तिहार नजिकिएसँगै एक कोहार दम्पतीलाई माटाका भाँडा बनाउन र बिक्री गर्न भ्याई नभ्याई भएको छ । बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटोको भाँडा बनाउने काममा व्यस्त छन्, उनीहरू ।

विगत ५० वर्षदेखि पुर्ख्यौली पेसाको संरक्षण गर्दै आएका दुखी कोहार र उनकी श्रीमती इश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने गर्दछन् । उनीहरूको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरू उपलब्ध गराउदै आर्थिक उपार्जन गर्नु हो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको रूपन्देहिको ओमसतिया–४ बेतवलिया बस्ने उनीहरू बताउँछन् । उनीहरूले बनाएको माटोका भाँडाहरू भैरहवा, ठुटिपिपल, कोटिहवा, मणिग्राम, बुटवल लगायतका विभिन्न ठाउँमा खपत हुने गरेको छ । व्यापारीहरूले तिहार अघि नै आएर अर्डर दिएका र आफूले खुद्रा बिक्री गर्न पनि माटोका भाँडाहरू बनाउने काममा दिनरात खटिएका छन् ।

तिहार र छठ पर्वलाई लक्षित गरी माटोको दियो, चौमुखे दियो, कलश लगायतका विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा उनीहरू व्यस्त छन् । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले हप्ता अगाडी नै माटोको जोहो गर्ने गर्छन् । ‘गाउँनजिकै रहेको रोहिणी नदिमा उक्त माटो सहजै पाइने हुँदा माटोका लागि भतारिनु पर्दैन’ उनीहरू भन्छन् ।

दुखी कोहार आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म लगभग ६र७ वर्षको थिए होला । बुवाले गर्दै गरेको काम देखेर मैले पनि गर्न थाले । बुवाले यसो होइन यसरी हो भनेर सिकाए । आकार पनि दिन सिके । त्यही गिलो माटोका आकार दिँदै मेरो बालापन बित्यो, युवा अवस्था बित्यो र पचास वर्ष पार गरिसक्दा पनि त्यो जोस कम भएको छैन ।’

तर कहिले कसो उनी अलिक चिन्तित देखिन्छन् । त्यो चिन्ता हो माटाका भाँडा बनाएर आफू सहित १७ सदस्यीय परिवारको जीविकोपार्जनको । आफूले संरक्षण गर्दै आएको बुवा बाजेको पुस्तैनी पेसाको उनलाई पुस्ता हस्तान्तरणको चिन्ता छ । किनकि यो पेसालाई नयाँ पीढीले अँगाल्न खोजेका छैनन् ।  ‘बुवा, हजुरबाले गर्दै आएको कामलाई नै मैले पनि अगाडी बढाए । तर, छोराछोरीको यो काम प्रति नै चासो छैन । मेरो घरमा हामी दुई श्रीमान् श्रीमती पछि यो पेसा गर्ने नै कोही हुने छैन’, उनले भने ।

‘यो काम गर्न निकै समस्या भएको कारण पनि नयाँ पुस्ता यो काम प्रति चासो राख्दैनन्’, उनी आफै जवाफ दिँदै भन्छन् । ‘माटोसँग खेल्नुपर्छ । त्यो पनि काँचो माटो । एक त फोहोर भयो । त्यसमा झन् गाह्रो काम त्यसैले छोराछोरीहरू यस्तो काम पनि गर्ने भन्दै तर्किन्छन्’, उनले थपे ।

प्लास्टिकको भाँडा प्रयोगले निरुत्साहन थप्दै

आजभोलि प्लास्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडो बनाउने पेसामा निरुत्साहन थपेको छ । घैँटो, दियो, कलश लगायत माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूको पेसामा पछिल्लो समय प्लास्टिकका बाल्टिन, जग, डस्ट्विन लगायतका सामानमा मानिसहरूको आकर्षणले निरुत्साहन थपेको हो । त्यस्तै हिन्दुहरूको महान् चाड बडा दशैं, तिहार र छठमा पनि मैनबत्ती र विद्युतीय झिलिमिली बित्तिकै बढी प्रयोग भएको देखिन्छ ।

केही वर्ष अघि मात्रै यी चाडपर्व र विभिन्न पूजापाठमा माटोका सामग्रीहरूको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थे । फलस्वरूप उनीहरूलाई ती भाँडा बनाउन भ्याइन भ्याइ हुन्थ्यो । तर अहिलेको समाज आधुनिकतामा रमाएर प्लास्टिक र धातुका भाँडा तथा रेडियम बिजुली बत्तीहरू प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट हुन लागेको दुखी कोहार बताउँछन् ।

उनका अनुसार, करिब १० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा दुई देखि तीन लाख रुपैयाँ कमाई हुने गरेका थियो । तर अहिले अरू बेला खासै बिक्री नै हुँदैन । भइहाल्यो भने चाडपर्वको बेला ५० हजार मुस्किलले माटोका सामाग्री बेचेर आम्दानी हुन्छ । यो पेसाले मात्रै जीवन गुजारा गर्न सक्ने अवस्था छैन । ‘माटोको सामग्रीको व्यावसायिकीकरण नभएकाले आफूहरूको पेसा परम्परागत मान्यताले मात्रै थामेको छ’, उनले भने, ‘अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रङ्ग लगायतको सामाग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।’

आफूहरूको जातीय पेसा व्यावसायिकीकरण नहुँदा युवा पुस्ता अन्य पेसा, व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको कोहार बताउँछन् । यसर्थ माटोका भाँडा बनाउने पेसाको व्यावसायिकीकरण र उनीहरूको पुर्ख्यौली पेसा तथा मौलिकतालाई संरक्षण गर्न सरकारी निकायका साथै गैरसरकारी संघसंस्थाहरूको पनि ध्यान पुग्नुपर्ने जरुरी देखिन्छ ।   

जितेन्द्र चौधरी