सुनसरी । कोसी गाउँपालिका पश्चिम कुसाहास्थित पर्ती टोलकी मीना उराँवले भर्खरै ४५ दिने सिलाइ कटाइ तालिम पूरा गरेकी छन् । गाउँमै स्वरोजगार बन्ने सपना बोकेर उनले सिलाइ कटाइ तालिम लिएकी हुन् ।
दौरा सुरुवाल, कुर्ता सुरुवाल, ब्लाउजलगायत सिलाउने सीप हासिल गरेकी अनिता तालिमपछि गाउँमै टेलरिङ पसल खोल्ने तयारीमा छिन् । गाउँमै नयाँ डिजाइनका कपडा सिलाउने व्यवसायको राम्रो सम्भावना देखेर सिलाइ कटाइ पेशा रोजेको बताउने उनले यही पेशाबाट घरैमा बसेर स्वरोजगार बन्न सकिने सम्भावना रहेको उनी बताउँछिन् ।
सोही स्थानकी ममता मेहताको रोजाइमा पनि सिलाइ कटाइ परेको छ । उनले पनि आकर्षक डिजाइनको कपडा सिलाउने तालिम पूरा गरेकी हुन् । आकर्षक तरिकाले कपडा सिलाउन लौकही वा सदरमुकाम इनरुवा बजार पुग्ने महिलाहरूलाई गाउँमै सेवा दिएर आम्दानी गर्ने उद्देश्यले आफू सिलाइ कटाइ पेशामा लागेको ममताको कथन छ ।
‘आजभोलि सबैले आकर्षक डिजाइनका कपडा सिलाउन चाहन्छन्’ उनले भनिन्, ‘तर, गाउँमा त्यो सुविधा छैन । गाउँमै राम्रो सिलाइ कटाइ गर्ने टेलरिङ पसल सञ्चालन गर्नसके सेवासँगै आम्दानीसमेत हुने भएकोले पसल खोल्ने तयारीमा लागेकी हुँ ।’
अघिल्लो वर्ष तीनमहिने र यो वर्ष ४५ दिने सिलाइ कटाइ तालिम दिएपछि कोसी गाउँपालिका–३ पश्चिम कुसाहा क्षेत्रका ११ जना महिलाहरू आफ्नै खुट्टामा उभिन सफल भएको कोसी गाउँपालिका सामाजिक शाखा प्रमुख नायव सुब्बा राजकिशोर मेहता बताउँछन् ।
कोसी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्तरोन्नतितर्फ सिलाइ कटाइसम्बन्धी सीप विकास तालिम कोसी गाउँपालिका–३ पश्चिम कुसाहास्थित पर्ती टोलमा दिएपछि उनीहरू सीप सिक्न सफल भएको उनले बताए । कोसी गाउँपालिकाले दिएको सिलाइ कटाइ तालिम लिएकी कोसी गाउँपालिका–३ पश्चिम कुसाहाकी गीता उराँव भन्छिन्, ‘आफ्नै खुट्टामा उभिन सफल भएकोमा खुसी छु । अब आफ्नो खर्चको लागि मात्रै होइन, जिउनकै लागि अरूको भर पर्नु नपर्ने भयो ।’
आफूहरूले महिला दिदीबहिनीलाई तालिम दिएर स्वरोजगार बन्ने बाटो देखाइदिएको बताउँदै कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले पेशालाई निरन्तरता दिनसके उनीहरूलाई घर व्यवहार चलाउन समस्या नहुने बताए ।
यसैबीच तालिम लिएका महिलाहरूलाई आवश्यक मेसिनलगायत सामग्रीसमेत गाउँपालिकाको कार्यालयले हस्तान्तरण गरेको छ । सिलाइ कटाइ तालिम लिएका ११ जना महिलाहरूलाई अघिल्लो वर्ष अनुदानमा मेसिन वितरण गरेकोमा यसपटक दिइएको ४५ दिने स्तरोन्नति तालिम समापनको अवसर पारेर प्रत्येकलाई एक–एक थान आइरन, काठको स्केललगायत सिलाइ कटाइको लागि आवश्यक अन्य सामग्रीसमेत हस्तान्तरण गरिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।
सहभागी महिलाहरूलाई प्रशिक्षक फूलमाया लिम्बूले प्रशिक्षण दिएकी थिइन् । कोसी गाउँपालिकाको कार्यालयले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाइ कटाइ तालिम, तरकारी उत्पादन, दालमोठ तथा भुजिया उत्पादनलगायत ग्रामीण महिलाहरूलाई स्वरोजगार बनाउने विभिन्न तालिम दिँदै आएको नायव सुब्बा मेहताको भनाइ छ ।