सुनसरी । ‘विगतका वर्षमा विदेशी पर्यटकहरू आउँदा फुर्सद हुँदैनथ्यो । अष्ट्रेलिया, क्यानाडा, जापान, चाइना, अमेरिका, बेलायत तथा युरोपबाट पर्यटक आउने गर्थे । तर, आजभोलि आन्तरिक पर्यटकहरूले व्यवसाय चलेको छ ।’

कोसीटप्पु क्षेत्रका होम–स्टे सञ्चालक गोपालबहादुर कार्कीको अनुभव हो यो । विगतमा साइबेरिया, अष्ट्रिया, भारतलगायत मुलुकबाट कोसीटप्पु आउने चरा, विश्वमै दुर्लभ मानिएको अर्ना, हात्तीलगायत हेर्न र तिनीहरूका बारे अध्ययन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी आउने गर्थे भने आजभोलि बोटिङ र जङ्गल सफारीका लागि कोसीटप्पु आउने आन्तरिक पर्यटकहरूको मुख्य रोजाइ बनेको पर्यटन व्यवसायी बताउँछन् ।

२०५१ सालदेखि कोसीटप्पु क्षेत्रमा आफू व्यवसाय गर्दै आएको बताउने कार्की पर्यटन व्यवसायवाट सरकारले वार्षिक रूपमा करोडौं राजस्व असुली गर्न सकिने सम्भावना भए पनि पर्यटन प्रवद्र्धनका लागि काम नभएको गुनासो गर्छन् ।

‘कोसीटप्पु एक नम्बर प्रदेशको मुख्य पर्यटकीयस्थल मध्येको एक हो’ उनले भने, ‘तर, विडम्बना अहिलेसम्म केही सीमित व्यक्तिको पहल र प्रयासमा मात्रै यहाँ पर्यटन व्यवसाय चलेको अवस्था छ । पर्यटन प्रवद्र्धनका निम्ति सरकारले लोभलाग्दो प्रतिबद्धताबाहेक अरू केही गरेको छैन ।’

पर्यटक भनेपछि विदेशी पाहुना धेरैले बुझ्छन् तर, कोरोना महामारीपछि भने दिगो पर्यटनको मुख्य आधार भनेकै आन्तरिक पर्यटन हो भन्ने आभास भएको बताउँछन् कोसीटप्पु अक्वा बर्डस् होटल सञ्चालक सुरज गिरी । कोरोना महामारीका कारण वाह्य पर्यटक नआउँदा थलिएको यहाँको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटकले धानेका छन् ।

चाडपर्वको बेला भएकाले दैनिक एकसयदेखि दुईसयको हाराहारीमा पर्यटक कोसीटप्पु आउने गरेका छन् । ‘कोभिडका कारण विदेशी पर्यटकहरूको आगमनमा अझै पनि सुधार आएको छैन’ उनले भने, ‘विदेशी पर्यटक नआएपछि आन्तरिक पर्यटनले पर्यटन व्यवसाय धानेको छ । पर्यटनको मुख्य आधार नै आन्तरिक पर्यटन हो भन्ने पाठ कोभिडले सिकाएको छ ।’ बिदा र फुर्सदको समयमा देशभित्रकै पर्यटकीय स्थलहरू घुमेर प्राकृतिक सौन्दर्यमा रमाउने नेपालीहरूको चाहनाले आन्तरिक पर्यटन फस्टाएको पर्यटन व्यवसायी कुरबान मन्सुरीको बुझाइ छ ।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा चरादेखि दुर्लभ अर्नाबारे अध्ययन तथा घुमघाम गर्न विदेशी पर्यटक आउने गरेका छन् । उनीहरू प्रायःजसो जाडोको समयमा कोसीटप्पु आउने गर्छन् । तर, यसपटक अवस्था फरक छ । कोभिड १९ का कारण विदेशी पर्यटकहरू आउन पाएका छैनन् । जसले गर्दा विगतका यतिबेला वाह्य पर्यटकले भरिभराउ रहने कोसीटप्पु क्षेत्रका होटलहरू आजभोलि भने आन्तरिक पर्यटकको भरमा चलेका छन् । विश्वव्यापी फैलिएको कोभिड १९ ले थलिएको पर्यटन क्षेत्र आन्तरिक पर्यटकले भए पनि केही राहत दिएको पर्यटन व्यवसायी बताउँछन् ।

विदेशी पर्यटक आउने अवस्थामा नभए पनि आन्तरिक पर्यटकले चहल–पहल बढाएको कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड्स रिसोर्ट सञ्चालक गिरीले बताए । ‘कोभिड १९ ले विदेशी पर्यटक आउने माहोल छैन’ उनले भने, ‘आन्तरिक पर्यटकहरूले कोसीटप्पु क्षेत्रमा चहल–पहल बढ्न थालेको छ् ।’

विदेशी पर्यटक नआउँदा अपेक्षा गरिएअनुसार आम्दानी नभए पनि कोसीटप्पुजस्ता नयाँ गन्तव्यको पहिचान र प्रचार हुनु सुखद् पक्ष भएको गिरीको बुझाइ छ । कोभिड १९ को सन्त्रास तथा लकडाउनबाट उकुसमुकुस भएका नेपालीको घुम्ने चाहनाका कारण आन्तरिक पर्यटन विस्तारमा टेवा पुगेको मन्सुरीको कथन छ । ‘कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र विदेशी पर्यटक नआएसम्म आन्तरिककै भर पर्नुपर्ने अवस्था छ’–उनले भने । पछिल्लो समय आन्तरिक पर्यटक बढेको देखिए पनि आन्तरिक पर्यटककै भरमा पर्यटन क्षेत्र धान्नसक्ने अवस्थाचाहिँ छैन ।

‘आन्तरिक पर्यटक बढ्नु हाम्रो लागि सकारात्मक पक्ष हो’ मन्सुरी भन्छन्, ‘तर, कोरोना अगाडिको समयमा जस्तो पर्यटकहरूको चहल–पहल बढे पनि कारोबार छैन । पर्यटकहरू दिनभर आएर घुमघाम गर्ने र साँझपख फर्किने गरेका छन्, जसले गर्दा व्यापार छैन ।’