विजयपुर । धरान उपमहानगरपालिकाले विद्यालयहरूमा भौतिक कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि अधिकांश अभिभावकहरू भने सहमत छैनन् । उनीहरू आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने पक्षमा देखिएका छन् ।

दशैँ, तिहार चाड नजिक आइसकेका बेला र कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा १० दिनका लागि विद्यालय खोल्ने निर्णय नियतवश भएको उनीहरूको बुझाइ छ । कुनै वैज्ञानिक अध्ययन विना निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरूको स्वार्थमा निर्णय गरेको भन्दै आफ्ना बालबच्चालाई विद्यालय नपठाउने अभिभावकले बताएका छन् ।

अभिभावकले जनप्रतिनिधिहरूले चुनाव खर्च उठाउनका लागि विद्यालय सञ्चालकको स्वार्थमा निर्णय गरेको आरोप पनि लगाए । स्वास्थ्य मन्त्रालयले पनि जोखिम उस्तै रहेकाले तत्काल विद्यालय सञ्चालन गर्न हतार नगर्न भनेको छ । भाइरसविज्ञहरूले पनि कोरोना भाइरसको तेस्रो लहर दशैँअगाडि नै आउने बताइरहेका छन् । भाइरसविज्ञ डा.वासुदेव पाण्डेले दशैंअगाडि कोरोनाको तेस्रो लहर आउने बताएका छन् । उनले तेस्रो लहरले बालबालिकालाई निकै प्रभाव पार्ने उल्लेख गरेका छन् ।

धरानका अभिभावक टीका चाम्लिङ विद्यालयले अनलाइनबाट पढाएमा अध्ययन गराउने तर, बच्चालाई विद्यालय नपठाउने तयारीमा छन् । अभिभावक त्रिचन्द्र लिम्बूले पनि उपमहानगरले विद्यालय सञ्चालकको स्वार्थमा निर्णय उल्टाएको बताए । उनले दशैँसम्म अनलाइनबाट नै पढाउनु पर्ने बताउँदै बच्चालाई विद्यालय नपठाउने जानकारी दिए ।

अभिभावक सन्दीप श्रेष्ठ पनि आफ्ना बच्चा विद्यालय नपठाउने बताउँछन् । लामो समयसम्म अनलाइनबाट अध्ययन गराउँदै आएको र हाल १० दिनका लागि विद्यालय खोल्ने निर्णय अवैज्ञानिक भएको प्रतिक्रिया दिए । उनले भने, ‘१० दिन भौतिक रूपमा कक्षा सञ्चालन गर्दैमा केही हुँदैन, दशैँअगाडि विद्यालय पठाउँदिन ।’ अर्की अभिभावक सरस्वती मगरले १५ गतेदेखि परीक्षा हुन लागेको बताउँदै ४ दिन भौतिक रूपमा अध्ययन गर्दा केही नहुने भएकाले बालबालिका विद्यालय नपठाउने बताइन् । उनले दशैँतिहारपछि मात्रै विद्यालय पठाउने बताइन् ।

अभिभावक सुदीप उप्रेती बालबच्चाले स्वास्थ्यका मापदण्ड अपनाउन नसक्ने हुँदा बच्चालाई विद्यालय पठाउने अवस्था नरहेको बताउँछन् । अर्का अभिभावक मदन राईले पनि हालको समय जोखिमपूर्ण रहेकाले बच्चा नपठाउने बताए । ‘अनलाइन कक्षा सञ्चालन गरिरहेको बेला १० दिनका लागि विद्यालय खोल्नु शुल्क उठाउनका लागि मात्र हो’ उनले भने, ‘बच्चालाई विद्यालय पठाउनका लागि विद्यालयले रिस्क लिनुपर्छ, नलिए विद्यालय पठाउँदिन ।’

