वराहक्षेत्र नगरपालिकाका निजी तथा आवासीय विद्यालयहरुले प्लसटु एडमिसनका नाममा हुने अस्वस्थ प्रचारबाजी र कमिशनखोरी रोक्न संगठित कदम चालेका छन् । 

कक्षा १० पास गरिसकेपछि कथित ‘कलेज’ का नाममा अभिभावकबाट मोटो रकम असुल गर्ने शहरीया शैक्षिक संस्थाहरुलाई निरुत्साहित गर्ने गरी यहाँका विद्यालयहरु संगठित भएका हुन् । 

कक्षा ११ को ‘एड्मिसन’ लाई शैक्षिक संस्थाहरुले कमाउ धन्दाका रुपमा विकास गरिरहेका छन् । यसलाई रोक्न र आफ्ना विद्यार्थीहरुलाई आफ्नै ठाउँमा ‘प्लसटु’ अध्ययन– अध्यापन गराउने वातावरण निर्माण गर्न समेत वराहक्षेत्रका विद्यालयहरु संगठित भएका हुन् । 

barahakshetra boarding school1

वराहक्षेत्र नगरपालिकाका आठ विद्यालयहरुको  संगठन ‘एसएट’ (स्कुल एट) ले कक्षा ११ र १२ का लागि वराहक्षेत्रका विद्यार्थीलाई केन्द्रिकृत गरी गुणस्तरीय शिक्षा दिने योजनाअनुसार शनिबार ‘साइनिङ सेरेमोनी’ को घोषणा गरे । 

वराहक्षेत्रका ‘एसएट’ ले अब वराहक्षेत्रकै पहिलो कक्षा १२ सम्म अध्ययन– अध्यापन हुने जीवनज्योति इङ्लिस स्कुलमार्फत ‘प्लस टु म्यानेजमेन्ट’ मार्फत् स्थानीय गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने प्रधानाध्यापक दिवस विष्टले जानकारी दिए ।

‘आधुनिकता, प्रविधि र कथित आकर्षणको नाममा वराहक्षेत्रका विद्यार्थीलाई शहरको सपना देखाइएको छ, ’ प्रधानाध्यापक विष्टले भने, ‘व्यक्तिगत शिक्षकलाई प्रभावमा पारी छिमेकी शहरका विद्यालयले कमिशन दिंदै यहाँका विद्यार्थी सिफारिस गर्न लगाइरहेको ओपन सेक्रेटजस्तै छ ।’

वर्षेनी ‘प्लस टु’ शिक्षाका नाममा वराहक्षेत्रबाट धरान, इटहरी, विराटनगर, काठमाडौंलगायतमा शैक्षिक संस्थामा सयौं विद्यार्थी बाहिरिरहेका छन् । विद्यार्थी बाहिरिंदा अभिभावकमाथि आर्थिक भार थपिएको छ । आर्थिक भारका अलावा विद्यार्थीहरु अभिभावकको नियन्त्रणबाहिर हुने समेत ‘साइनिङ सेरेमोनी’ मा शिक्षाविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

barahakshetra boarding school2

सरकारले पनि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाका रुपमा विकास गरेको छ ।  कक्षा १० पास गरेपछि कक्षा ११ र १२ लाई ‘कलेज’ र ‘फेशन एजुकेशन’ का रुपमा परिभाषित गर्दा ग्रामीण विद्यार्थीमा मनोवैज्ञानिक दबाव र अभिभावकमा चिन्ता थपिएको चर्चा गरिएको छ । 

शहरका धेरै विद्यालयहरुमा ‘प्लसटु’ लाई छुट्टै एकेडेमीका नाममा अवैध तरिकाले सञ्चालन गरिरहेकामा शिक्षाविद्ले चासो र चिन्ता व्यक्त गरेका छन् । विद्यार्थीले अध्ययन गर्दा एउटा कथित ‘एकेडेमी’ वा ‘कलेज’ का रुपमा अध्ययन गर्ने र सर्टिफिकेट प्राप्त गर्दा अर्कै माध्यमिक विद्यालयको नाममा प्राप्त गर्ने बेथिति देखिएको वक्ताहरुले उल्लेख गरे ।

‘एसएट’ मा वराहक्षेत्रका प्रतिनिधि विद्यालय समावेश भएका छन् । कक्षा १२ सम्म अध्यापन हुने वडा नं. ८ को जीवनज्योति इङ्लिस स्कुल, र अन्य कक्षा १० सम्म अध्यापन हुने वराहक्षेत्र २ को वराह राइजिङ इङ्लिस स्कुल, वराहक्षेत्र ३ का दुई विद्यालय स्काई इङ्लिस स्कुल र भरौल बालमन्दिर, वराहक्षेत्र ५ कालाबञ्जारको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, वराहक्षेत्र ६ चक्रघट्टीको सुनसरी गार्डेन एकेडेमी, वराहक्षेत्र ९ राजाबासको राजाबास सेकेन्डरी स्कुल, वराहक्षेत्र १० प्रकाशपुरको सनसाइन इङ्लिस बोर्डिङ स्कुल समावेश छन् ।

barahakshetra boarding school3

जीवनज्योति इङ्लिस स्कुल वराहक्षेत्रको पहिलो कक्षा १२ सम्म अध्यापन हुने अंग्रेजी माध्यमको निजी तथा आवासीय विद्यालय हो । यो बाहेक मुनबिम एकेडेमीले पनि कक्षा १२ सम्मको कक्षा सञ्चालन गरिरहेको छ ।

‘एस एट’ ले ‘प्लस टु’ मा विश्वस्तरीय र गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गरेको छ भने उच्च शिक्षाका लागि कलेज स्थापना गर्ने उद्देश्यका साथ संगठित भएको जनाएको छ ।