पाँचथर। पाँचथरको पूर्वोत्तर क्षेत्रका विभिन्न खोलाहरूमा पाइने रैथाने जातका तीतेमाछा लोप हुँदै गएका छन् ।

तीतेमाछा हराउँदै जानुको प्रमुख कारण लुकीछिपी खोलामा करेण्ट र विषादी प्रयोग गर्नु प्रमुख भएको स्थानीय बताउँछन् । बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप पनि तीतेमाछा लोप हुँदै जानुको अर्को कारण हो । पछिल्लो समय सडक र पुलजस्ता विकास निर्माणका काम गर्ने क्रममा तीतेमाछाले फुल पार्ने मूल पुरिँदा पनि तीतेमाछाको अस्तित्व सङ्कटमा पर्दै गएको याङ्वरक–२ फलैंचास्थित तिम्तिम्बुका समिर बेघाले बताए ।

जिल्लाको याङ्वरक गाउँपालिका भएर बग्ने इङ्वाखोला, मेवाखोला, खोङ्खोला, नुवाखोला र पाँचथर–ताप्लेजुङ सिमाना काबेली खोलामा बढी तीतेमाछा पाइन्छन् । पाँचथरकै फालेलुङ र ताप्लेजुङका केही खोलाहरूमा पनि तीतेमाछा पाइने गरेको बताइन्छ । यो माछा हातको बूढीऔंला जत्रो मात्र हुन्छ । खाँदा स्वादिष्ट, पोषिलो र केही तीतो हुन्छ । त्यसैले यो माछालाई तीतेमाछा भनिएको हो । तीतेमाछा औषधीय गुणलेसमेत युक्त भएको बताइन्छ ।

तीतेमाछाको जीवनचक्र रोमाञ्चक किसिमको छ । जेठदेखि भदौ महिनाको अन्तिमसम्म यो माछाले फुल पार्छ । फुल पार्न तीतेमाछा खोलाको उच्च स्थानमा उक्लिन्छन् । तीतेमाछा हुल बाँधेर फुल पार्न उक्लिएको दृश्य रमितलाग्दो हुन्छ । तीतेमाछाले जुन मूलमा पुगेर फुल पार्छ, त्यसबाट निस्केका भुरा अर्को वर्ष त्यही मूलमा फुल पार्न पुग्ने जनविश्वास छ । स्थानीयका अनुसार औंसी–पूर्णिमाको छेकमा तीतेमाछा हुल बाँधेर फुल पार्न उक्लिन्छन् ।

फुल पार्न उक्लिँदा होइन, फुल पारिसकेपछि फर्किंदा स्थानीयले तीतेमाछाको सिकार गर्छन् । तर, यो वर्ष तीतेमाछाले फुल पार्ने सिजन सकिन लाग्दा पनि तीतेमाछा नआएको स्थानीय चन्द्रवीर माङ्मुले बताए । उनका अनुसार ५–६ वर्षअघिसम्म सिजनमा पाँचसय किलोभन्दा बढी तीतेमाछा मारिन्थ्यो । ‘केहीवर्ष भयो, तीतेमाछा नै आउन छाडेका छन्’–उनले भने ।

खोलाको सौन्दर्यको रूपमा रहेका तीतेमाछा लोप हुँदै गएपछि सरोकारवाला चिन्तित बनेका छन् । तीतेमाछा संरक्षणका लागि स्थानीय सरकारले समुदायमा आधारित संरक्षण नीति ल्याउनुपर्ने संरक्षण अभियन्ता मङ्गल बेघा बताउँछन् । तीतेमाछाको सुकुटी नेपालका विभिन्न जिल्लासँगै विदेशसम्म पुग्ने गरेको थियो । प्रतिमाना (कुरुवा) पाँच सय रुपैयाँ पर्ने तीतेमाछाको सुकुटी स्थानीयले देश–विदेशका आफन्तलाई कोसेलीको रूपमा पठाइदिने प्रचलन पनि छ ।

३० सालदेखिको ठेक्का परम्परा तोडियो
विगतमा सिजनको बेला ठूलो परिमाणमा तीतेमाछा फुल पार्न आउँथे । तीतेमाछाको सिकार गर्न स्थानीयबीच प्रतिस्पर्धा नै चल्थ्यो । त्यसबाट झै–झगडासमेत हुने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न तत्कालीन फलैंचा गाउँ पञ्चायतले वि.सं.२०३० सालदेखि सार्वजनिक मूलहरूमा टेण्डर प्रक्रियामार्फत् तीतेमाछा मार्ने प्रचलन सुरु गर्यो ।

त्यसलाई तत्कालीन गाउँ विकास समिति (गाविस) हुँदै नेपाल आदिवासी जनजाति महासङ्घ गाउँ समन्वय परिषद् र स्थानीय सरकारसम्मले निरन्तरता दिए । केहीवर्षदेखि तीतेमाछा आउन छाडेपछि साढे चार दशकदेखि निरन्तर रूपमा चल्दै आएको टेण्डर प्रक्रिया दुई वर्षदेखि तोडिएको याङ्वरक गाउँपालिका, २ नं.वडा कार्यालयले जनाएको छ ।

स्थानीय तहसँग संरक्षणको योजनै छैन
तीतेमाछा संरक्षणका लागि समय–समयमा स्थानीय सरोकारवालाहरूले आवाज उठाउने गरेका छन् । तर, स्थानीय सरकारले भने अहिलेसम्म तीतेमाछा संरक्षणका लागि कुनै योजना नै बनाएको छैन । याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङले तीतेमाछा संरक्षणका लागि हालसम्म गाउँपालिकाबाट कुनै कार्यक्रम नबनेको बताइन् ।

याङ्वरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङ्हाङले तीतेमाछा संरक्षणको विषयमा छलफलहरू भने भएको बताए । तर, वडाले हालसम्म कुनै ठोस योजना भने बनाउन सकेको छैन । विगतमा तीतेमाछा मार्न टेण्डर आह्वान गर्ने स्थानीय तहले संरक्षणमा भने कुनै चासो नदिएको भन्दै सरोकारवालाहरूले भने स्थानीय सरकारको आलोचना गरेका छन् ।