ्ने व्यक्तिहरुमा पनि आख्यानले कथा बुझिने रमाइलो लाग्ने हुनाले गर्दाखेरी सरर ध्यान त्यता गएको हुनसक्छ । कविताभित्रको गहिराइ, समालोचनाको प्राज्ञिक व्यापकता, अनुसन्धानभित्र त्यो अन्वेषण प्रवृत्ति, इतिहास संस्कृति आदिको खोजभित्र डुबेको श्रम यो पाटोबाट हेर्ने हो भने सिर्जनाको महŒव बुझिन्छ । आख्यान त सिर्जनात्मक क्षमता भएको व्यक्तिले जति खेरै पनि लेख्न सक्छ । यसपटक मदन पुरस्कार लिम्बुवानको दस्तावेजले पाइसकेपछि मैले त्यो विषयमा लेखेँ । यो वर्ष नपाएको थियो भने इतिहास अन्यायमा पथ्र्यो । यो सामग्री अर्को वर्ष खोज्छु भन्दा हुँदैन नि त । धेरैको ध्यान बढीभन्दा बढी आख्यानमा गइरहेको छ । पुरस्कारतिर मात्रै लाग्नेभन्दा पनि खोज अनुसन्धान गर्नुपर्छ । आख्यान मात्रै हैन; गुणात्मक गरिमालाई हेर्ने हो भने सबै विधालाई नै सन्तुलित रुपमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अब व्यक्तिगत जीवनतिर जाउँ, प्रतिष्ठानबाहेक अहिले व्यक्तिगत रुपमा तपाईं के गरिरहनुभएको छ ? साहित्यमा कुन आन्दोलनलाई अगाडि बढाइरहनु भएको छ ?
–मेरो विशेष क्षेत्र कविता नै हो । म कविता नै लेख्ने गर्छु । पचासको दशक कविताको जागरण त्यसमा पनि विशेष छन्दको जागरणमा लागें । २०५० को दशकभन्दा अगाडि छन्दमा कविता लेख्नेलाई ‘सिलोके, छन्दे’ भनिथ्यो । छन्दमा लेख्नेलाई मञ्च नदिने, मञ्चमा गएर पनि गद्यमा कविता पढ्ने अवस्था थियो । छन्दका कविता लेख्नेहरुले गद्यमा लेख्नेलाई टाकटुक मिलाउँछन्, टुक्रा पारेर बनाउँछन् भन्ने आरोप लगाउँथे । एकले अर्कोलाई आरोप लगाएको मलाई मन परेन । मुक्त र छन्दमा लेख्ने विषय यो बाह्य कुरा हो । चाहे मुक्तमा लेखोस्; चाहे छन्दमा लेखोस् । २०५३ सालदेखि कविताको चारैवटा लय र चारैवटा पक्षमा । शास्त्रीय छन्द, वार्णिक छन्द, मात्रिक छन्द, लोक छन्द । अनि मुक्त छन्द जसलाई हामी गद्य कविता भन्छौं । कविता र समाचारमा प्रयोग हुने गद्य, प्रतिवेदनमा प्रयोग हुने गद्य, फरक फरक गद्य हुन् । त्यहाँ आन्तरिक सङ्गीत चेतना कसरी निर्माण गर्ने भन्ने हो । कसरी लय निर्माण गर्ने भन्ने अभियान चलाउँदै आएँ । लगभग २५ वर्ष पुग्न लाग्यो । जतिखेर छन्द पराग लेखियो । छन्द पराग सामान्य सिकाइ नै रह्यो । २०६२ सालमा लेखिएको छन्द परागमा १ सय ८० वटा वार्णिक छन्द, लोक, मात्रिक छन्द, फारसी बहरलाई गरेर २ सय ६० वटा छन्दको चर्चा गरेको थिएँ । पछि मलाई के लाग्यो भने नेपालमा १० वर्षको अवधिमा सय वटाभन्दा बढी छन्द थपिएछन् । मैले तिनीहरुलाई प्रयोग गरेँ । पहिलो संस्करणमा मुक्त छन्द होइन भन्ने प्रश्न उठिरहेको थियो । यसको पनि छन्द हुन्छ भनेर गद्य कविता कसरी लेख्ने ? कविता कसरी बनाउने भनेर ? मैले २७ वटा लयको तरिका त्यहाँ प्रस्तुत गरिदिएँ । यही कारण अहिले हिजोको जस्तो द्वेषपूर्ण वातावरण चाहिँ हटेको छ ।

कवितामा ल्याएको पुनर्जागरणको राम्रो पक्ष भनेको यही होला हैन त ?
–छन्दका कविहरुलाई सिलोक वाचन गर्छन् भन्ने स्थिति, गद्यका कविहरुलाई अनुच्छेद भाँचेर टुक्रा टुक्रा पारेर बाचन गर्छन् भन्ने स्थिति अहिले रहेन । कविता के हो भन्ने अहिलेको पुस्ताले बुझ्न थालेका छन् । हामीले जुन तरिकाले अभियान सञ्चालन ग¥यौं, त्यसले यहाँसम्म पु¥यायो भन्ने लाग्छ । धेरै स्रष्टाहरुले कुन विधा कसरी लेख्ने भन्ने महसुस गरिरहेका थिए । कविता विधा त मैले लेखेकै थिएँ । ३७ विधाको बारेमा कविताका विविध रुपहरु, कथा, उपन्यास, निबन्ध, चलचित्रको पटकथा, मूल कथा कसरी लेखिन्छ । जीवनी के हो ? रिपोर्ताज के हो ? रिपोर्ताज विश्व साहित्यमा आएको छ धेरै भयो; नेपाली साहित्यमा भर्खरै प्रवेश गरेको छ । संवार्ता भनेको के हो ? प्रश्न–उत्तरको शैलीमा राख्नुभयो भने त्यो अन्तरर्वार्ता भन्ने हुन्छ । तपाईंले आफ्नो शैलीमा लेख्नुभयो भने निवार्ता हुन्छ । आफूले व्यक्तिगत रुपमा ती कुरा बुझाउने प्रयास गरेको छु भने प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी त छँदै छ ।