धरान। धार्मिक पर्यटकीय स्थल वराहक्षेत्रको चतराधाममा २ सय करोडको लगानीमा ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीको विशाल संरचना निर्माण गरिने भएको छ ।

मन्दिर अण्डरग्राउण्डदेखि १२ तलसम्मको संरचना निर्माण हुने चतरास्थित रामानन्दाचार्य सेवापीठका महासचिव विनोद गुरागाञीले जानकारी दिए ।

‘२ सय बाइ २ सय वर्गफिटको क्षेत्रफलमा फैलिएको संरचनाको जगद्गुरु कृष्णदासजी महाराजको सत्सङ्कल्पबाट निर्माण सुरु हुनेछ’ महासचिव गुरागाञीले भने, ‘मानव सभ्यताको उत्पत्तिदेखि वर्तमानसम्मको धार्मिक शास्त्रीय आधारमा रहेर अध्ययन, पर्यटन केन्द्रका रूपमा संरचना निर्माणको महाराजश्रीबाट सङ्कल्प गरिए हो ।’

२ सय करोडको अनुमानित बजेटमा निर्माण हुन लागेको विशाल संरचनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको पीठले जनाएको छ । शिलान्यासपछि एक वर्षभित्रमा प्रारूप निर्माण हुने र पञ्चवर्षीय योजनामा आधारित रहेर संरचनाको काम अघि बढाइने छ ।

श्री रामानन्दाचार्य सेवापीठका पीठाधीश कृष्णदास (सिद्धबाबा) को सत्सङ्कल्पमा १ सय २८ फिट अग्लो ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीमा विशाल मन्दिर निर्माणको काम अघि बढेको छ ।

‘डिपिआरमा काम गरेको चार वर्ष भयो’ जगद्गुरु कृष्णदासजीले भने, ‘बाहिरी भागबाट जस्तो देखिन्छ भित्री भागमा प्रवेश गरेर माथि हेर्दा पनि उस्तै आकृत्ति देखिन्छ, व्रह्माण्ड जुन वास्तुमा बनेको छ, मन्दिर पनि उही वास्तुमा निर्माण हुनेछ ।’

मन्दिरमा घुम्न र त्यहाँका विषयवस्तु बारे सामान्य जानकारी लिन पनि कम्तिमा ५ घण्टा लाग्ने जगद्गुरुको भनाइ छ । उनका अनुसार मन्दिर दर्शन गरिसकेपछि सृष्टिको आरम्भ, सृष्टिको रहस्य, नेपालको उद्भव विकास र संस्कृति, स्वास्थ्य, प्रकृति, ईश्वर र आत्माबारे बोध हुनेछ ।

प्रत्येक तलामा ज्ञान
१२ तलाको निर्माण हुने संरचनामा नवौं तलामा सृष्टिको उत्पत्ति र तत्वहरूको दर्शन हुनेछ । ‘व्रह्माण्ड, शक्ति, र मूल विन्दुको दर्शन हुन्छ’ जगद्गुरु कृष्णदासले भने, ‘व्रह्माण्डको उत्पत्ति, पदार्थको दर्शन, अहङ्कार तत्व, महतत्वलगायत पञ्चतत्व र पच्चीस प्रकृतिको दर्शन हुनेछ ।’

उनका अनुसार पृथ्वी, नेपाल र नेपालको उद्भव विकास, शैव इतिहास, वेद, विज्ञान, नेपालको मूल संस्कृति, वराहक्षेत्र र यहाँ उत्पत्ति भएको पहिलो मान्छे ‘मनु’ बारे जानकारी हुनेछ ।

‘कोसी सभ्यताको आरम्भकर्ता भगवान् शिव हुन्, प्रथम मनुलाई प्रेरित गरेर श्वेत वराहकल्पको पहिलो मानव यहाँ जन्मिन्छ र नेपालको कोसी सभ्यता सुरु हुन्छ’ जगद्गुरु कृष्णदासले भने, ‘त्यसलाई शैव सभ्यता भनिन्छ, त्यही नै किरात सभ्यता हो । ‘किरात’ राई लिम्बूको मात्रै सभ्यता होइन, राई, लिम्बूमात्र किरात होइन । किरातको अर्थ बहुआयामिक छ, राजनीतिकर्ताले लगाएको अर्थ काम लाग्दैन ।’

उनका अनुसार माथिल्लो तलाबाट क्रमशः कौल ऋषि, अष्टावक्र ऋषि, राजर्षि जनकजीदेखिको इतिहास चौथो तलामा भेटिन्छ । पाँचौं तलामा आइपुग्दा मानदेवको इतिहास भेटिन्छ । सातौं तलामा आइपुग्दा नेपालको सिमाङ्कनदेखि राजा, राज्य र वर्तमान नेपालको अवस्था देखिन्छ ।

chatara1

मन्दिरको बनावट
ढुङ्गैढुङ्गाबाट मन्दिरको निर्माण गर्दा ५ सयदेखि ६ सय करोडसम्म लाग्ने अनुमान गरिएको जगद्गुरु कृष्णदासजी बताउँछन् । त्यसको आयु ५ हजार वर्षसम्म हुने र त्यो उनले आँट गर्न नसकिएको बताए ।