अभिभावक सूर्य भण्डारीले उपमहानगरको निर्णय उल्टाउनु लज्जास्पद भएको प्रतिक्रिया दिए । ‘राजनीतिक दलका नेताले निर्वाचन खर्च जुटाउनका लागि विद्यालयका पक्षमा निर्णय गरेका हुन्’ उनले भने, ‘१० दिन विद्यालय सञ्चालन गर्दैमा शैक्षिक गुणस्तर सुधार हुँदैन ।’ अभिभावक सङ्घ धरानकी उपाध्यक्ष अनिता राई खोपको व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्यविज्ञको सुझावअनुसार दशैँ, तिहारपछि मात्रै विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्नुपर्ने बताउँछिन् । उनले वैज्ञानिक रूपमा अनुसन्धान गरी जोखिमको विषय जानकारी नै नलिई बच्चालाई विद्यालय नपठाउने बताइन् ।

सङ्घका सचिव विनोद तिमिल्सिनाले निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरूको स्वार्थमा निर्णय भएको बताए । उनले उपमहानगरले विद्यालयको सबैभन्दा महŒव राख्ने सरोकारवाला पक्ष अभिभावकसँग समन्वय समेत नगरी निर्णय गरेकाले अभिभावकबाट शुल्क असुल्न मात्रै विद्यालय खोल्ने निर्णय गरेको बताए । उनले भने, ‘उपमहानगरले अनलाइन कक्षाको शुल्क ७० प्रतिशत निर्धारण गरेको थियो, अनलाइनमा ७ वटा विषय पढाउँछन्, भौतिक रूपमा ३ घण्टा मात्रै पढाएर शतप्रतिशत शुल्क असुल्नका लागि हो ।’ विद्यालयले १० दिन कक्षा सञ्चालन गरेर महिनाकै शुल्क लिने उनले बताए । उनले भने, ‘अभिभावकलाई लुट्नका लागि मात्रै हो ।’

सामुदायिक विद्यालय पनि असन्तुष्ट
धरान उपमहानगरको विद्यालय सञ्चालन गर्ने निर्णयप्रति सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पनि असन्तुष्टि जनाएका छन् ।

प्रधानाध्यापकहरूले उपमहानगरको निर्णय दूरगामी नभएको बताए । १० दिनमा दुई–चार वटा निर्णय गर्नु राम्रो नभएको उनीहरूको प्रतिक्रिया छ । शिक्षा निकेतन माविका प्रधानाध्यापक उमेश चौंलागाईं भन्छन्, ‘असोेज ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने भन्ने आयो, तयारी ग¥यांै, पुनः अर्को सूचना गर्दै दशैँ, तिहार पछिमात्रै विद्यालय सञ्चालन गर्नुपर्ने, सञ्चालन गरेमा कडा कारबाही गर्ने भनेपछि सोहीअनुसार विद्यार्थीलाई सूचना प्र्रवाह ग¥यौं’ उनले थपे, ‘विद्यालय सञ्चालन गरे पनि विद्यार्थी पहाडतिर गए, दशैँअघि आउँछन्जस्तो लाग्दैन ।’

शिक्षा सदन माविका प्रधानाध्यापक अमरबहादुर बस्नेत पनि उपमहानगरको संस्थागत निर्णय राम्रो नभएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिलेको निर्णयले टाढाका विद्यार्थी गए, तत्काल अर्को निर्णय गरियो, संस्थागत निर्णय यस्तो हुनुहुँदैन ।’ पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले विद्यालय सञ्चालन गर्ने निर्णय राम्रो भए पनि ढिलो भएको बताए ।

सहिद माविका प्रधानाध्यापक रामबहादुर विष्टले पनि सरोकारवाला पक्षसँग छलफल नै नगरी निर्णय भएको बताए । उनले उपमहानगरको निर्णय अस्थिर भएको प्रतिक्रिया दिए । सरोकारवाला पक्षसँग छलफलबाट निर्णय लिनुपर्ने उनले बताए ।