धरान/पदयात्राका लागि धरान चर्चित छ । जहाँ सेवक अभियानले पदयात्राको अभियान नै चलाएको छ । २०७४ भदौ ३१ गतेबाट सुरु भएको अभियान अहिले पनि जारी छ । तत्कालीन धरान नगर प्रमुख तारा सुब्बाले उद्घाटन गर्दै सुरु भएको पदयात्रा अहिले प्रदेश १ का विभिन्न स्थानमा गरिँदै आएको छ । यस्तै पदयात्रा गर्दै पुग्न सकिने गरी सेछले धरान-२० कालापानीमा ‘सेछ एडभेन्चर पार्क’ सञ्चालनमा ल्याएको छ । 

कोरोना महामारीका कारण स्थगित भएको पार्क हालै सुरु भएको छ । धरानको मुटु भानुचोकबाट ६ किलोमिटर उत्तरपश्चिममा पर्ने ‘सेछ एडभेन्चर पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको लागि नयाँ गन्तब्य हो । अझ पदयात्रा गर्दै जानेहरूका लागि आकर्षक गन्तब्य बन्ने निश्चित छ । कालीखोला हुँदै पुगिने एउटा रुट छ । जुन रुट एडभेन्चर पार्कसम्म पुग्नका लागि सहज रुट हो ।

सेवक अभियानका अध्यक्ष समेत रहेका अभियन्ता राजीव हलुवाईका अनुसार काली खोलाको हुँदै पार्कसम्म पुग्न सकिने रुट छ । ‘पार्क पुग्न त्यो राम्रो रुट हुनसक्छ, सेछ सञ्चालकहरूले आग्रह गर्नुभयो भने हामी त्यो रुटलाई स्थापित गर्न सक्छौं,’ उनले भने । 

अहिले धेरैजसो सवारी साधनमार्फत नै पार्कसम्म पुग्ने गरेका छन् तर सबैभन्दा समस्या सडक रहेको पार्क सञ्चालक वासुदेव बराल बताउँछन् । उनी भन्छन्, ‘पार्क त सञ्चालन गरियो, तर सडक नै नहुँदा पर्यटकहरूलाई आउन सास्ती भइरहेको छ ।’ दशैंअघिदेखि पार्कमा स्काइ साइकल, जिप लाइन र ह्याङ्गिङ ब्रिज सञ्चालनमा छ ।

 विदेशतिर यस्ता बनिबनाउ खेलहरू प्रसस्तै हुने गरेको भए पनि नेपालमा प्राकृतिक सुन्दरतासँगै सुरु भएका यस्ता खेलहरूले आन्तरिक तथा बाह्य पर्यटक तान्ने सञ्चालकहरूको विश्वास छ ।

सञ्चालक बरालका अनुसार तीन सय मिटर लामो स्काइ साइकल, २ सय मिटर लामो जिप लाइन र तीन खाल्का ह्याङ्गिङ ब्रिज डेढ सय फिट लम्बाइ रहेको छ । ब्रिजमा टायर ब्रिज, रोप (डोरी) ब्रिज र बर्मा (उडन) ब्रिज सञ्चालनमा छन् । दोस्रो चरणमा ग्लास स्काइ वाक, स्विङ, चिल्डूेन पार्क, रेष्टुरेन्ट र आवासीय कोठाहरू निर्माण हुँदै छन् । दोस्रो चरणको भौतिक संरचना यसै वर्ष सम्पन्न गर्ने योजना रहेको उनले सुनाए । 

एकै स्थानमा धेरै साहसिक खेल भएको सम्भवतः नेपालमै पहिलो भएको उनको भनाइ छ । ‘सम्भवतः नेपालमै पहिलो होला, अरूतिर एक एकवटा छन्, जस्तै पोखरामा बञ्जी छुट्टै छ, जीपलाइन छुट्टै छ’ उनले भने, ‘हाम्रोमा चाहिँ सबै कुरा एकै ठाउँमा राखेका छौं । एडभेन्चर पार्क त हाम्रै पहिलो होला ।’ पदयात्राको मज्जा लिँदै पुग्न सकिने भएकाले पनि यो स्थान विशेष हुन सक्ने उनको भनाइ छ । पदयात्रा गर्दै जानु परेमा करिब ४५ देखि १ घण्टाको अवधिमा पार्क पुग्न सकिन्छ । ‘पदयात्रा गर्दै आउन पनि सहज छ, काली खोलादेखि मास्तिर हाइकिङ रुट नै छ,’ उनले भने । 

तीनजनाको साझेदारीमा निर्माणाधीन पार्क पूर्ण रूपमा सञ्चालनमा आउनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने सञ्चालकहरू बताउँछन् । वासुदेवका अलवा पर्यटन व्यवसायी एलिना मगर र सुनिल श्रेष्ठले लगानी गरेका छन् । हालसम्म सवा चार करोड रुपैयाँ खर्च भइसकेको उनीहरू बताउँछन् । अढाइ बिघा आफ्नो र डेढ बिघा लिजमा गरी चार बिघा क्षेत्रफलमा पार्क फैलिएको छ । तेस्रो चरणमा रिसोर्ट निर्माण गर्ने योजना रहेको सञ्चालक बरालले सुनाए । रिसोर्ट भारतीय पर्यटक लक्षित रहेको छ । 

अहिले पार्कमा इटहरी, विराटनगरबाट आन्तरिक पर्यटक आउने गरेका छन् । स्काइ साइकल, ह्याङ्गिङ ब्रिज र जीप लाइनको मज्जा लिनेहरू आउने गरेका छन् । आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्दै साहसिक खेलहरू राखिएको हो । स्काइ साइकल प्रदेश १ मै पहिलो हो । विदेशतिर यस्ता बनिबनाउ खेलहरू प्रसस्तै हुने गरेको भए पनि नेपालमा प्राकृतिक सुन्दरतासँगै सुरु भएका यस्ता खेलहरूले आन्तरिक तथा बाह्य पर्यटक तान्ने सञ्चालकहरूको विश्वास छ ।