धरान /नगरसँग बजेट छैन । प्रदेशसँग योजना छैन । भारत भन्छ ‘कोशी छैन’ । जनतालाई रातको निद्रा छैन ।

वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने सप्तकोशी नदीले तीव्र कटान गरेपछि श्रीलङ्का टप्पुको चिलैया, गरैया क्षेत्रका स्थानीय त्रसित भएका छन् । बाढीले टप्पुका बस्ती जोखिममा परेका हुन् । यो वर्षामा उदयपुरको बेलका नगरपालिका–८ को डुम्रीबोटेदेखि ५ किलोमिटर दक्षिण श्रीलङ्का टप्पुसम्म कोशी नदीले तीव्र कटान गरिरहेको छ । साविकमा बगिरहेको स्थानदेखि पश्चिमतर्फ ५ सय मिटरदेखि १ किलोमिटरसम्म ठाउँ–ठाउँमा कटान भइरहेको छ ।

कटानका कारण स्थानीय देवीलाल यादवको गोठ कोशी नदीमा विलय भएको युवा सन्तोषकुमार चन्द्रवंशीले बताए । कोशी सम्झौतामा यो क्षेत्रको तटबन्ध गर्ने दायित्व विहार सरकारको जलसंशाधन विभागको हो । कोशी नदीको पूर्वी तटबन्धमा वर्षैपिच्छे ‘फ्लड फाइटिङ’ का नाममा आपतकालीन नदी नियन्त्रण र नियमित तटबन्ध गर्दै आएको विहार सरकारले नदीको पश्चिमतर्फको तटबन्ध भने गरेको छैन ।

स्थानीय लीलाराम शर्माका अनुसार कोशीको पश्चिम तटबन्ध बेलका नगरपालिकाको साविक तपेश्वरी, लालभित्ती क्षेत्रको बेसारेघाट हो । त्यहाँबाट कोशी सरेर हाल चिलैया, गरैया क्षेत्रमा बगिरहेको छ । भारत सरकार भने बेसारेघाटमा तटबन्ध गर्नु नपर्ने भएकाले ढुक्क भएर बसेको छ ।

यता टप्पुको नाम निशाना नै नरहने हो कि भन्ने त्रासमा चिलैया, गरैयाका स्थानीय छन् । वराहक्षेत्र नगरपालिकाले नदी नियन्त्रणमा कुनै पनि चासो दिएको छैन । क्षेत्राधिकारभित्र नपर्ने भएकाले नगर प्रमुख निलम खनालले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको बताउँछन् । नगर प्रमुख खनालले विहार सरकारको आमन्त्रणमा कोशी प्रभावित नगरका प्रमुखहरूको भेलामा टप्पु कटानको विषय उठाउने बताए । बिहीबार नदीको वितण्डा अवलोकन गर्न टप्पु पुगेका नगर प्रमुख खनालले कोशी नियन्त्रणका लागि सम्बन्धित निकायमा दृढतापूर्वक कुरा उठाउने स्थानीयलाई आश्वासन दिए ।

वर्षाअघि नै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले बेलका नगरक्षेत्रमा  पर्ने कोशी कटानको अवलोकन गरेका थिए । प्रदेशकै कानून मन्त्री हिक्मत कार्कीले पनि अवलोकन गरेको स्थानीय बताउँछन् । ‘मन्त्री, प्रदेश सरकारका सचिव, कोशी बक्राहा नियन्त्रणका कर्मचारी सबैले कोशीको अनुगमन गरेका थिए तर, नदी नियन्त्रणमा ठोस कदम अगाडि बढेन’ बेलका–८ का युवा सुशान्त राईले भने, ‘बेलका र वराहक्षेत्रको ठूलो भू–भाग यो वर्षामा गुम्दैछ ।’

भारत सरकारले वर्षाअघि हिउँदमा टप्पुको चिलैया क्षेत्रमा त्रिखुट्टी लगाएको थियो । त्रिखुट्टीका कारण कटान केही नियन्त्रण भएको स्थानीय सन्तोषकुमार चन्द्रवंशीले बताए । ‘थोरै र सीमित क्षेत्रमा त्रिखुट्टी लगाएकोले कटान केही नियन्त्रण भएको छ’ सन्तोषले भने, ‘त्यहाँदेखि तलसम्म लगाएको भए यति धेरै कटान हुँदैनथ्यो, सरकारलाई त्रिखुट्टीकै भए पनि बाँध बाँधिदिन अनुरोध गर्छु, केही नियन्त्रण त हुन्छ ।’

कोशी नदीको भँगालो पश्चिमतर्फ पसेर कटान गर्न थालेको तीन वर्ष भएको स्थानीय प्रदीप थापा बताउँछन् । ‘कोशीले क्षति गरिरहेको छ, भँगालोले धार बदलेको तीन वर्ष भयो, तीन वर्षदेखि यहाँका जनता त्रासमा छन्’ थापाले भने, ‘तल्लो निकायदेखि केन्द्रसम्म डेलिगेसन गयौं, कोशी नियन्त्रण गर्ने काम भएन ।’ थापाका अनुसार कोशी नदीको धार यही गतिमा अघि बढ्ने हो भने उदयपुर, सिरहा र सप्तरी जिल्लाका बस्तीहरू कटानमा पर्नेछन् । ‘यस (कोशी नदी) ले जसरी आकार लिएको छ, यसलाई हेर्दा सप्तरीको कञ्चनरूप राजविराजसम्म कटान गर्नसक्ने देखिन्छ’–थापाले भने । 

आम भेलाको खबरदारी
टप्पुवासी ४ सय जना स्थानीयको भेलाले नदी नियन्त्रणमा खबरदारी गर्ने निर्णय गरेको छ । आम भेलाबाट निर्णय भएअनुसार वराहक्षेत्र र बेलका नगरपालिकालाई नदी नियन्त्रणमा पहल गर्न दबाव दिइनेछ ।

नगरले प्रदेश सरकार, सङ्घीय सरकार र भारत सरकारसम्मलाई नदी नियन्त्रणका लागि पहलकदमी लिन अनुरोध गर्ने भेलाले निर्णय गरेको छ । नगर र प्रदेश सरकारले नदी नियन्त्रणको पहल नगरे सबै टप्पुवासी नगर र प्रदेश घेराउ गर्न पुग्ने भेलाले चुनौती दिएको छ ।