होटल म्यानेजमेन्टतर्फ प्रदेश १ मा एउटा उचाइ प्राप्त गरेको युएन–नवोदय कलेजले व्यावहारिक शिक्षामा बढी जोड दिँदै आएको छ । विशेषगरी होटल म्यानेजमेन्टमा फरक स्थान बनाएको युएनले शिक्षामा गरिरहेको अभ्यासका विषयमा ब्लाष्टकर्मीले युएन–नवोदयका प्रमुख तथा प्रिन्सिपल डम्बरकुमार तुम्वापोसँग लिइएको अन्तरवार्ताको सारः

युएन-नवोदयले होटल व्यवस्थापनतर्फ एउटा उचाइ प्राप्त गर्न सफल भएको छ, कसरी सम्भव भयो ?
– आजभन्दा एक दशकअघि स्थापना भएको यू.एन. नवोदय कलेजमा प्लस टुमा विज्ञान, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र व्यवस्थापन पढाइ भइरहेको छ भने स्नातक तहमा त्रिभुवन विश्वविद्यालयको बिएचएम र बीबीएस सञ्चालन भइरहेको छ । स्थापनाकालबाट नै प्लस टु र स्नातक तहमा उत्कृष्ट अङ्क प्राप्त गरी प्रदेश नं. १ कै नमुना कलेजको रूपमा स्थापित भएको छ ।

युएन–नवोदयले होटल म्यानेजमेन्टलाई मात्रै ध्यान दिइरहेको छ कि अन्य सङ्कायको विषयमा पनि ध्यान दिएको छ ?
– युएन–नवोदयले व्यावहारिक र रोजगारमुखी शिक्षामा स्थापनाकालबाट नै जोड दिँदै आएको छ । हामीले शिक्षककेन्द्रित शिक्षण प्रणालीभन्दा विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली अपनाएका छौं । विद्यार्थी स्वयम् नै सिकाइमा प्रत्यक्ष धेरै मात्रामा सहभागी हुन पाउँछन् । जसले गर्दा विद्यार्थीहरूले धेरै प्रगति स्वयम्ले गर्न सक्छन् । होटेल व्यवस्थापनमा हामीले विश्वस्तरकै प्रयोगात्मक ९एचबअतष्अब०ि र ९त्जभयचथ० सैद्धान्तिक कक्षाहरू सञ्चालन गरिरहेका छौं । साथै प्राध्यापकहरू पनि दक्ष र अनुभवी भएका कारणले पनि युएन–नवोदयले उचाइ प्राप्त गर्न सफल भएको छ । युएन–नवोदयले होटल म्यानेजमेन्टका साथसाथै समय सापेक्ष विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञानजस्ता सङ्कायमा पनि उत्तिकै ध्यान दिएको छ ।

विज्ञान सङ्काय पछिल्लो समय सबैको रोजाइमा परिरहेको छ, युएनले पनि अहिले विज्ञान सङ्कायलाई बढाएको छ, किन ?
– विज्ञान विषय अति अपरिहार्य व्यावहारिक र सदावहार विषय हो । तर, पनि धेरैजसो विद्यालय कलेजहरूमा विज्ञानलाई जुन व्यावहारिक रूपमा सञ्चालन गर्नुपर्ने हो त्यो देखिएन, प्रायःजसो विज्ञानका विद्यार्थीहरूलाई पनि पुरानै सैद्धान्तिक शिक्षण प्रणालीबाट नै शिक्षा दिएकोले दक्ष जनशक्ति उत्पादन हुन पाएन । साइन्सबाट प्लस टु सकेका विद्यार्थीहरू धेरैजसो उच्च शिक्षामा साइन्स नपढेर अन्य विषय पढ्न बाध्य छन् । विज्ञान पढेका विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा दिनुपर्छ । विज्ञान पढेका विद्यार्थी भोलि गएर सन्दुक रुइत, महावीर पुन, भगवान कोइराला जस्ता डाक्टर, इन्जिनियर, वैज्ञानिक बन्न सकुन् भन्ने उद्देश्यका साथ विद्यार्थी साथै अभिभावकहरूको अनुरोधमा यसै शैक्षिक सत्रबाट युएन–नवोदयमा प्लस टुमा विज्ञान सङ्काय सञ्चालन भइरहेको छ ।

युएन र नवोदय फरक–फरक स्कुल हो भन्ने आम बुझाइ पनि देखिन्छ, यस्तो हो ?
– युएन–नवोदयका सन्दर्भमा म सम्पूर्ण महानुभावहरूलाई स्पष्ट पार्न चाहन्छु कि धरान–१० किरात चौकमा कक्षा प्ले–ग्रुपदेखि कक्षा १० सम्म युएन स्कुल सञ्चालनमा रहेको छ । साथै धरान–१६ लेखनाथ चौकमा प्ले–ग्रुपदेखि कक्षा १० सम्म नवोदय विद्यामन्दिर स्कुल रहेको छ  र धरान–१६ अन्नपूर्ण चौकमा एकै स्थानमा नवोदय प्लस युएन कलेज एक दशकदेखि एकै स्थानमा र एउटै टिमबाट सञ्चालन भएकोले युएन–नवोदय भनेर चिर परिचित रहेको सम्पूर्ण महानुभावहरूलाई यसै अन्तरवार्तामार्फत् जानकारी गराउन चाहन्छु । हामीले कुनै कृत्रिम एउटा नाम राखेर अर्को कलेजको नाममा विद्यार्थीहरूलाई प्रमाण–पत्र दिएका छैनौं ।

युएनमा आगामी दिनमा कस्ता कार्यक्रम ल्याउने सोच राख्नुभएको छ ?
– युएनमा आगामी दिनमा व्यावहारिक र रोजगारमुखी साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने सङ्कायहरू जस्तैः इन्जिनियरिङ, बिबिए, बिबिएम, बिएड, स्नातकोत्तर लेभलमा एम.एच, एम.बि.ए. र एम.बि.एम. कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ ।

आम अभिभावकहरूलाई युएन–नवोदयको सन्देश के छ ?
– सम्पूर्ण अभिभावकज्यूहरूलाई युएन–नवोदय कलेजको तर्फबाट अनुरोध गर्न चाहन्छौं कि कुनै पनि बालबालिकालाई शिक्षाबाट बञ्चित नगरियोस् । शिक्षा नै परिवर्तनको मूल संवाहक हो । अहिले बजारमा धेरै किसिमका शैक्षिक संस्थाहरू स्थापना भएका छन् । ती शिक्षण संस्थाहरूका बारेमा राम्ररी बुझेर मात्र आफ्ना छोराछोरीहरूलाई भर्ना गर्नुहोस् । शैक्षिक माफिया र दलालहरूबाट सचेत रहनुहोस् ।