विजयपुर । धरान उपमहानगर क्षेत्रका सडक तथा फुटपाथमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै पैदलयात्रीले सास्ती बेहोर्नुपरेको छ । धरानमा सडकको आधाभाग ओगटेर निर्माण सामग्री राखे पनि नियामक निकाय भने बेखबर छ ।
भौतिक संरचना निर्माणका लागि रड, बालुवा, इँटा, रोडा, सिमेण्ट मिक्स्चरलगातयका निर्माण सामग्री सडकको बीचैमा राखिँदै आएको छ । पैदलयात्रा गर्ने पत्रकार लम्जेल सङ्घर्षशील फुटपाथ र सडकको आधा भागसम्म निर्माण सामग्री राख्दा हिँड्नै समस्या भएको बताउँछन् ।
उनले भने, ‘पैदलयात्रीलाई ठूलो समस्या छ । यसले सहरको सुन्दरता पनि घट्दै जान्छ ।’ उनले स्थानीय सरकार र सरोकारवाला निकायको कमजोरीका कारण पैदलयात्री समस्यामा पर्नुका सथै दुर्घटनाको जोखिम निम्त्याएको बताए । उनले भने, ‘सम्बन्धित पक्षको ध्यान किन नगएको होला ?’
धरान–७ स्थित पानबारी बसस्टेण्डदेखि तल खहरे खोला किनारमा पूरै सडक ढाकेर निर्माण सामग्री राखिएको छ । जहाँ ३ पाङ्ग्रे टेम्पो र ई–रिक्साबाहेक अन्य सवनरी साधन छिर्न सक्दैनन् । धरान–९ आचार्यलाइन र बगंैचा लाइनको पनि अवस्था उस्तै छ । त्यहाँ आधा सडकसम्म दुवैतर्फ निर्माण सामग्री थुपारिएको छ ।
पिण्डेश्वरी चोकदेखि श्यामचोकसम्मको सडकमा पनि धेरै स्थानमा सडकको दुवैतर्फ आधाआधा भागमा निर्माण सामग्री थुपारिएको छ । त्यस्तै धरान उपमहानगरपालिका कार्यालय रहेको धरान–१२ स्थित चतरालाइनमा पनि सडकको दुवैतर्फ निर्माण सामग्री थुपारिएको छ । यी प्रतिनिधिमूलक स्थानहरू मात्रै हुन् । धरानका अधिकांश क्षेत्रको फुटपाथ तथा जथाभाबी सडकको आधा भाग नै ढाक्ने गरी निर्माण सामग्री थुपारिएको छ ।
ट्राफिक प्रहरी र स्थानीय सरकारले सडकलाई व्यवस्थित गरी दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्नुपर्ने हो । तर, नियामक निकाय भने मुकदर्शक बन्दै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ४५ को उपदफा ३ मा गाउँपालिका र नगरपालिकाले सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै बखत हटाउन वा भत्काउन आदेश दिनसक्ने व्यवस्था रहेको छ ।
तर, निर्माण भएका भौतिक संरचना नै भत्काउन सक्ने अधिकार भए पनि उपमहानगरले निर्माण सामग्रीसमेत हटाउन सकेको छैन । यस विषयमा जिज्ञासा राख्दा धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले पटक–पटक हटाउँदै आएको दाबी गरे । उनले भने, ‘नराख्नू, भनेर सचेत गराएका छौँ ।’
उनले कतिपय स्थानमा तत्काल नै हटाउने गरेको पनि दाबी गरे । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत नगरप्रहरीको कार्यक्षेत्रभित्र पर्दछ । तत्काल उठाउन लगाउँछौँ ।’ उनले अटेर गर्नेलाई जरिबानासमेत गर्ने बताए ।
तर, उनले हटाउने दाबी गरेपनि धरानका अधिकांश स्थानमा सडकको आधा भागसम्म ढाकेर र फुटपाथमा निर्माण सामग्री राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका इन्चार्ज मणिराम कोइरालाले निर्माण सामग्री सडक किनारामा राख्न नमिल्ने बताए ।
उनले भने, ‘फुटपाथ र सडकमा निर्माण सामग्री राख्न मिल्दैन ।’ सडकमा अनलोड गर्नु पर्ने अवस्था भए पनि तुरुन्त उठाउनु पर्ने उनले बताए । उनले भने, ‘अरूलाई असर पर्ने गरी सडकमा व्यक्तिगत सामान राख्न पाइँदैन ।’