प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उनले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताएको हो  । 

उक्त फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र  रोजगारीसँग पनि गाँसिएको छ प्रदेश प्रमुख खापुङले  भने।

विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि  अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु   रुचिको विषय हुनसक्ने पनि  हुने उनको भनाइ थियो  ।

“हामीले प्रयास गर्यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ”, प्रदेश प्रमुख खापुङले भने, “यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ । आगामी दिन यसकोे अनुशरण सबैले गर्नुपर्छ ।” शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टरसमेत सञ्चालनमा ल्याइएको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्यबहादुर राईले बताए । 

उक्त भवन आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष गरेर मध्यपहाडी लोकमार्गमा निर्माण गरिएको छ । व्यवहारिक शिक्षा लागू गरिएको शुभम् फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर घरबास सञ्चालनमा ल्याइएको हो ।

घरबास र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताए । शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माणका लागि प्रदेश सरकारको २० लाखका साथै  फाउण्डेनको  लगानी तथा श्रमदानगरी करिब ८० लाख खर्च भएको जनाइएको छ ।

फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ । कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन् ।