निर्माण गर्ने भनिएको मन्दिर बालुवा, गिट्टी, ग्रेनाइट, ब्ल्याक स्टोन, रेड स्टोन, स्टेनलेस स्टिल, हाइड्याममा प्रयोग गरिने केमिकललगायतबाट निर्माण हुनेछ । जसको आयु अढाईसय वर्षसम्म हुने अनुमान गरिएको छ ।

तलबाट नवौं तलासम्म लिफ्ट हुनेछ । त्यसपछि माथि ३ तलाको सिँढी हुनेछ । तलबाट माथि साँघुरो क्रममा जाने भएकाले ९ तलाभन्दा माथि लिफ्ट लाने ठाउँ हुँदैन । ‘देवसभा’ २ सय फिट बाइ २ सय फिटको विशाल हल हुनेछ । बीचमा कुनै पिल्लर हुँदैन ।

मन्दिरको निर्माण वैज्ञानिक स्ट्रक्चरको आधारमा बनाइने पीठका सचिव उद्धव घिमिरेले बताए । ‘महाराजजीसँग जापान चीनसँग काम गरेका इञ्जिनीयरको टिम छ, भारतका कयौं भव्य मन्दिर निर्माण गरेका वास्तुविज्ञको टोली छ, पूर्वी वास्तुविद्हरू संलग्न कलकत्ताको टिमले समेत महाराजश्रीसँग काम गरिरहेको छ’ सचिव घिमिरेले भने, ‘डिपिआरमा २० लाख खर्च भइसकेको छ, इन्टेरियर र बाहिरी डिजाइनको डिपिआरमा २ करोड भारुसम्म पुग्ने महाराजश्रीले अनुमान गर्नुभएको छ ।’

मन्दिर इतिहास, विज्ञानमा आधारित
चतराधाममा निर्माण हुने भव्य मन्दिर इतिहास, ज्ञान र विज्ञानमा आधारित हुने जगद्गुरु कृष्णदासजी बताउँछन् । ‘देवसभामा ३३ कोटी देवताको स्थापना गरिनेछ’ कृष्णदासजी भन्छन्, ‘दर्शन भनेको मूर्तिलाई रातो अक्षता र फूल चढाएर परमेश्वरी प्रसन्न भइदेऊ शत्रुको नली खुट्टा भाँची देऊ, मेरो छोराको भिसा लाइदेऊ भन्ने मात्र होइन, यहाँको दर्शन समग्र जीवनको दर्शन हो ।’

जगद्गुरुका अनुसार आदिम इतिहासदेखि आधुनिक इतिहाससम्मको ज्ञान व्यक्तिले प्राप्त गर्नेछ । ‘यत् पिण्डे तत् व्रह्माण्ड’, पिण्ड भनेको शरीर जे यो पिण्डभित्र छ, त्यो व्रह्माण्डमा छ, तपाईंको शरीरमा ३३ कोटी देउता छन्, शरीरको संरचना र रहस्य के रहेछ ? त्यो देव सभाभित्र बुझ्नु हुन्छ । दुनियाँ, ईश्वर, प्रकृति, आत्मा, जीवन, जीवात्मा र कर्म के रहेछ ? भन्ने त्यहाँ बुझिन्छ’ जगद्गुरु कृष्णदासजी भन्छन्, ‘ यहाँ तपाईंको इनर इञ्जिनियरिङ, आफ्नो प्रकाश आफै बन भन्ने मूल ज्ञान दिएर पठाइन्छ ।’

जानकारी अडियोमा आधारित समेत हुनेछ । नेपाली, हिन्दी, चाइनिज, अङ्ग्रेजी भाषामा ज्ञान लिन सकिनेछ । जगद्गुरुका अनुसार त्यहाँ पुजारी र गाइड हुनेछन् । माथिल्लो तलादेखि तल देवसभासम्म पुजारी र गाइडले जानकारी दिनेछन् । 

चतरावासीको सङ्कल्प हुनुपर्ने  
जगद्गुरु कृष्णदासजीले यो अद्भूत र उच्च महŒवाकाङ्क्षी परियोजनामासाथ दिन चतरावासीलाई आह्वान गरेका छन् । चतरावासीले साथ दिए पाँचभित्रमा परियोजना सम्पन्न हुने उनको भनाइ छ । 

रामानन्दाचार्य सेवा पीठ परिसरमा वास्तुकलामा आधारित विशाल मन्दिर निर्माण हुनेछ । यसअघि धनवन्तरी वाटिका, आयुर्वेदिक विश्वविद्यालयसहितका गुरुयोजनामा पीठले काम गर्ने उद्देश्य राखेको थियो । पीठले हरित अभियानको समेत शङ्खघोष गरेको थियो ।