खोटाङ / साउन ६, खोटाङका स्थानीय सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रुपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा विक्री हुने चाल भएका स्थानीय त्यसको खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

सिन्कौलीको बजारभाउका बारेमा जानेबुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फर्मसँगको सहकार्यमा सिन्कौलीको बेर्ना लगेर खाली जग्गामा रोप्न थालेका छन् ।

उदयपुरको बेलटार, गाईघाट लगायतका बजारमा पुर्‍याउँदा पात प्रतिकिलो ६० र बोक्रा प्रतिकिलो डेढ सयका दरले विक्री हुने भएकाले स्थानीय सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

कम लगानीमै आयआर्जनको माध्यमका रुपमा उपयोग गर्न सकिने भएकाले किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सदावहार हरियाली रहने सिन्कौली खेती वातावरणीय हिसावले पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

‘जिल्लामा सिन्कौलीको राम्रो सम्भावना छ । सिन्कौलीको मार्केट पनि राम्रो छ । यसको खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ,’ अध्यक्ष राईले भने, ‘सिन्कौली खेतीबाट आयआर्जन पनि हुन्छ ।

पर्यवरणका हिसावले पनि उत्तिकै फाइदाजनक छ ।’ जिल्लामा सामुदायीक वन र व्यक्तिगत जग्गामा सिन्कौली खेती लगाएर आयआर्जन गर्न सकिने प्रचुर सम्भावना छ ।

खोटाङका अधिकांश स्थान सिन्कौली खेतीका लागि उपयुक्त भए पनि हालसम्म व्यवसायीक खेती हुन सकेको छैन । गाउँघरमा फाट्ट–फुट्ट मात्रामा लगाइएका सिन्कौलीको पात चिया, पुलाउ, मासुको परिकारलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाकारुपमा उपयोग गर्नेगरिएको छ ।

वासनादार मसलाका रुपमा प्रयोग गरिने सिन्कौलीको पालुवा गाइवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ । अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पुर्‍याएर विक्री गर्ने गरेका छन् । रोपेको ५–६ वर्षदेखि सिन्कोलीको पात टिप्न सकिने किसानको अनुभव छ ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने बताइन्छ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ती बढाउन, रोकिएको पिसाव खुलाउनदेखि मुटु सम्वन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । सिन्कौलीको बासनादार तेल ससेज, अचार, केक लगायतका परिकारमा समेत प्रयोग गरिन्छ ।

छिमेकी जिल्ला उदयपुर जोड्ने धाप्लाङ–धर्तुङ सडक बनेपछि बराहपोखरी गाउँपालिकाको मौवाबोटे, सुन्तले, फाक्टाङ, पोवासेरा लगायतका वडामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको छ । खेर गइरहेका सिन्कौली अहिले गाडीमार्फत बाहिरिने गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए ।