विराटनगर / गत असार १५ गतेयता विराटनगर क्षेत्रमा अनियमित विद्युत कटौती हुँदै आएपछि सर्वसाधारण र व्यावसायी हैरान भएका छन् । 

अनियमित रुपमा विद्युत कटौती हुँदा पढ्न नपाइएको विराटनगर महानगरपालिका ११ का उद्धव सापकोटा बताउँछन् । साउन २० गतेबाट परीक्षा भएपनि अनियमित विद्युत कटौती हुँदा तयारी गर्न समस्या भएको उनले बताए ।

‘जतिबेलै बिजुली जान्छ, ५–६ दिनयता बेलुका पढ्न पाएको छैन,’ उनले भने, ‘अघोषित लोडसेडिङले राति सुत्न पनि पाइँदैन ।’

असार १५ यता कहिले दिनभरी र कहिले रातभरी विद्युत कटौती भएको उपभोक्ताहरु बताउँछन् ।

अनियमित रुपमा विद्युत कटौती हुँदा व्यावसायमा घाटा भोग्नु परेको नर्सिङहोम चोकमा दूधको व्यवसाय गर्दै आएका युवराज गौतमले बताए ।

असार १५ यता अनियमित विद्युत कटौती हुँदा २५ हजारभन्दा बढीको दूध खेर गएको उनको गुनासो छ । विद्युत कटौती भए आउने टुङ्गो नहुने उनले बताए ।

कोरोना महामारीका कारण प्रभावित व्यावसायलाई अघोषित लोडसेडिङले संकटमा धकेलिदिएको उनले बताए । ‘विद्युत आपूर्ति नियमित नहुँदा पसलको दूध र आइसक्रिम खेर गयो,’ उनले भने ।

‘विद्युत कटौती गरेपछि फोन गर्दा विभिन्न कारण देखाउँछन्,’ उनले अघि भने, ‘प्राधिकरणका कर्मचारीहरु जिम्मेवार छैनन् ।’

कर्मचारीले राज्यस्रोतको आम्दानी घटाउन खोजेको उनले बताए । ‘विद्युत आपूर्ति नियमित हुँदा राज्यको राजस्व बढ्छ, व्यापार व्यावसाय पनि चल्छ,’ उनले भने, ‘कर्मचारीले बदमासी गरिरहेका छन् ।’

मिलेमतोको आशंका

‘विराटनगरमा मात्रै होइन प्रदेश १ भरि यस्तै समस्या छ,’ उनले भने, ‘अनियमित कटौती हुँदा मिलेमतो छ कि जस्तो लाग्छ ।’

दूधको व्यवसाय गर्दै आएका गौतम पनि लोडसेडिङ हुनुमा मिलेमतोको आशंका गर्छन् । ब्याट्री र इन्भर्टरको ब्यापार बढाउन अघोषित लोडसेडिङ गरिएको उनको आशंका छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा अनियमित विद्युत कटौती हुँदा उद्योगी व्यावसायीले दुःख पाइरहेको बताए ।

तालिकाबिना कटौती हुँदा उद्योगको उत्पादन लागत बढ्ने र कच्चा पदार्थ बिग्रने जोखिम बढेको उनले बताए । मर्मतका नाममा अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

कार्यालय प्रमुख भन्छन् चट्याङ परिरहेको छ

विराटनगर महानगरपालिकासहित ४ वटा गाउँपालिकाहरुमा विराटनगर वितरण केन्द्रले विद्युत आपूर्ति गर्छ । विराटनगर वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवार वर्षासँगै चट्याङ पर्दा आपूर्ति रोकिने गरेको बताउँछन् ।

‘८–१० दिन टंकीशिनवारीको शवस्टेशन मर्मत गर्दा विद्युत कटौती भयो,’ उनले भने, ‘त्यसपछि चट्याङका कारण डिस्टर्भ भयो ।’

वितरण प्रणालीमा भएका उपकरणमा चट्याङ् पर्दा समस्या हुने गरेको उनको भनाइ छ ।

चट्याङ नपरे विद्युत कटौती नहुने बताउँदै उनले विद्युत आपूर्ति नियमित गर्ने प्रयास भइरहेको बताए ।