धरान । कोशी करिडोर २२० केभिए प्रसारण लाइन निर्माणकर्ताले धरान–२० टोड्केका स्थानीयको मागलाई सम्बोधन गर्ने क्रममा निर्माण गरिएको ग्याबिन पर्खाल अहिले आएर पहिरोको जोखिम बढाएको छ ।
ग्याबिन पर्खाल लगाइएको क्षेत्रको सडक चर्किनुका साथै धस्सिने क्रम जारी रहेको छ । पर्खाल लगाएको ठाउँमा प्रसारण लाइनको टावर निर्माण गरिएको ठाउँको माटो ल्याएर हालिएको थियो । जसका कारण पानी भित्रभित्रैबाट रसाउन थालेपछि पहिरोको जोखिम बढेको हो । पहिरो गएमा स्थानीयको जग्गामा क्षति पुग्ने देखिएको छ भने साहसिक पर्यटनका लागि निर्माणाधीन अवस्थामा रहेको सेक्षलाई पनि क्षति पुर्याउने देखिएको छ ।
‘मैले एक साताअघि नै खतरा भयो भनेर जानकारी गराइसकेको थिएँ, सुनुवाइ अझै भएको छैन, हिजैमात्र पनि फोन गरेको थिएँ’ सेक्षका सञ्चालक वासुदेव बरालले भने, ‘अस्ति पनि कटान गरेर माटो ल्याएर जाली लगाउनु प¥यो । मेलम्चीको जस्तो दुर्घटना हुने सम्भावना छ ।’ भारत अहमदावादको कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले करिडोर निर्माण गरिरहेको छ । सुनसरीको इनरुवादेखि सङ्खुवासभाको तुम्लिङ्टारसम्म टावरसहित विद्युत् लाइन जडान हुँदै छ । अहिले विशेष गरी चुरे तथा पहाडीक्षेत्रमा निर्माणाधीन टावर आसपासमा चर्किने र माटो धस्सिने खतरा बढिरहेको हो ।
धरान–२० चिण्डेडाँडाभन्दा ५ सय मिटरमाथि निर्माण गरिएको टावरभन्दा तलतिरको भागको सडक धस्सिने क्रम जारी रहेको छ । धस्सिने क्रम जारी रहे पनि हालसम्म मर्मतका लागि पहल नथालिएको भन्दै बरालले चिन्ता व्यक्त गरे । धस्सिने क्रम जारी रहेमा सेक्षले निर्माण गर्दै गरेको क्षेत्रमा झण्डै १ देखि डेढ करोड रुपैयाँ क्षति हुने उनले बताए । यता प्राधिकरणका शत्रुघन यादवले शनिबारबाटै काम सुरु गर्ने भनिए पनि पानी परिरहेकाले मजदुरहरूले काम गर्न नसकेको बताए ।
‘बिहानबाट काम सुरु भयो भनेर मलाई फोन आएको थियो’ उनले भने, ‘पछि पानी परेका कारणले काम गर्न सकिएन भनेर जानकारी आएको छ । भोलिबाट काम हुन्छ ।’ उनले पहिरो जाने अवस्था चाहिँ नभएको दाबी गरे । ‘रोकथाम गर्नुपर्ने देखिएको छ, दुई–तीन दिनको काम हो, पहिरो कुनै पनि हालतमा जाँदैन’–उनले फोन सम्पर्कमा भने ।
वडासदस्य कर्ण तामाङले तलको माटोले लोड थाम्न नसकेका कारणले पहिरोको जोखिम बढेको बताए । उनले टावर बनाउँदै गर्दा स्थानीयले टावर मुन्तिरको सडकमा ग्याबिन पर्खाल लगाई माटो हालिदिनू भनेका कारणले अहिले आएर समस्या भएको बताए । ‘९ मिटर ग्याबिन पर्खाल लगाउँदा पुरेको माटोमा पानी सोसेर माटो दबियो’ उनले भने, ‘पूर्व साइडको ग्याबिन चाहिँ फुटेर एक डेढ मिटर तल धस्सिसकेको छ ।’
उनका अनुसार तत्काल ढुङ्गाको लोड निकाल्नका लागि आयोजनालाई भनिएको भए पनि आयोजनाले तत्काल काम अगाडि बढाएको छैन । ‘काम चाँडो गर्नुपर्छ भनेकै हौं’ उनले भने, ‘आयोजनाको मान्छेले तुरुन्तै व्यवस्थापन गरिदिए लोड कम भएर क्षति कम हुन्थ्यो कि भन्ने हो ।’