धनकुटा । धनकुटाको पुरानो व्यापारिक केन्द्र माथिल्लो कोप्चेले यतिबेला सुन्तले घरको परिचय बनाएको छ । धनकुटा–५ मा पर्ने यस व्यापारिक केन्द्रमा १ सय ५० भन्दा बढी घर सुन्तला रङले रङ्गिएका छन् ।

जलवायु परिवर्तनका कारण गाउँघरमा सुन्तला फल्न छाडेपछि सुन्तला गाउँको पहिचान जोगाउन यस्तो गरिएको माथिल्लो कोप्चे टोल विकास संस्थाका अध्यक्ष गोविन्द राईले बताए । उनी धनकुटा–५ का वडासदस्यसमेत हुन् ।

करिब ५ वर्ष अघिदेखि ‘ओरेन्ज सिटी’ अर्थात् सुन्तले सहर बनाउने अभियान थालिएको थियो, जुन कामले एक वर्षभित्रै पूर्णता पाएको माथिल्लो कोप्चे टोल विकास संस्थाका अध्यक्ष राईले बताए । बिहीबारे हाट तथा आठपहरिया जातिको धार्मिकस्थल मार्गाथान, तलेघर, ५२ चुला एक घरदेखि लिएर प्रदेश सङ्ग्रहालय यस क्षेत्रभित्र समेटिएका सबै घर सुन्तले रङका छन् ।

बस्ती सरसफाइ, वातावरणीय दृष्टिले सन्तुलन राख्ने तथा सामाजिक रूपमा टोल विकास संस्थाबीच एक–आपसमा सहकार्य जस्ता भावनालाई समेत सँगै लगिएको टोलका सचिव गोविन्दमान श्रेष्ठले बताए । ओरेन्ज सिटी भनेर टोल विकास संस्थाले नै नाम राखेको धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धनकुमार आठपहरियाले बताए । उनले पनि धनकुटा सुन्तला फल्ने ठाउँ भए पनि जलवायु परिवर्तनको कारण सुन्तला फल्न छाडेपछि सुन्तलाको सम्झनाको लागि माथिल्लो कोप्चे टोल विकास संस्थाले ओरेन्ज सिटीको अवधारणा अघि सारेको बताए ।

‘वि.सं.२०७३ सालमा टोल विकास संस्थाले अघि सारेको अवधारणालाई हामी ०७४ सालको स्थानीय तहको निर्वाचनपछि वडा सरकारमा आएपछि आत्मसात गरेका हौं–वडाध्यक्ष आठपहरियाले भने । माथिल्लो कोप्चेमा पूर्ण रूपमा सफल भइसकेको र तल्लो कोप्चेमा पनि अधिकांश घरमा सुन्तले रङले घर रङ्गाउने काम सम्पन्न भइसकेको छ । केही घरहरूमा भने घरधनी धनकुटामा नबसी अन्यत्रै बसाइ सरेर गएकाले सुन्तले रङले रङ्गाउन बाँकी रहेको अध्यक्ष आठपहरियाले बताए । माथिल्लो कोप्चेमा १ सय ५० र तल्लो कोप्चेमा १ सय १८ घर रहेका छन् ।

जसमध्ये बन्द रहेका घरका घरधनीलाई पनि बोलाएर सुन्तले रङ लगाउन वडा कार्यालयले नै उर्दी जारी गरेको उनले बताए । उनले गत दसैंमा धेरैले त आएर आ–आफ्नो घरमा रङ लगाउने कार्य सम्पन्न गरेर अभियानलाई साथ दिएको बताए । उनले यो अभियानलाई सफल पार्नको लागि धनपा–५ वडा कार्यालयको तर्फबाट एशियन पेन्टसँग समन्वय गरेर ६० प्रतिशत छुटमा कम्पनीबाट रङ उपलब्ध गराइएको बताए  । एशियन पेन्टले ६० प्रतिशत छुटमा सुन्तले रङ दिएपछि अधिकांशले घरमा रङ्गाएको वडाध्यक्ष आठपहरियाको भनाइ छ । छुटमा रङ लगाउन नसक्ने केही घरपरिवारको लागि चाडपर्वको समयमा सुन्तले रङ लगाउन वडा कार्यालयले अनुदान सहयोग गरेको वडाध्यक्ष आठपहरियाले बताए । 

धनकुटा  नगरपालिकाले आ.व. ०७४/७५ मा माथिल्लो कोप्चे टोल विकास संस्थालाई सरसफाइमा नमुनायोग्य काम गरेको भन्दै एक लाख रुपैयाँ नगद र सम्मान पत्रले सम्मानित गरेको वातावरण शाखाका प्रमुख उपेन्द्र खनालले बताए । उनले टोल विकास संस्थाले पुरस्कार पाएपछि औपचारिक रूपमै कार्यक्रम गरेर (ओरेन्ज सिटी) सुन्तले सहरको अवधारणालाई समग्र नगरक्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि अभियान अघि सारेको बताए ।

अर्कोतर्फ सुन्तला रङले टोल रङ्गाउने अभियानले टोलको सामाजिक विकासमा सबै टोलवासीको एकताको सन्देश गएको धनकुटा नगरपालिका स्वास्थ्य तथा समाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले बताए । कुनै पनि सामाजिक काम गर्नु प¥यो भने पनि टोलका सबै सदस्य जुटेर साथ सहयोग गर्ने गरेको पाइएको श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार धनकुटा नगरपालिकाको १० वटा वडामा १ सय ७७ वटा टोल विकास संस्थाहरू रहेका छन् । अधिकांश टोल विकास संस्थाहरूले आफ्नो टोलको माग अनुसारको कार्यक्रम गर्ने गरेको बताए । जनप्रतिनिधिहरू आएपछि त झन् टोल विकास संस्थाहरूलाई वडापालिकासँग समन्वय गरेर कार्यक्रम गर्न सहज भएको अनुभव श्रेष्ठले सुनाए । 

धनकुटा नगरपालिका वडा नं. ५ मा आठपहरिया जातिको विशेष संरक्षण क्षेत्रको रूपमा रहेको सो टोलमा ८ सय १७ घरधुरी रहेको छ । यस वडामा सबैभन्दा बढी आठपहरिया समुदाय रहेका छन् भने दोस्रोमा नेवारी समुदाय रहेका छन् ।

यस वडामा कृषि पर्यटकीय क्षेत्रहरू बडहरे, फज्लुक, खन्युबास, देवानटार र बालमन्दिरको तल्लो क्षेत्रहरू रहेका छन् । यस वडामा २ हजार ८ सय ६८ कुल जनसङ्ख्या रहेको छ । ४.१४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको धनकुटा नगरपालिकाको वडा नं. ५ मा आठपहरिया जातिको बाहुल्यता र संरक्षण क्षेत्रको रूपमा रहेको यस वडामा मात्र १२ वटा टोल विकास संस्था रहेका छन् । यस वडामा मार्गाथान, तलेघर र ५२ चुले ठूलो घर रहेको छ । राणाकालदेखि लाग्ने गरेको धनकुटाको बिहीबारे हटिया पनि यही वडामा पर्दछ ।